आलेख

चिनियाँ ऋणको खतरनाक विश्वव्यापी ‘ह्याङओभर’

चीन अहिले संसारकै सबैभन्दा ठूलो सार्वभौम ऋणदाता भएको छ । धेरै देशहरूको ऋणस्तर निर्धारणमा अग्रणी भूमिका खेलिरहेको छ । स्थिति निरन्तर खतरनाक बन्दै गएको छ । बितेको दशकमा विश्वका ७५ गरिब देशको कूल ब्याज भुक्तानीको मूल्य चार गुणाले बढेको छ ।

चिनियाँ ऋणको खतरनाक विश्वव्यापी ‘ह्याङओभर’

सन् २००० को दशकमा भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले आफ्नो देशको आर्थिक भविष्यलाई उदाउँदो चीनसँग बाजी थापे । तेल सम्झौता ऋण र लगानीका लागि अरबौं डलर लिए ।

यो सुरुमा चुक्ता भयो । चीनले भेनेजुएलाको तेल भोको मान्छेले खाएझैँ गरी खपत गर्‍यो । साटोमा द्रुत गतिको रेल मार्गदेखि पावर प्लान्टसम्मका पूर्वाधार परियोजनालाई वित्तीय सहयोग गर्‍यो ।

सन् २०१० का वर्षमा यसको हिसाब आयो । तेलको मूल्य घट्यो । तेलको चिनियाँ माग वृद्धिमा सुस्ततासँगै यसको अर्थतन्त्र सुस्त भयो । भेनेजुएलाको तेल निर्यात आय सन् २०११ म ७३ बिलियन डलर थियो । सन् २०१६ मा २२ बिलियन डलरमा झर्‍यो ।

चाभेज र उनले टिपेका उत्तराधिकारी निकोलस मदुरोको कुशासन र अन्य अनेक आन्तरिक समस्याका कारणले भेनेजुएला पहिलेदेखि नै सङ्कटमा थियो । चीनसँगको जुवा खेलाइले यसलाई अझ किनारामा धकेल्यो ।

सन् २०१४ मा भेनेजुएलाको अर्थतन्त्र ध्वस्त भयो । मानिस फोहोरको थुप्रोमा खानाका टुक्रा खोज्ने हालतमा पुगे । अस्पतालमा अत्यावश्यक औषधिको अभाव भयो । अपराध बढ्यो । त्यसयता करिब ८० लाख मानिसले देश छोडे । चीनले भेनेजुएलालाई दिएको ऋण र नयाँ ऋण योजनामा धेरै ठूलो कटौती गर्‍यो । थुप्रै बन्दै गरेका परियोजना अधुरा रहे ।

भेनेजुएलाको चीनप्रतिको अति निर्भरता एक प्रारम्भिक चेतावनी थियो तर, विश्वले वास्ता गरेन । चीनको उदयमाथि सवार हुन खोजेका दर्जनौं देशहरू अहिले वित्तीय सङ्कटमा छन् । चिनियाँ अर्थतन्त्र गतिरोधमा फस्दा थुप्रै देशको ऋण भुक्तानीको जोखिम गम्भीर बनेको छ ।

तैपनि चीनले वैदेशिक ऋण राहतको प्रस्ताव गर्न अस्वीकार गरिरहेको छ । चीनलाई अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्व वृद्धिको इन्जिन मानिन्छ । यसले आफ्नो अर्थतन्त्रलाई मुक्त र पुनर्संचालन गर्न आन्तरिक संरक्षणवादी व्यापार अभ्यास दोब्बर पारेको छ । यो ‘चिनियाँ चमत्कार’ को दुखद् पक्ष हो ।

जतिखेर विश्वलाई आर्थिक मुक्तिदाता चाहिएको थियो, चीनले त्यो भूमिका पूरा गरेको थियो । सन् २००८ मा सुरु भएको यसको आर्थिक उन्नति ९ वर्षमा २९ ट्रिलियन डलर बराबर पुग्यो । विश्वको झन्डै एकतिहाइ बराबरको जिडीपी चीनसँग भयो । अब यसलाई जारी राख्नु छ ।

यसका सकारात्मक प्रभाव र तरङ्ग विश्वव्यापी रूपमा अनुभूत गरिएको थियो । सन् २००८ देखि सन् २०२१ को बीचमा चीनले विश्वव्यापी आर्थिक वृद्धिमा ४० प्रतिशत बढीले योगदान गर्‍यो । विकासशील देशहरू चीनसँग जोडिन पूर्णतः आतुर भए । तिनले अतिसय आर्थिक लाभको उत्सुकताबाट आफूलाई रोक्न सकेनन् । र, चीन विश्वका अधिकांश राष्ट्रका लागि शीर्ष व्यापारिक साझेदार बन्यो ।

भेनेजुएला जस्तै धेरैलाई के लाग्यो भने बढ्दो चिनियाँ अर्थतन्त्र ती देशका वस्तु निर्यातका लागि एक आकर्षक नयाँ बजार हो । ती देश राम्रैसँग चीनतिर रुझान राख्न थाले । तिनले आफ्नो अर्थतन्त्रका अन्य क्षेत्रलाई सुस्त पार्ने अनुमति दिए । चीनले यसबीच रोड एण्ड बेल्ट इनिसिएटिभअन्तर्गत चिनियाँ कम्पनीले निर्माण गर्ने पूर्वाधार परियोजनाका लागि विदेशमा १ ट्रिलियन डलर बराबरको ऋण लगानी गरिसकेको छ । बितेका दुई दशकमा अफ्रिकामा निर्माण भएका प्रत्येक ३ मध्ये १ परियोजना चिनियाँ संस्थाले बनाएका छन् ।

यस क्रममा कमजोर तथा विकासशील अर्थतन्त्रका लागि दीर्घकालीन ऋण लगानीको जोखिम भने बेवास्ता गरियो । चीनको आर्थिक उन्नति जस्तो कि अहिले हामीले थाहा पायौँ, दीगो थिएन । चिनियाँ वृद्धि दशकौंको आन्तरिक प्रोत्साहन लगानीको इन्धनद्वारा प्रज्वलित थियो । तर, त्यो कुशलतापूर्ण थिएन । यसले आज चीनलाई आफ्नै अभिशप्त ऋण धङधङीको चपेटामा पारेको छ ।

आज राष्ट्रपति सी चिन फिङ आफैँ उद्यमशीलतालाई दबाउँदैछन्, सुधार रोक्दैछन् । अमेरिकी संरक्षणवादी प्रतिक्रियाद्वारा उक्साइएका छन् । दशकअघि सी सत्तामा आएपछि चिनियाँ आर्थिक वृद्धिको दर नाटकीय रूपमा सुस्त हुन थाल्यो । विशेषज्ञको भनाइ छ— यो अहिले बढो मुस्किलले वृद्धिमा छ ।

यसले ती सबै देशलाई असर गर्दछ, जसले आफ्नो अर्थतन्त्रलाई चीनमाथि सवार गराएका थिए । अहिले तथ्याङ्कले यो भन्दैछन् कि चिनियाँ जिडीपीमा प्रत्येक वर्ष १ प्रतिशतको गिरावट छ । यसबाट ती देशको अर्थतन्त्र तुलनात्मक अङ्क बराबरले सुस्त हुँदैछन् । धेरै देशले चीनतर्फको आफ्नो निर्यात घटेको पाएका छन् ।

अहिले चीनले आफ्ना निर्माता कम्पनीलाई ठूलो मात्राको ऋण र अनुदान दिएर आर्थिक मन्दीलाई सम्बोधन गर्न खोजिरहेको छ । यही कारण हो कि विश्व बजार सस्ता चिनियाँ वस्तुद्वारा भरिएका छन् । साथै, यसले अन्य देशका उत्पादकमाथि अनुचित प्रतिस्पर्धा दबाब सृजना गरेको छ । विश्वव्यापी रूपमा सामानको मूल्य घटाएको छ ।

नि:सन्देश विश्व अर्थतन्त्रका कमजोरीका लागि चीन मात्र एकल जिम्मेवार छैन । यो मन्दी महाव्याधि, युद्ध र व्यापार तनावको प्रभाव पनि हो । देशहरू यो नाजुक क्षणमा चिजहरू बिग्रेको पाइरहेका छन् । वैदेशिक ऋणमा ठूलो कटौती भएको छ । विकासशील देश विद्यमान ऋण तिर्न नसक्ने स्थितिमा फस्दै गएका छन् ।

यस्तो बेला वास्तविक ऋण राहत प्रस्तावअघि सार्नुको साटो चीनले सामान्यतः अल्पकालीन ऋण सापटी अदलीबदली र ऋणमा लपेट्ने प्रयासलाई विस्तार गर्दैछ ।

सन् २०२० मा जाम्बिया र सन् २०२२ का श्रीलंका अर्बौंको अन्तर्राष्ट्रिय ऋण दायित्व चुक्ता गर्नबाट चुके । यी दुवै घटनामा चिनियाँ ऋण र ऋणको विष्फोट ती देशलाई गहिरो आर्थिक सङ्कटमा धकेल्ने एउटा महत्त्वपूर्ण कारक थिए । त्यसपछि ऋण पुनर्संरचना वार्ता गर्न खोजियो । तर, यो पनि कठिन काम हो । चिनियाँ ऋण प्रवाहका प्रक्रिया लामो समय लाग्ने र अपारदर्शी छन् । यसले गर्दा यी दुवै देशको आर्थिक सङ्कट झनै बढ्यो । अन्ततः दुवै देशलाई भुक्तानी अवधि बढाउन बाध्य पारियो ।

यसको सरल अर्थ हुन्छ—जुन स्रोत ती देशले आफ्नो अर्थतन्त्रको सुधारमा लगानी गर्न सक्थे, त्यो ऋण दायित्व भुक्तानीमै लगाउनुपर्ने भयो । यस्तो अनिश्चितताको विस्तारले ती देशलाई नयाँ वित्तीय पहुँच बनाउन गाह्रो भएको छ ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनी छ कि ती दर्जनौं विकासशील देशहरू जो चीनसँग घनिष्ठ व्यापारिक साझेदार सम्बन्धमा छन्, कुनै न कुनै रूपमा ऋण तनावको सामना गर्दैछन् ।

पाकिस्तान ठीक यस्तै गहिरो आर्थिक सङ्कटमा फसेको छ । पाकिस्तानलाई अब यो अवस्थाबाट बाहिर निस्कन निकै गाह्रो छ । पाकिस्तानी सङ्कटको एक आशिंक कारण पूर्वाधार र अन्य परियोजनाका लागि चीनसँग लिएको अर्बौं डलरको तिर्न बाँकी ऋण हो । पाकिस्तानका कतिपय कलकारखाना अत्यावश्यक सामग्री किन्न र सरकारले नियमित विद्युत् आपूर्ति गर्न नसक्दा बन्द भएका छन् ।

लाओस यस्तै अवस्थामा छ । देशको कुल बाह्य ऋणमध्ये करिब आधा चीनको छ । चीन-लाओस द्रुत रेल मार्ग निर्माणलगायतका परियोजनामा अर्बौं डलरको ऋण लिइयो । यो योजना अहिले सेतो हात्ती भएको छ । यसबाट लाओसको मुद्रामाथि ठूलो चोट परेको छ । लाओस आफ्नो पावर ग्रिडमा चिनियाँ स्वामित्वलाई साझेदारी अंश दिन बाध्य भएको छ । ऋणको भुक्तानी गर्न नसक्दा लाओसको आर्थिक सार्वभौमत्ता नै अप्ठ्यारोमा छ ।

यहाँसम्म कि युरोपको ठूलो आर्थिक शक्ति जर्मनीजस्ता केही धनी राष्ट्रले पनि चीनसँगको अति व्यापार निर्भरताको कारण गहिरा चुनौती सामना गरिरहेका छन् । गत वर्ष जर्मनीको चीन निर्यात ९ प्रतिशतले घट्यो । सन् २००१ मा चीन विश्व व्यापार सङ्गठनको सदस्य भएयता यो सबैभन्दा ठूलो गिरावट हो । यसले जर्मनीको अर्थतन्त्र पनि सङ्कुचन भयो ।

अष्ट्रेलिया, ब्राजिल, साउदी अरेबियाजस्ता वस्तु निर्यायक राष्ट्रहरू अहिले कमजोर स्थितिमा छन्, किनकि ऊर्जा, धातु र कृषि उत्पादनहरूको चीन निर्यातले ती देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्थ्यो ।

यस मानेमा अमेरिका कम प्रत्यक्षतः उजागर छ । अमेरिकाको उत्पादित चीन निर्यात जिडीपीको १ प्रतिशतभन्दा पनि कम छ । तर, विद्युतीय सवारी साधन र सोलर प्यानलजस्ता चिनियाँ उत्पादनको चपेटाले अमेरिकी उत्पादक धम्कीको सामना गर्दैछन् । एप्पल, जनरल मोटर्स, नाइक, स्टारबक्स र टेस्लालगायतका केही ठूला अमेरिकी कम्पनीले कमजोर उपभोक्ता मागका कारण चीनमा आफ्नो बिक्री आम्दानी गुमाइरहेका छन् । अनुदान प्राप्त चिनियाँ कम्पनीसँगको प्रतिस्पर्धाको कारणले अमेरिकी आपूर्ति श्रृंखलामा अवरोध आएको छ ।

आजको अवस्था र सन् १९८० को दशकमा व्याप्त विकासशील देशहरूको ऋण सङ्कटका बीच चिन्ताजनक समानता छन् । धेरै राष्ट्रहरू विशेषगरी ल्याटिन अमेरिका र अफ्रिकाका राष्ट्रहरू पश्चिमा वाणिज्य बैंक, जस्तै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको चर्को ऋण भारले थिचिएका थिए ।

बढ्दो ब्याजदर र घट्दो वस्तुको मूल्य कारण मेक्सिको, ब्राजिल, अर्जेन्टिनालगायतका देश ऋण चुक्ता गर्न नसक्ने भएका थिए । ती केही वर्ष निरन्तर न्यून आर्थिक वृद्धि, मितव्ययिता उपायको गम्भीर अवलम्बन, घट्दो जीवनस्तर र राजनीतिक उथलपुथलबाट पीडित भए ।

चीन अहिले संसारकै सबैभन्दा ठूलो सार्वभौम ऋणदाता भएको छ । धेरै देशहरूको ऋणस्तर निर्धारणमा अग्रणी भूमिका खेलिरहेको छ । चीनको ऋण प्रणालीमा प्रायः अपारदर्शी व्यवस्था छन्, जसलाई सन् १९८० मा देखिएको स्थितिसँग तुलना गर्न सकिन्छ ।

स्थिति निरन्तर खतरनाक बन्दै गएको छ । पेरिस क्लब (जो २२ ठूला ऋणदाता राष्ट्रको समूह हो)लेभन्दा बितेको दशकमा चीनले धेरै ऋण दियो । बितेको दशकमा विश्वका ७५ गरिब देशको कूल ब्याज भुक्तानीको मूल्य चार गुणाले बढेको छ । विश्व बैंकका अनुसार ती देशको शिक्षा, स्वास्थ्य, पूर्वाधारमा हुनेभन्दा बढी ऋण भुक्तानीमा खर्च हुन थालेको छ ।

संयुक्त राष्ट्रसङ्घ भन्छ—करिब ३ अर्ब ३० करोड मान्छे त्यस्ता देशका बासिन्दा छन्, जसको ऋणको ब्याज भुक्तानीको रकम मात्र शिक्षा तथा स्वास्थ्य क्षेत्रको लगानीभन्दा बढी छ ।

आर्थिक सङ्कटग्रस्त भेनेजुएलाको अवस्थाले गतिलो उदाहरण दिएको छ कि यस्तो अवस्थाले कता लैजान्छ । त्यो भनेको आर्थिक अवनति, मानवीय दुर्दशा र दमन हो । युद्धले अगाडि नै हल्लिएको यो विश्वमा, ऋण भुक्तानी चुक, राजनीतिक अस्थिरता र परिणामतः आम आप्रवासनले मानवीय जोखिम तीव्र बनाएका छन् ।

हालैका महिनामा, श्रीलंका, पोलैण्ड, फ्रान्स, बोलिभिया, केन्या र विश्वभरका अन्य थुप्रै देशमा मानिसले बिग्रिएको आर्थिक अवस्थालाई लिएर विरोध प्रदर्शन गरे ।

धनी अर्थतन्त्र र ऋणदाता राष्ट्रबाट कमजोर अर्थतन्त्रलाई ऋण राहत, बजार पहुँच र सहयोगका अन्य तरिका प्रदान गर्न माग भइरहेको छ । चीनले यस्ता समस्यालाई बढावा दिने र माग सम्बोधन गर्न असफल हुने हो भने यस्ता कदमको सीमित प्रभाव हुनेछ । चीनलाई आफ्नै लागि हितकर हुने तरिका परिवर्तन गर्न आवश्यक सामूहिक अन्तर्राष्ट्रिय सङ्कल्प खोज्न गाह्रो हुनेछ ।

गर्नुपर्ने पहिलो महत्त्वपूर्ण काम भने समस्याको मात्रा बुझ्नु हो ।

(-द न्यूओर्क टाइम्सबाट अनुदित) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved