काठमाडौं। निरन्तरको वर्षासँगै आएको बाढीले मकवानपुरको सिस्नेरी प्रहरी चौकी बगाएको छ ।
वर्षासँगै आएको आएको बाढीपहिरोले सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालय भवनसहित ३० वटा घरटहरा बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए ।
सुनकोसीको बहाव पसेपछि सिन्धुलीको दुम्जास्थित प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खुर्कोट डुबानमा परेको उनले बताए । इलाका प्रहरी कार्यालय खुर्कोट सामान सुरक्षीत स्थानमा सारिएको उनले बताए ।
घरटहरा बगाए पनि मानवीय क्षति नभएको बताइएको छ । यस्तै, मकवानपुरको बकैया गाउँपालिका–१० घट्टेखोला नजिकै रहेका १० वटा घरहरू उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान बाँधका दुईवटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको बताइएको छ ।
Facebook Comment
Comment