काठमाडौं । गत बिहीबार भक्तपुरको गठ्ठाघर दुर्घटनाबारे जाँचबुझ गर्न प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वमा गठन गरेको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनाबारे बुझाइएको प्रतिवेदनमा समितिले ट्रक चालकले दुर्घटनाबारे थाहै नपाएको निष्कर्ष निकालेको छ ।
प्रहरीले बुझाएको सो प्रतिवेदनमा ना ६ ख २१७३ नम्बरका ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख छ ।
समितिले गरेको सोधपुछका क्रममा उनले आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका थिए ।
उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग सोधपुछ गर्दा उनले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।
गत बिहीबार श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरका स्कुटर चालक ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा ट्राफिक प्रहरीको लापरबाही भएको आरोप लागेपछि प्रहरीले एसपी केसीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो तर न समितिले प्रतिवेदनमा ट्राफिकको कमजोरी नरहेको राय दिएको छ ।
गृहमन्त्री रमेश लेखकको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रहरी जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा अर्को समितिले पनि गठन गरिएको थियो । सो समितिले पनि छानबिन सुरु गरिसकेको छ ।
Facebook Comment
Comment