आन्दोलनरत उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरबीच ८ बुँदे सहमति

नेपालभ्युज

आन्दोलनरत उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरबीच ८ बुँदे सहमति

काठमाडौं ।  हेटौँडा उपमहानगरपालिकाले बढाएको करको रकम फिर्ता हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबीच ८ बुँदे सहमति भएसँगै व्यवसायीहरुले आफ्ना सम्पूर्ण आन्दोलनको कार्यक्रम  स्थगित गरेका छन् ।

उपमहानगरपालिका र उद्योग वाणिज्य संघबिच शुक्रबार साँझबाट भएको वार्तामा  सहमति भएको हो । छलफलमा उपमहानगरले मकवानपुर उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थाहरुले उठाएका विषय आगामी नगरसभाबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

सहमति पत्रमा उपमहानगरबाट मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता सविन न्यौपाने र व्यवसायीको तर्फबाट मउवा संघका अध्यक्ष कृष्णकुमार अग्रवाल गुप्ता, निर्माण व्यवसायी संघ अध्यक्ष बालगोपाल कंडेल, मउवा संघ उपाध्यक्षहरु उज्वल चौलागाईं, राजु अधिकारी, होटल एसोसिएसनका कल्याण पौडेलले हस्ताक्षर गरेका छन् ।

सबै शिर्षकमा वृद्धि गरिएको कर खारेज हुनुपर्ने,अवैज्ञानिक विज्ञापन कर खारेज हुनुपर्ने, उपभोक्ता मार्फत हुने गरेको सबै प्रकारका विकासको काम निमौण व्यवसायी मार्फत हुनुपर्ने, रातको १२ बजेसम्म होटल व्यवसाय संचालनको प्रत्याभुति हुनुपर्ने, निर्माण व्यवसायीले तिरिसकेको भ्याट रकम पुनः शिर्षक परिवर्तन गरि बक्यौता देखाउने उपमहानगरको गल्ती सुधार हुनुपर्ने र बाहल कर घरधनीलेनै भुक्तानि गर्नेपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको संघको मागको विषयमा उपमहानगरपालिकाले सहमति गरेको हो ।

उद्योग वाणिज्य संघले राखेको मागलाई नगरसभा मार्फत समाधान गर्ने, विज्ञापन करको विषयमा संघको प्रतिनिधि सहितको अध्ययन समिति बनाउने, उपभोक्ता समिति मार्फत हुने कामलाई निर्माण व्यवसायीसँगको समन्वयमा गर्ने साथै निर्माणको प्रकृति हेरेर थ्रेसहोल्ड कायम हुने गरि नगरसभामा लैजाने, होटल व्यवसायलाई मध्यरातसम्म संचालन गर्नेगरि समन्वय गर्ने, उपमहानगरको भनिएको गल्तीलाई सञ्च्याउने र करको विवादलाई विज्ञहरुको टोलीबाट छलफल गरि राजश्व परामर्श समितिमा लैजाने सहमति भएको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए ।


 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved