श्रीलंका टापुका अधिकांश स्थान डुबानमा, छिटो उद्धार गर्न स्थानीयको अनुरोध

घर अगाडि समुद्र जस्तै कोशी बगिरहेको छ, पछाडि पनि त्यस्तै छ । अब हामी कहाँ जानू बालबच्चा छन्, वृद्धवृद्धा छन् ।

नेपालभ्युज

श्रीलंका टापुका अधिकांश स्थान डुबानमा, छिटो उद्धार गर्न स्थानीयको अनुरोध

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६ श्रीलंका टापुका बासिन्दाले लामो समयदेखि उद्धार पर्खिरहेका छन् ।

अविरल वर्षाका कारण सप्तकोसीको बाँध फुटेर बस्तीमा पसेसँगै श्रीलंका टापुका अधिकांश स्थान डुबानमा परेका हुन् ।

श्रीलंका टापुस्थित जलाल, सिसौली, चिलैया, गरैया, एबीसी टापु, शान्ती चोक, क्रान्ती चोक र रामनगर, माझी गाउँ, एकता चोक गरि दर्जन भन्दा धेरै गाउँमा करिब १० हजार जनसंख्या छ ।

चारै तिर सप्तकोसीले घेरिएको उक्त ठाँउ अत्यन्तै संवेदनशील भएकाले यथाशीघ्र संघीय सरकार र स्थानीय निकायले कदम चाल्नु आवश्यक रहेको स्थानीय दीपक राई बताउँछन् ।

उनी भन्छन्, “तल गाउँ सबै बगाउन लागिसक्यो हाम्रो अलि डाँडामा भएको घर पनि पानीले भेट्न लाग्यो के गर्ने थाहा छैन् ।”

घरमा बाढी पसेकाले खाना पकाउने ठाउँसमेत नरहेको स्थानीय प्रेमकुमार पौडेल बताउँछन् । वस्तुभाउ बाढीले बगाइसकेको भन्दै आफूहरुको छिटो उद्धार गर्न उनी अनुरोध गर्छन् । श्रीलंका टापुस्थित जलालका अधिकांश बासिन्दाले यतिबेला उद्धारका लागि सरकार पर्खिरहेका छन् ।

“घर अगाडि समुद्र जस्तै कोशी बगिरहेको छ, पछाडि पनि त्यस्तै छ । अब हामी कहाँ जानू बालबच्चा छन्, वृद्धवृद्धा छन् ।” बाढी पीडित कमला राई भन्छिन् । उनी सबै स्थान जलमग्न भएकाले कोही उद्धारकर्ता आउन नसकेकोमा चिन्ता व्यक्त गर्छिन् ।

उक्त क्षेत्रमा उद्धारका लागि खटिएको टोली पनि पुग्न नसकेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

उनले भने, ‘हामी आज त्यहाँ पुग्न सकेनौं, आधाबाटोमा आएर रोकिएका छौं आज यतै बास बस्छौं । भोलि बिहानै जेटबोट लिएर त्यहाँ जान प्रयास गर्नेछौं ।” उनले त्यहाँका स्थानीयलाई आज रातभर सर्तक रहेर समूहमा बस्न आग्रह गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved