‘पोएट्री कन्सर्ट-२०२४’ सम्पन्न

नेपालभ्युज

‘पोएट्री कन्सर्ट-२०२४’ सम्पन्न
पोयट्री कन्सर्ट । तस्वीर : नेपालभ्युज ।

काठमाडौं । सम्भव समूहको आयोजनामा ‘पोएट्री कन्सर्ट-२०२४’ आयोजना सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा शनिबार आयोजित कार्यक्रममा दसजना कविहरूले कवितात्मक प्रस्तुति दिएका थिए ।

फोक्टो ब्यान्डको पार्श्वसङ्गीत रहेको कवितावाचनमा अनिता न्यौपाने, शकुन आँसु र अस्मिता वादी अतिथि कविको रूपमा उपस्थित थिए । सम्भव समूहका तर्फबाट उत्तम तुम्सा लिम्बू, युग सर्वनाम, सन्जित फलाना र सुरज रानाले कवितावाचन गरेका थिए भने कविहरू स्वप्निल स्मृति, रिमा केसी र सीता तुम्खेवाले सम्भव समूहका तीन अनुपस्थित कविहरूको प्रतिनिधि कवितावाचन गरेका थिए ।

अनिता न्यौपानेले ‘आफ्नै पाइतला टेकेर’ र ‘यो देश देखेर मलाई असाध्यै डर लागिरहेछ’, शकुन आँसुले ‘नवयुगकी सुम्निमा’ र ‘पाठशाला’, अस्मिता वादीले ‘के बाँच्नु भनेको सास फेर्नुमात्र हो ?’ र ‘लास बोक्ने खुट्टाहरू’ शीर्षकमा दुई-दुईवटा कवितावाचन गरेका थिए ।

त्यस्तै, उत्तम तुम्सा लिम्बूले ‘एउटा प्रश्न सोध्नु थियो’, ‘ठूलीले जाँड बेच्न छाडिन्’ र ‘मुलुक कैले फर्किन्छस् ठूले ?’, ‘युग सर्वनामले ‘रगतको पैदलयात्रा’ र ‘म मर्छु होला’, सन्जित फलानाले ‘चौतारी’, ‘आम्बो’ र ‘उचाइ’ तथा सुरज रानाले ‘अक्षरहरू’, ‘सास फेर्ने मूर्ति’ र ‘प्रहरी चौकीमा सोल्टा’ शीर्षकमा कवितावाचन गरेका थिए ।

स्वप्निल स्मृतिले मिथोचको कविता ‘ऐँठन’, रिमा केसीले राज एकान्तको कविता ‘छापामारको सन्देश’ र सीता तुम्खेवाले बलिन्द्र योङहाङको कविता ‘मोनालिसा’ वाचन गरेका थिए । फोक्टो ब्यान्डका संस्थापक अनुप तिमिल्सिनाले गीटार, अच्युत थापामगरले बाँसुरी र अनिल गन्धर्भले सारङ्गीमार्फत सङ्गीत दिएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै कवि श्रवण मुकारुङले सङ्गीतसहितको कवितात्मक प्रस्तुतिले पारम्परिक कवितावाचनलाई चुनौती दिएको बताए । “नयाँ पुस्ताका कविहरूले के लेखिरहेका छन् र कविताबारे उनीहरूको बुझाइ कस्तो छ भनेर बुझ्ने अवसर पाइयो, ” उनले भने ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङले अतिथि कविहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा डा. विप्लव ढकाल, यासेली योङ्हाङ, विमला तुम्खेवा, कुमारी लामा, प्रगति राई, हेमन यात्री, सञ्जीव राई, उमेश अकिञ्चन, गणेश खनियाँ, सोझो गाउँले, प्रकाश रम्घाली, चन्द्रवीर तुम्बापो, लक्ष्मी रुम्बा, करण राई, देवेश राई, मनोज थापामगर, अनिल सुब्बा, जेडी तमु, अप्सरा लावती, नरेश लावती, विशाल सेनेहाङ, प्रज्वल अधिकारी, असिम सागर, गीलु रातोसलगायत सयभन्दा बढी श्रष्टाहरूको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved