बलात्कार मुद्दामा छुटेपछि आरोपितको धम्की- तेरो अदालत १० लाखमा किन्दिएँ !

आरोपितले अर्को म्यासेजमा लेखेका छन्, “मलाई बयान कसरी दिनुपर्छ थाहा छ, बुझिस् । तँलाई मारेँ भने पनि म निस्कन सक्छु ।”

बलात्कार मुद्दामा छुटेपछि आरोपितको धम्की- तेरो अदालत १० लाखमा किन्दिएँ !

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा जेल गएपछि उच्च अदालत पाटनको आदेशमा छुटेका एक आरोपितले पीडितलाई आफूले न्यायाधीशलाई १० लाख रुपैयाँमा किनेको बताएका छन् ।

काठमाण्डौका बस्नेत थरका एक युवाले जेलबाट छुटेपछि पीडित नाम परिवर्तित (नयाँ बानेश्वर २६ (५८) (२०८-०८१ ) लाई मोबाइलमा म्यासेजमार्फत धम्की दिने क्रममा न्यायाधीश किनेर निस्किएको बताएको देखिएको छ ।

आरोपित बस्नेतले मेसेज र फोनमार्फत लगातार धम्की दिएको पीडित युवतीले बताएकी छन् । पीडित युवतीले धम्कीको स्क्रिनसर्ट फेसबूकमार्फत् सार्वजनिक गरेपछि आरोपितले त्यो सीम बन्द गरेका छन् ।

धरौटीमा छुटेलगतै धम्की

२०८० चैत २५ गते पीडित नयाँ बानेश्वर २६ ले प्रहरी वृत्त बानेश्वरमा दिएको जाहेरीपछि बस्नेत तत्कालै पक्राउ परेका थिए ।

२५ दिनसम्म जिल्ला अदालत काठमाडौंको हिरासतमा रहेका उनलाई सरकारी वकिल कार्यालय, काठमाडौंले १९ दिनमा मुद्दा दायर गरेपछि पुर्पक्षका लागि जेल चलान भए ।

प्राप्त प्रमाण र आधारका कारण जिल्ला न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि बस्नेतका वकील उच्च अदालत पाटन गएका थिए । पुर्पक्षमा राख्न आदेश आएपछि बस्नेतलाई भद्र बन्दीगृह सुन्धारामा लगिएको थियो ।

पछि अर्को ठाउँमा सरुवा गरिएको थियो । त्यही क्रममा उच्च अदालत पाटनले बस्नेतलाई असार १३ गते ५ लाख रुपैयाँमा धरौटीमा रिहा गरेको हो ।

लगभग उनी डेढ महिना हिरासत र जेल बसेका थिए ।

रिहा भएको एक सातापछि २१ असार (५ जुलाई)मा दिउँसो ३ बजेर २२ मिनेटमा आरोपितले आफ्नो मोबाइल ९८१३७४७८** बाट पीडित युवतीलाई म्यासेज गरेर धम्की दिएका पीडित युवतीले बताइन् ।

एउटा म्यासेजमा भनिएको छ, “तेरो हाइकोर्ट १० लाखमा किन्दिएँ मैले ।”

यस्तै अर्को म्यासेजमा पीडितलाई गालीगलौज गर्दै मार्ने धम्की दिइएको छन् । लेखिएको छ, “मेरो बुढी र म भएर मार्छौँ । मैले तेरो कोर्ट (अदालत) भित्र पारेर सबै बुझिसकेँ बुझिस् ।”

यस्तै अर्को म्यासेजमा लेखिएको छन्, “मलाई बयान कसरी दिनुपर्छ थाहा छ, बुझिस् । तँलाई मारेँ भने पनि म निस्कन सक्छु ।”

अहिले धम्की आएको मोबाइलमा फोन लाग्दैन । उनले धम्की दिएको बेलामा भने फोनमा मुद्दा फिर्ता लिन दबाब दिएको पीडित बताउँछिन् ।

पीडित भन्छिन्, “मुद्दा फिर्ता लेउ । नत्र जे पनि गर्छु भनेर धम्की आइरहेको छ । उहाँको बुवाआमाले समेत मलाई फोन गरेर आग्रह गरिरहनुभएको छ ।”

उल्टो पीडित नै हिरासतमा !

आरोपित युवाले  गाडी फुटाएको भन्दै आफूलाई हिरासतमा राखेका पीडितको गुनासो छ।

आरोपित बस्नेतले अर्की युवती प्रयोग गरेर आफूविरुद्ध असार १३ गते ‘आपराधिक उपद्रव’ मुद्दामा महाराजगञ्ज वृत्तमा जाहेरी दिएका पीडितले बताइन् ।

विशालनगरस्थित एक घरमा आएर पीडित युवतीले प्र ३- ०१- ०२४ ७७०९ को किया कम्पनीको सेल्टर कारको सिसा फुटाएको भन्दै आरोप लगाइएको थियो ।

सो मुद्दामा पीडित युवतीलाई प्रहरीले पक्राउ गरेर १९ दिन हिरासतमा राखेको थियो ।

आफूलाई हिरासतमा राख्नुको कारण गाडीको सीसा फुटाएको नभई मुद्दा फिर्ता दिन दबाब दिनु रहेको पीडित युवतीको आरोप छ ।

पीडित युवती भन्छिन्, “मलाई मुद्दा फिर्ता गराउन फर्जी उजुरी दिएर हिरासतमा राखे । मुद्दा फिर्ता नलिए अरू मुद्दामा फसाउने धम्की दिएका छन् । प्रहरीलेसमेत मुद्दा फिर्ता लिन दबाब दिए । उसको परिवारले समेत बारम्बार भनिरहेका छन् ।”

उच्च अदालतले बस्नेतले  प्रमाण नष्ट गर्न नसक्ने र पीडितलाई समेत असुरक्षा नहुने कारण खुलाएर धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, धरौटीमा छुटे लगतै उसले आफूलाई धम्की दिइरहेको र मुद्दा फिर्ता लिन दबाब दिइरहेको पीडितको गुनासो छ ।

पीडितलाई फेरि बलात्कार गर्ने धम्की समेत दिएको म्यासेजमा देखिन्छ । त्यहाँ ‘साँच्चैको बलात्कार कस्तो हुन्छ म देखाउँछु’ भनेर उल्लेख गरिएको छ ।

उच्च अदालत स्रोतले भने कसैको आर्थिक प्रलोभन वा प्रभावमा न्याय निरूपण नहुने बताएको छ ।

अदालत स्रोतले भन्यो, ‘आधार प्रमाण अनुसार अरोपित रिहा भएका हुन सक्छन् । तर पैसा दिएको भन्ने आरोपितको गलत प्रचार हुनसक्छ । तैपनि यस विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । विचाराधीन मुद्दामा त्यो पनि अदालतको मानहानि हुने गरी उजुरीकर्तालाई धम्काउनु गलत हो ।’

आरोपितको जिकिर – १० लाख नदिँदा फसाइयो *

आरोपित बस्नेत भने आफूलाई फसाइएको जिकिर गर्छन् । जाहेरीकर्ता युवतीले आफूसँग १० लाख मागेको र त्यो नदिएपछि बलात्कार मुद्दामा फसाइएको उनको जिकिर छ ।

उनले नेपालभ्युजसँग भने, ‘‘मसँग उनले १० लाख रुपैयाँ मागेकी थिइन् । नदिएपछि फसाउने धम्की दिएकी थिइन् । म त्योबारे जाहेरी लिएर प्रहरी चौकी गएको थिएँ । तर, त्यो दिन शनिबार भएकाले दर्ता भएन । भोलिपल्ट जाहेरी दिन जान लाग्दा म बलात्कार मुद्दामा पक्राउ परेँ ।’’

साथै आरोपित बस्नेतले आफूले जाहेरीवालालाई म्यासेजबाट धम्की नदिएको दाबी गर्छन् । ‘‘त्यो मैले म्यासेज गरेको होइन । पीडितले आरोप लगाएर फेसबुकमा पोस्ट गरेपछि मैले साइबर ब्यूरोमा उजुरी दिएको छु । त्यो हेर्न सक्नुहुन्छ ’’ उनको दाबी छ ।

‘जाहेरीवालालाई धम्की आएको भनिएको मोबाइल नम्बरमाथि छानबिन गरेर आफूमाथि लागेको आरोप खण्डन गराउन’ पनि आरोपितले माग गरेका छन् ।

समाचारमा यसअघि प्रकाशित फोटो परिवर्तन गरिएको *


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved