विनोद चौधरी : सङ्कटलाई अवसरमा रूपान्तरण गर्न सक्षम नेता

अहिले नेपालको अवस्था पनि लगानीअनुकूल छैन । देश चौतर्फी सङ्कटमा छ । विश्वव्यापी आर्थिक मन्दी र युद्धका कारण नेपालजस्तो निर्वाहमुखी अर्थतन्त्र भएको मुलुक सङ्कटको दलदलमा झन्‌झन् फस्दैछ । तर, यो सङ्कटलाई अवसरमा परिणत गर्ने ‘भिजन’ खै ?

विनोद चौधरी : सङ्कटलाई अवसरमा रूपान्तरण गर्न सक्षम नेता

केही वर्षअघि चौधरी ग्रूपका अध्यक्ष एवम् सांसद विनोद चौधरी श्रीलंका भ्रमणमा थिए । कोलम्बोमा आयोजित सिलोन चेम्बर अफ कमर्शको १७८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै चौधरीले भनेका थिए- व्यवसायीले हरेक सङ्कटलाई अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ ।

चौधरीले त्यो सम्बोधनका क्रममा के पनि स्मरण गरेका थिए भने ‘लिबरेशन टाइगर अफ तमिल इलम’ले कोलम्बो एयरपोर्टमा विमानहरू ध्वस्त पारिरहेकै समयमा उनी श्रीलंकामा व्यापार विस्तार हेतुले प्रवेश गरेका थिए । उनको भनाइ थियो, “श्रीलंकाको राजनीतिक सङ्कटलाई कारण देखाएर यहाँ लगानी नगरेको भए सायद मैले धेरै कुरा गुमाउने थिएँ ।”

सङ्कटलाई नै अवसरमा परिणत गर्ने चौधरीको सूत्र सफल भयो । सीजीकर्प ग्लोबलले श्रीलंकामा चर्चित ताज होटललगायत अन्य धेरै क्षेत्रमा लगानी गरिसकेको छ र उन्नति हासिल गरेको छ । यति मात्र हैन, चौधरीले नेपालमा माओवादी विद्रोहताका नवलपरासीमा सीजी औद्योगिक पार्क, उत्तरपूर्वी भारतमा उल्फाको द्वन्द्वका बेला वाईवाईको बजार विस्तार गरेर देखाए ।

चौधरीको विचारमा कुनै पनि व्यवसायीले अनुकूल वातावरण तयार होला र लगानी विस्तार गरौँला भनेर सोच्ने नै हैन । स्पष्ट भिजनका साथ प्रतिकूल अवस्थामा पनि जोखिम मोलेर लगानी गरेकै कारण चौधरी ग्रूप अहिले बहुराष्ट्रिय कम्पनीमा परिणत भएको उनले स्मरण गराएका थिए ।

चौधरीले भनेजस्तै अहिले नेपालको अवस्था पनि लगानी अनुकुल छैन । देश चौतर्फी सङ्कटमा छ । विश्वव्यापी आर्थिक मन्दी र युद्धका कारण नेपालजस्तो निर्वाहमुखी अर्थतन्त्र भएको मुलुक सङ्कटको दलदलमा झन्‌झन् फस्दैछ । तर, यो सङ्कटलाई अवसरमा परिणत गर्ने ‘भिजन’ खै ? यक्ष प्रश्न यही हो ।

विनोद चौधरी यस्ता उद्यमी, लेखक र विचारक हुन्, जोसँग देशकै सङ्कटलाई अवसरमा बदल्ने ‘भिजन’ छ । यसकै लागि उनी राजनीतिमा होमिएका हुन् । यथोचित जिम्मेवारीको अभावमा उनले राजनीतिमा भने आफ्नो ‘भिजन’लाई साकार पार्न सकिरहेका छैनन् । आफ्नै पार्टी नेपाली कांग्रेसको सरकार भएर पनि आर्थिक सुधारको प्रभावकारी पहल हुन नसकेकोप्रति चौधरीमा जुन खिन्नता छ, त्यो केही हदसम्म प्रकट पनि हुन थालिसकेको छ ।

राजनीतिको कुरा अहिले यहीँ थाती राखौँ । विनोद चौधरी उद्यम-व्यवसायको जुन मुकाममा पुगेका छन्, त्यसमा सङ्कटलाई अवसरमा बदल्ने साहस र लगनकै ठूलो भूमिका छ । चौधरी ग्रूपको इतिहासदेखि वर्तमानसम्मको पौरख सर्सर्ती नियाल्दा पनि यो तथ्य उजागर हुन्छ ।

वि.सं. २०१२ को नयाँ वर्षकै दिन अर्थात् वैशाख १ मा काठमाडौंमा जन्मिएका चौधरी सानैदेखि प्रतिभाशाली थिए । तरुणवयमा उनको रुचि गायनमा थियो । शम्भुजित बाँस्कोटाको सङ्गीतमा विनोदले गाएको ‘माया जिन्दगीको अभिन्न अङ्ग हो’ बोलको गीत रेडियो नेपालमा घन्किन्थ्यो र श्रोताले निकै मन पराएका थिए ।

कला, सङ्गीत र चलचित्रप्रति अनुराग भएकै कारण उनले चालिसको दशकतिर चलचित्र निर्माणमा पनि हात हाले । उनी निर्माता रहेको चलचित्र ‘वासुदेव’ नेपाली चलचित्र इतिहासकै ‘माइलस्टोन’ बन्न पुगेको छ । हरिहर शर्मा, नीर शाहलगायतले अभिनय गरेको यो चलचित्रकै धारमा त्यसपछि खासै कुनै चलचित्र बन्न सकेनन्, बस कमर्सियल होड मात्र चल्यो ।

रहर एकातिर थियो, पुस्तौनी विरासत अर्कोतिर । गीत गाएर वा चलचित्र निर्माता मात्र भएर विनोद चौधरीको जिम्मेवारी पुरा हुनेवाला थिएन । उनको ‘डेस्टीनी’ अर्कै थियो, जहाँ उनका पाइला अग्रसर हुँदै थिए ।

इतिहासको आलोक

काठमाडौंमा कुनैबेला ‘अरुण इम्पोरियम’ कपडा प्रेमीको एक मात्र केन्द्र थियो, जहाँ कपडा किन्नेहरूको ताँती लाग्थ्यो । सन् १९६८ मा स्थापित अरुण इम्पोरियम विनोद चौधरीको पहिलो व्यावसायिक साक्षात्कार थियो ।

विनोदका बुबा लूनकरणदासले विराटनगरमा ‘विराटनगर जुट उद्योग’को स्थापना गरे, यही बिन्दुबाट चौधरी ग्रूप उद्योगतिर लागेको हो । उत्पादित जुट भारत, अमेरीका र युरोपसम्म निर्यात हुन थालेपछि चौधरी ग्रूपले तरक्की गर्दै गयो । यसैगरी जापान र कोरियाबाट फेब्रिक आयातको कारोबारमा पनि यो घराना सहभागी भयो ।

कपडा व्यवसायमा मात्र सीमित नरही लुनकरणदासले निर्माण व्यवसायमा पनि हात हाले । यो विसं २०१४ को प्रसङ्ग हो । काठमाडौं-त्रिशूली सडक निर्माणका लागि उनले ‘सब-कन्ट्रयाक्ट’ को सम्झौता गरे । आफूले कहिल्यै गर्दै नगरेको काम भए पनि सडक निर्माण ठेक्का फत्ते गरेरै छाडे र यसले उनलाई भवन निर्माणतर्फ प्रेरित गर्‍यो । पाँचतारे होटल सोल्टीको निर्माण हुने भएपछि त्यसको ठेक्का पनि लुनकरणले नै पाए । निर्माण व्यवसायले पनि रफ्तार लिँदै गयो । उनले अर्का एक साझेदारसँग मिलेर यूनाईटेड बिल्डर्स नामक निर्माण कम्पनी नै स्थापना गरे ।

सन् २०२० सम्म आइपुग्दा चौधरी ग्रूपले नेपालकै पहिलो फ्लोरिङ एन्ड फर्निसिङ आउटलेट स्थापना गरे । नेपाली हुनेखाने वर्गमा साज-सज्जा चेतना घनिभूत हुँदै गएको त्यो युगमा सजावट सामग्रीको माग बढ्दै थियो । यसैले उनको यो नयाँ व्यवसाय पनि चम्किँदै गयो ।

त्यसैबेला स्थापना भएका टाइगर टप्स होटल, अमेरिकी सहयोग नियोग (यूएसएड)लगायत तारे होटल, कूटनीतिक नियोग, सम्भ्रान्तका दरबारहरूमा चाहिने इन्टेरियर डेकोर (आन्तरिक सजावटका सामान) उनले नै आपूर्ति गर्थे । एउटा आउटलेटबाट कारोबार धान्न धौ-धौ भएपछि फसिकेब, खिचापोखेरी र वीरगञ्जमा समेत शाखा खोलिए ।

यसपछि लुनकरणले वीरगञ्जमा मोर्डन होजियारी उद्योग, नेपाल स्पिनिङ वेभिङ एन्ड निटिङ उद्योग स्थापना गरे । यसैगरी वीरगञ्जमै रत्न स्टेनलेस स्टिल उद्योग, विराटनगरमा पशुपति बिस्कुट, महालक्ष्मी मैदा मिल खोले । यसैगरी २०२५ मा उनले नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर ‘अरुण इम्पोरियम’ पनि स्थापना गरे ।

गुणात्मक फड्को

करिब डेढ सय वर्षअघिदेखि हजुरबुबा र बुवाले खडा गरेको व्यावसायिक धरातललाई फराकिलो पार्ने चुनौती तेश्रो पुस्ताका विनोदमा हुने नै भयो, जुन चुनौतीमा उनी खरो उत्रिए । धनी घरानाको पुत्र हुनुको स्वाभाविक लाभ या ‌औद्योगिक र व्यावसायिक उत्तराधिकारी हुनुको फाइदा भजाएर मात्र विनोद आजको उचाइमा पुगेका पक्कै हैनन् । उनको मेहनत, क्षमता, प्रतिभा र ‘भिजन’को साकार रूप हो, आजको चौधरी ग्रूप ।

विनोदले तन्नेरी उमेरमै उद्यम-व्यवसायमा संलग्न हुनुको साटो शिक्षामा जोड दिएका थिए । भारतमा चार्टर्ड एकाउन्टेन्सीको अध्ययन गर्न जानुअघि नै पीता हृदयरोगी भएको उनलाई थाहा थियो । पीता एक्लैले व्यवसाय धान्न कठिन हुने भएकाले जेठो छोराको नाताले विनोदले व्यवसायको कार्यभार सम्हाल्न थाले ।

आफ्नै स्वतन्त्र व्यवसायका रूपमा विनोदले सन् १९७३ मा काठमाडौंमा ‘कपर फ्लोलर’ डिस्कोथेक खोलेका थिए । डिस्कोथेकमा सम्भ्रान्त र सत्ता–शक्तिमा रहेका मानिससँग उनको व्यापक चिनजान र घुलमिल हुन थाल्यो, जसले कालान्तरमा व्यवसाय विस्तारमा पनि सहयोग गर्‍यो । यसै मेसोमा उनले सन् १९७९ मा जापानी इलेक्ट्रोनिक कम्पनी ‘नेशनल पानासोनिक’सँग व्यापारिक सम्झौता गरे । यही नै उनको बहुराष्ट्रिय व्यापारको पहिलो कदम थियो ।

सन् १९८४ मा चौधरीले वाईवाई नेपाल भित्र्याए । वाईवाई चाउचाउ नेपालमा मात्र नभएर विश्वमै प्रख्यात छ । अहिले भारत, सर्विया, बंगलादेश र इजिप्टमासमेत वाई वाई चाउचाउ उत्पादनका लागि सीजीका कारखाना खुलेका छन् र त्यहाँबाट विभिन्न मुलुकमा चाउचाउ निर्यात हुने गर्छ ।

अहिले वित्त, वितरण, मनोरञ्जन, निर्माण, खाद्य सामग्री, सिमेन्ट, इलेक्ट्रोनिक्स, जडीबुटी, सजावट सामग्री, बायोटेक र आयुर्वेद, होटल, रिसोर्ट, रियलस्टेट, टेलिकम, सवारी साधन, इन्धनलगायतमा चौधरी ग्रूपको लगानी छ । सीजी ग्रूपको अर्को हो, होटल र रिसोर्टहरूको संजाल । हालसम्म सीजी ग्रूप अन्तर्गत १९० वटा होटल सञ्चालित छन् । भारतको चर्चित ताज होटल चेनमा पनि सीजी आवद्ध भइसकेको छ । बैंकिङ र वित्तीय क्षेत्रमा सीजी फिन्को नबिल बैंकमा पनि यसको लगानी छ ।

चौधरी ग्रूपका अध्यक्ष तथा कार्यकारी प्रमुख विनोद चौधरी २०६९ सालमा नेपालका सबैभन्दा धनी र देशको पहिलो डलर अर्बपति बन्न सफल भए । अमेरिकी पत्रिका ‘फोर्ब्स ’ले उनलाई विश्वका अर्बपतिको सूचीमा राखेको थियो । पत्रिकाको एसिया संस्करणको आवरणमै उनको तस्वीर प्रकाशित भएको थियो ।

त्यसबेला उनको कुल सम्पत्ति एक अर्ब अमेरिकी डलर बराबरको थियो । सोही वर्षदेखि नै चौधरी ग्रूपको सम्पत्ति बढोत्तरी हुँदै गयो । सन् २०२४ सम्म आइपुग्दा अहिले चौधरी ग्रूपका विश्वव्यापी २०२ कम्पनी र २६१ वटा ब्राण्ड छन् । र, फोर्ब्स पत्रिकाकै अनुसार चौधरी ग्रूपको सन् २०२४ सम्मको ‘नेट ग्रोथ’ एक दशमलव ८ बिलियन (१ अर्ब ८० करोड) अमेरिकी डलर छ ।

राजनीतिक यात्रा

विनोद चौधरीलाई अहिले तीन पुत्रमध्ये निर्वाण चौधरीले स्वदेशमै रहेर र वरुण चौधरी र राहुल चौधरीले विदेशमा रहेर उद्यम-व्यवसायमा सघाइरहेका छन् । छोराहरू सक्षम भएकाले अचेल विनोद धेरैजसो समाजसेवा र राजनीतिमा सक्रिय छन्, जुन उनको जिवनको अर्को महत्त्वपूर्ण पाटो हो ।

सङ्घ निर्माण र सञ्चालन विनोद चौधरीका लागि कुनै नौलो भूमिका थिएन । सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष भइसकेका चौधरी सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष रहे । वि. सं. २०५३ देखि उनी चौधरी फाउण्डेशनको पनि अध्यक्ष छन् । तर, उद्यम क्षेत्रको नेता भएर मात्र देशको आर्थिक कायापलटमा आफूले भूमिका निर्वाह गर्न नसक्ने बुझेपछि राजनीतिमा होमिएको उनी बताउँछन् ।

यसै सिलसिलामा वि.सं. २०६४ मा नेकपा (एमाले) ले चौधरीलाई संविधानसभा सदस्यमा मनोनीत गर्‍यो । नयाँ संविधान निर्माणमा उनको भूमिका रह्यो । तर, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए ।

अहिले नेपाली कांग्रेसकै सरकार छ । कांग्रेस पार्टी निर्वाचनमार्फत देशकै ठूलो दलको हैसियतमा पुगेको छ । तर, सरकार र पार्टी दुवैको भूमिकाप्रति चौधरी त्यति सन्तुष्ट देखिँदैनन् । सरकार र पार्टी दुवैको भूमिका प्रभावकारी नभएको गुनासो उनले बारम्बार व्यक्त गर्दै आएका छन् ।

नेपाली कांग्रेसको एउटा प्रमुख कमजोरी के हो भने यसले ‘सही ठाउँमा सही मान्छे’को शूत्र अपनाउन सकिरहेको छैन । आफ्नो उद्यम कर्ममा सफलता हासिल गरेर विश्वमै नाम कमाइसकेका र नेपाल सरकारलाई वार्षिक २० अर्ब कर बुझाउने हैसियत बनाएका विनोद चौधरीलाई कांग्रेसले किन महत्त्वपूर्ण जिम्मेवारी दिन सकिरहेको छैन ?

अहिलेको विषम आर्थिक अवस्था, मन्दीका बेला देशको अर्थतन्त्र उकास्न, उद्योग क्षेत्रमा सकारात्मक आशा जगाउन र आन्तरिक उत्पादन बढाउने नीति तर्जुमा गर्न स्पष्ट भिजन भएका नेता चौधरीलाई कांग्रेसले किन अर्थमन्त्री बनाएन ? भन्ने प्रश्न अनुचित हैन ।

हरेक क्षेत्रमा हात हाल्दा सफलता पाएका चौधरीको अनुभवबाट देशले धेरै लाभ लिनसक्ने अवसर छ । उनी त्यसका लागि दिलो ज्यानले राजनीतिमा समर्पित पनि भइरहेका छन् र देशका ज्वलन्त समस्या र जटिलता उपर आफ्ना सुझाव र समाधानका उपाय दिइरहकै छन् । कांग्रेस पार्टीमा भने गुटबाद, नातावाद र निकटताबाद अलि बढी हावी भएर होला चौधरीजस्ता सक्षम र योग्य नेतालाई यथोचित भूमिका दिइएको छैन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved