कसरी बन्ने असल मानिस ? यी हुन् पाँच आधारभूत गुण

मान्छेको असलपन र सफलता बिल्कुल विरोधी वा विपरीत हैनन् । असल मान्छे नै सफल हुने सम्भावना धेरै हुन्छ । त्यसो भए असल मान्छेका गुण केके हुन् त ? असल मान्छे कसरी बन्ने ? कसरी चिन्ने ? यसका मानक दर्जनौं होलान् । यहाँ मुख्य पाँच गुण चर्चा गरिएको छ ।

नेपालभ्युज

कसरी बन्ने असल मानिस ? यी हुन् पाँच आधारभूत गुण

बीपी कोइराला भन्थे, “ठूलो हैन, असल मान्छे बन्नु पर्दछ ।”

अर्का पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको भनाइ थियो, “मलाई एक असल मान्छे भनेर सम्झिदिए पुग्छ ।”

यस्तो चाहना राख्ने मान्छे बिरलै हुन्छन् । संसारमा आज ‘असल’ हैन, ‘सफल’ मान्छे बन्ने दौड छ । ‘ठूलो मान्छे’ बन्ने प्रतिस्पर्धा छ ।

जति नै दौडिए पनि अन्तिममा मान्छे पुग्ने घाटमा हो । प्रसिद्ध साहित्यकार लियो टोल्सटोईको एक चर्चित कथाको शीर्षक छ– आखिर मान्छेलाई कति जमिन चाहिन्छ ?

कथाको पात्र पाहोम सिङ्गो धर्ती आफ्नो बनाउन दौडिरहन्छ । अन्ततः गाडिन्छ ६ फिट जमिनमा । मानवीय आकाङ्क्षा, महत्वाकाङ्क्षा, स्वार्थ, लोभ र मोहको कुनै सीमा छैन । तर, जीवनको भने सीमा छ ।

मानव जीवनको सीमा अनेक कुराबाट व्यक्त हुन्छ । उमेरको सीमा, ज्ञानको सीमा, बलको सीमा, स्वास्थ्यको सीमा, क्षमता र सीपको सीमा आदि । मान्छे प्राणी यस्तै हो कि सीमित जीवनमा असीमित सफलताको चाहना राख्दछ ।

सफलताको कसी वा मापदण्डचाहिँ के हो ?

अक्सर सफलताको मापदण्ड शिक्षा तथा ज्ञान आर्जन, डिग्री वा प्रमाणपत्र प्राप्ति, धन कमाउनु, मोजमस्तीपूर्ण वा सुविधासम्पन्न जीवन हुनु, ठूला पदमा पुग्नु, नाम वा ख्याति कमाउनुलाई मान्ने गरिएको छ । यी आफैँमा कति ठूला सफलता हुन् ? कुन्नि !

आध्यात्मिक साधनामा भने मोक्ष, बुद्धत्व वा सम्वोधी प्राप्त गर्नुलाई सफलता मानिन्छ । तर, सफलताका यी मानकले असल मान्छे निर्धारण गर्दैन । यो निश्चित छैन कि असल मान्छे नै सफल हुन्छन्, सबै सफल मान्छे असल नै हुन्छन् ।

असल र सफलबीचको विरोधाभास विचित्रको हुन्छ । असल भनिएका मान्छे सफल नहुन सक्दछन्, सफल भनिएका असल नहुन सक्दछन् । कतिपय मान्छे यस्ता हुन सक्दछ, जो असल र सफल दुवै हुन्छन् । जस्तो कि माथिका दुई व्यक्तित्वलाई हेरौँ ।

बीपी कोइराला बौद्धिकता र कष्टपूर्ण सङ्घर्षका प्रतीक थिए । मनमोहन अधिकारी सादागी र इमान्दारिताका प्रतिमूर्ति । दुवै नेपालको राजनीतिक इतिहासमा अमर व्यक्तित्व बने, पदकै कुरा गर्ने हो भने दुवै देशका प्रधानमन्त्री भए ।

मान्छेको असलपन र सफलता बिल्कुल विरोधी वा विपरीत हैनन् । असल मान्छे नै सफल हुने सम्भावना धेरै हुन्छ ।

त्यसो भए असल मान्छेका गुण केके हुन् त ? असल मान्छे कसरी बन्ने ? कसरी चिन्ने ? यसका मानक दर्जनौं होलान् । यहाँ मुख्य पाँच गुण चर्चा गरिएको छ ।

असल मान्छे हुुनुको पहिलो गुण इमान्दारिता हो । इमान्दारिताले विश्वास आर्जन हुन्छ । विश्वासले आम सामाजिक स्वीकृति र बलिया सम्बन्धहरू बनाउँछ ।

इमान्दारिताका अनेक आयाम हुन्छन् । त्यसको मुख्य कुरा हो– अरुलाई नढाँट्नु, नठग्नु, नझुक्याउनु । वचन र कर्मबीच, बोली र व्यवहारबीच तादात्म्यता हुनू ।

असल मान्छेको दोस्रो ठूलो गुण हो– परिश्रम, अध्ययनशीलता र नयाँ-नयाँ सिकाइप्रति सदाबहार उत्सुक ।

श्रम मानव जीवनको आधारभूत शक्ति हो । आलसी मान्छेले के गर्ला ? निरन्तर नयाँ-नयाँ ज्ञान, सीप हासिल गर्ने उत्साह र जाँगर छैन भने मान्छे खास बिन्दुमा गएर ‘आउट डेटेट’ हुन्छ । असल मानिसले आफूलाई निरन्तर अपडेट गरिरहनु पर्दछ ।

तेस्रा हो– विनम्रता । असल मान्छे औसत विनम्र हुन्छन् । तिनमा घमण्ड र अहङ्कार हुँदैन । विनम्र हुनुको अर्थ आफूमा अहङ्कार नहुनु मात्र हैन, अरुप्रति सम्मानजनक व्यवहार गर्नु पनि हो ।

मानिसले मानिसलाई दिन सक्ने सबैभन्दा ठूलो चिज माया, प्रेम र सम्मान हो । अरु कुरामा सहयोग गर्न सक्दछ, तर पर्याप्त दिन सक्दैन ।

धन पर्याप्त दिन सक्दैन । पद पर्याप्त दिन सक्दैन । बल पर्याप्त दिन सक्दैन । ज्ञान पर्याप्त दिन सक्दैन । यी सबै चिजमा सहयोग गर्न सक्दछ तर, सम्मान पर्याप्त दिन सक्दछ । असल मान्छेले अरुलाई सम्मान दिन कुनै कन्जुस्याइँ गर्नु हुँदैन ।

असल मान्छेमा हुनु पर्ने चौथो ठूलो गुण उसमा एक सङ्गति हुनुपर्दछ । उसको चरित्र, व्यवहार र आचरणबाट एक छवि निर्माण होस् र त्यो छवि खण्डित हुनेगरी उसले काम नगरोस् ।

औसत मानिस यहाँनेर चुक्दछन् । उनीहरूले बाहिर प्रस्तुत वा निर्माण गर्न चाहेको छवि एक प्रकारको हुन्छ । आन्तरिक आचरण र व्यवहार भने अर्कै हुन्छ । यसो भए असङ्गति निर्माण हुन्छ । मान्छेको व्यक्तित्व पाखण्डपूर्ण बन्न पुग्दछ ।

पाखण्ड असल मानिसको गुण हैन । कुनै चरित्र मान्छेको आन्तरिक नभएर बनावटी मात्र हो भने त्यसले धेरै दिन काम गर्दैन । असल मान्छे जे हो, जस्तो हो, त्यस्तै प्रस्तुत हुनुपर्दछ । अनावश्यक देखावटी गर्नु हुँदैन ।

पाँचौँ हो– समानुभूति र जिम्मेवारीको भावना ।

कन्फुसियसको एक चर्चित भनाइ छ, ती व्यवहार अरु मानिसमाथि कहिल्यै नगर्नु, जो अरुले आफूमाथि नगरोस् भन्ने चाहनु हुन्छ ।

यो सहानुभूतिभन्दा एक तहमाथि उठेको सोच हो । त्यो हो– समानुभूति । आफूलाई कुनै अप्ठ्यारो, दु:ख वा जटिलता आइलाग्दा हामी अरुबाट कस्तो अपेक्षा गर्दछौँ, ठीक त्यही व्यवहार असल मान्छेले अरुलाई अप्ठ्यारो पर्दा गर्न सक्नुपर्दछ ।

एक समान परिस्थितिमा आफूप्रति फरक र अर्कोप्रति फरक व्यवहार गर्ने वा त्यस्तो अपेक्षा राख्ने व्यक्ति असल मानिस हुन सक्दैन ।

जिम्मेवारी असल मानिसको सहज वृत्ति हो । असल मानिस कहिल्यै जिम्मेवारीबाट भाग्दैन । जिम्मेवारी बहन गर्नु कुनै सजिलो काम हैन । जिम्मेवारी, कर्तव्य वा दायित्वले कयौं मानिसको जिन्दगी दबिएको, थिचिएको हुन्छ ।

गैरजिम्मेवार मानिस त्यस्तो बेला भाग्दछन्, पलायन हुन्छन् । सजिलोमा साखुल्ले बन्ने र अप्ठ्यारोमा मुख नदेखाउने मान्छेको संसारमा कुनै कमी हुँदैन । त्यसै भनिएको हैन, सफलताका हजार पितामाता हुन्छन्, असफलता सधैँ टुहुरो हुन्छ ।

शक्ति, धन, यौवन र बल भएको समयमा त जो पनि सँगै हुन्छ । असल मान्छे ती हुन्, जो यी चिज नभएको बेला पनि सँगै हुन्छन् । असल मानिस जिम्मेवारीबाट पलायन हुँदैन, बरु त्यसको मूल्य चुकाउँछ । मूल्य निक्कै महङ्गो पनि हुन सक्दछ ।

असल मानिसका गुण यी पाँच मात्र हैनन् । तर, यी पाँच तत्व आधारभूत हुन् ।

अब प्रश्न गरौँ कि असल मानिस बन्न कतिको सजिलो हुन्छ ? बिल्कुलै सजिलो छ । असल मानिस बन्न गाह्रो भएर मानिसले खराब बाटो रोजेका हैनन् ।

मूलतः यो चित्तवृत्ति र अभ्यासको प्रश्न हो ।

यथार्थमा असलभन्दा खराब मानिस बन्नुका जोखिम धेरै हुन्छन् । जस्तो कि चोर्नुभन्दा नचोर्नु धेरै सजिलो कुरा हो । नचोर्दा भन्दा चोर्न जानुका जोखिम धेरै ठूला हुन्छन् ।

मान्छेले गल्ती वा खराब काम स्वार्थ वा इन्द्रियजन्य चाहनाको वेगको कारणले गर्ने हो । महत्वाकाङ्क्षाको कारणले गर्ने हो ।

इन्द्रियका अवाञ्छित चाहनामाथि नियन्त्रण कायम राख्न सक्ने क्षमता भएको मस्तिष्क छ भने मान्छे असल हुने सम्भावना बढ्दछ । छैन भने औसत वा खराब हुने जोखिम हुन्छ ।

इन्द्रियका चाहना नियन्त्रण गर्न मद्दत गर्ने भावना हो– मृत्युबोध । संसारका सबै मानिस कुनै दिन मर्दछन् । आजसम्म जन्मिएको कोही बाँचेको छैन । कोही अजम्बरी छैन यो धर्तीमा ।

तर, यति ज्ञान हुनु मात्र मृत्युबोध हैन । मृत्युका दृश्य त मान्छेले क्षणक्षण देखिरहेको हुन्छ । प्रत्येक घरमा कसै न कसैको मृत्यु भएकै हुन्छ । मान्छे दुर्घटना देखिरहेको हुन्छ । अरुको मलामी गइरहेको हुन्छ ।

यी कारणले मात्र मान्छेमा मृत्युबोध हुन्छ भन्ने छैन । मृत्युबोध एक भिन्नै प्रकारको विशिष्ट आध्यात्मिक भावना हो । मृत्युबारे मानिस सबै जानकार छन् । तर, असल मानिस मृत्युबोधबारे जानकार हुन्छन् ।

कुनै न कुनै दिन मर्नु नै छ भने खराब काम किन र कसका लागि गरौं ? जबकि खराब कामबाट भएको प्राप्तिको भोग गर्ने अवसर पनि सीमित छ । यो भावना नै मृत्युबोध हो । जति नै धेरै सफलता र उपलब्धि हासिल गरूँ, ती मर्दा मसँग जाँदैनन्, यस्तो आत्मनुभूति मृत्यृबोध हो ।

संसारमा कोही त्यस्तो मानिस हुँदैन, जसका सबै इच्छा पूरा भएका होऊन् । र, संसारमा कोही त्यस्तो पनि मानिस हुँदैन, जसका कुनै पनि इच्छा पूरा भएका हुँदैनन् । जीवनमा सधै हाँस्न पाएको र कहिल्यै हाँस्न नपाए, जीवनका सधैँ रुनु परेको र कहिल्यै रुनु नपरेको कोही हुँदैन ।

असल मानिस एकै दिन रातारात बन्न सकिँदैन । त्यसको आफ्नै अभ्यास र साधना हुन्छ । त्यो हो– असल मानिस बन्ने गुणको निरन्तर अवलम्बन । खराब चित्तवृत्तिमाथि नियन्त्रण ।

उपरोक्त पाँच गुणहरूको निरन्तर अभ्यास गर्नुस्, सम्भावना धेरै छ कि तपाईं असल मान्छे बन्नु हुनेछ । साथै सफल बन्ने सम्भावना पनि बढेर जानेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved