संवादका क्रममा हदैसम्म लचिलो भएर प्रचण्डले माधवलाई पार्टी एकताका लागि ‘कन्भिन्स’ गरिरहेको बताइन्छ । यतिसम्म कि प्रचण्डले पार्टीको नाम र चुनावचिह्न फेर्न सकिने र एकीकृत पार्टीको संसदीय दलको नेतामा माधवलाई नै अगाडि सार्ने बताउने गरेका छन् ।
काठमाडौं । अनपेक्षित रूपमा सत्ताबाट हुत्तिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जतिसक्दो चाँडो धेरै पार्टीसँग एकता गर्नुछ ।
नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्रराय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) सँग चाँडै पार्टी एकता गर्न लागेका प्रचण्ड माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि त्यही चाहन्छन् ।
पार्टी एकताकै प्रयासस्वरूप उनले माधवसँग निरन्तर संवाद गरिरहेका छन् । सत्ताबाट ओर्लिएपछि प्रचण्डले माधवसँग चारपटक वान् अन वान् संवाद गरिसकेका छन् । उनले बिहीबार मात्रै पनि खुमलटार बोलाएर कुराकानी गरेका थिए ।
गत असार १७ गते मध्यराति संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार निर्माणका लागि सहमति बन्यो, असार ३२ गते प्रधानमन्त्री प्रचण्ड पदमुक्त भए । यसलगत्तै शक्ति सञ्चयको अभ्यासमा लागेका उनले चार दलसम्बन्ध समाजवादी मोर्चा मात्रै होइन, पार्टी एकताकै तहमा पहल गरिरहेका छन् ।
यही मेसोमा प्रचण्डले माधवसँग निरन्तर संवाद थालेका हुन् । संवादका क्रममा हदैसम्म लचिलो भएर प्रचण्डले माधवलाई पार्टी एकताका लागि ‘कन्भिन्स’ गरिरहेको बताइन्छ । यतिसम्म कि प्रचण्डले पार्टीको नाम र चुनावचिह्न फेर्न सकिने र एकीकृत पार्टीको संसदीय दलको नेतामा माधवलाई नै अगाडि सार्ने बताउने गरेका छन् ।
एकीकृत समाजवादीका एक नेताका अनुसार प्रचण्डले माधवसँगको संवादका क्रममा पछिल्लो सरकारले दुईदलीय व्यवस्थाको पक्षपोषण गरिरहेको र त्यसका विरुद्ध उभिन पनि पार्टी एकता गर्नुपर्ने बताउने गरेका छन् ।
“प्रचण्डजीले जसरी पनि पार्टी एकता गरेर जानुपर्छ भन्ने प्रस्ताव गर्नुभएको हो तर, हाम्रो पार्टीले त्यसमा केही रेस्पोन्स गरेको छैन । तर, प्रचण्डजीले हदैसम्म लचिलो बनेको देखिन्छ,” ती नेताले भने ।
हुन त माधव आफैँ पनि दुईदलीय व्यवस्थाको विरोधी हुन् । पछिल्लो सरकारले दुईदलीय व्यवस्थाको पक्षमा वकालत गरिरहेको उल्लेख गर्दै उनले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भनेका थिए, “हामी दुईदलीय व्यवस्था आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । यही व्यवस्थालाई थप सुदृढीकरणको आवश्यकता छ ।”
यसर्थ, माधव पनि यस विषयमा त कन्भिन्स नै छन् तर, पार्टी एकता नै गर्ने सन्दर्भमा भने उनले केही जवाफ दिएका छैनन् । ती नेता भन्छन्, “हाम्रो अध्यक्ष कमरेडले पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभएको छ रे । प्रचण्डजीले एकता गरेर कम्तीमा एमालेलाई टक्कर दिने शक्ति निर्माण गरौँ भन्नुभएको छ ।”
त्यसो त एकीकृत समाजवादीभित्र माओवादीसँग पार्टी एकता हुनुहुन्न भन्ने नेताहरूको ठूलो जमात छ । तर, प्रचण्डले भने माधवलाई एकीकृत पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने अवसर आए त्यो पनि छाडिदिने प्रस्ताव गरेका छन् । “माओवादीले एकतापछिको पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने भन्ने पनि प्रस्ताव आएको छ,” ती नेताले भने ।
त्यसमा प्रचण्डले पार्टीको नाम नेकपा (समाजवादी) वा समाजवादी कम्युनिष्ट पार्टी (सकपा) राख्न प्रस्ताव गरेका छन् ।
यसअघि बसेको पार्टी स्थायी समितिको बैठकमा प्रचण्डले वामपन्थी दलहरूबीच एकता नभए २०८४ को चुनावमा गाह्रो पर्ने ब्रिफिङ गर्दै जतिसक्दो लचिलो बनेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका थिए । यद्यपि ०८४ सालको चुनाव माओवादीले एक्लै लड्ने घोषणा गरिसकेको छ । तर, फेरि पनि प्रचण्डको ध्यान भने एकतामै छ ।
माओवादी नेताहरू भने वामपन्थी एकता अहिलेको आवश्यकता रहेको बताउँछन् । “सम्भव भएसम्म पार्टी एकता गरेरै अगाडि जाने भन्ने छँदैछ तर, अहिल्यै भइहाल्ने भन्ने होइन,” माओवादी सचिव दीनानाथ शर्माले भने ।
तर, वामपन्थी ध्रुवीकरण माओवादीको सधैँको मुद्दा रहेको बताउँछन् सचिव शर्मा । “माओवादी कहिल्यै एकताको विपक्षमा छैन । सम्भव भएसम्म मिलेरै जाने भन्ने हो । विचार मिल्ने, मुद्दा मिल्ने दलहरूसँग मिलेरै जाने भन्ने हो,” उनले भने, “त्यसमा एकीकृत समाजवादी पनि वामपन्थी दल नै हो । मिलेर जाने कुरा हुनु अन्यथा होइन ।”
एकीकृत समाजवादीका नेताहरू भने माओवादीसँग एकता नहुने बताउँछन् । पार्टीको महाधिवेशन भर्खरै सम्पन्न भएको, पार्टी कमिटीहरूले पूर्णता पाउनै बाँकी रहेको उल्लेख गर्दै नेता राजेन्द्र पाण्डेले नेपालभ्युजसँग भने, “पार्टीले अहिल्यै कुनै दलसँग एकता गर्दैन, त्यसबारे छलफल नै भएको छैन ।”
प्रचण्ड र माधवबीच निरन्तर भइरहेको भेटबारे सोध्दा उनी ठट्यौली जवाफ दिन्छन्, “उहाँहरू पूर्वप्रधानमन्त्री हुनुहुन्छ । बूढाहरूको खास काम छैन यसबेला, फुर्सदमा हुनुहुन्छ । एउटा बूढाको प्रधानमन्त्री खुस्किगयो, अर्को बूढा प्रधानमन्त्री हुनै पाएनन् । यसपछि के गर्ने त ? भेट्ने गफ गर्ने र चिया खाने हो । अहिले भइरहेकै यति हो । यसबाहेक केही छैन । एकताको कुरै छैन ।”
एकीकृत समाजवादीका अर्का नेता जगन्नाथ खतिवडा पनि अहिले पार्टीले कुनै पनि पार्टीसँग एकताको गृहकार्य नगरिरहेको बताउँछन् । “हाम्रो चुनावचिह्न कलम हो । हाम्रो पार्टी एकीकृत समाजवादी हो । हामी यसबाट यताउता हुन्नौँ,” उनले भने ।
प्रचण्डको दाउ, माधवलाई डर
पहिलो संविधान सभाको निर्वाचनयता ‘ओरालीमा लडेको ढुङ्गा’ भएको माओवादी अध्यक्ष प्रचण्डलाई २०८४ सालको निर्वाचनमा एक्लै होमिँदा पार्टी अझ खस्किने डर छ । त्यसकारण उनी पार्टी एकतामा ध्यान दिइरहेका छन् ।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा ३१ लाख मत ल्याएको माओवादी पछिल्लो संसदीय निर्वाचनमा पौने १२ लाखमा सीमित भयो । अझै ०८४ सालको निर्वाचन एक्लै लड्दा पार्टीको मत अझ घट्ने आकलन उनको छ । त्यसकारण उनी पार्टी एकतामा जोड दिइरहेका छन् ।
यता माधवलाई भने माओवादीसँग पार्टी एकता गर्दा त्यही निहुँ पारेर प्राय: नेताहरू एमालेमै फर्किने डर छ । ‘के निहुँ पाउँ…’ भनिरहेका एकीकृत समाजवादीका नेताहरूलाई माओवादीसँग पार्टी एकता गरेर चिढ्याउन चाहँदैनन् माधव ।
झलनाथ खनाल, रामकुमारी झाँक्री, राजेन्द्र राईलगायतका नेताहरूले यसै त ‘एमाले मोह’ देखाइरहेका छन्, अझ माधवले माओवादीसँग पार्टी एकताको घोषणा गर्दा उनीहरू त्यही निहुँ पारेर एमालेमै फर्किन सक्छन् ।
माधवले तीन वर्ष अगाडि मात्रै एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका हुन् । पार्टी गठन गरेलगत्तैदेखि धेरै नेताहरू एमालेमै फर्किसकेका छन् । पछिल्लो निर्वाचनमा ३ प्रतिशत थ्रेसहोल्डसमेत नकटाएको एकीकृत समाजवादीसँग अहिले समानुपातिक सांसद त छैनन् तर, प्रत्यक्ष निर्वाचित १० सांसद छन् । यदि माओवादी-एकीकृत समाजवादीबीच पार्टी एकता भयो भने त्यो पार्टीसँग ४२ सांसद हुन्छन् ।
माधवनिकट एक नेता भन्छन्, “माओवादीसँग एकता हुँदा पार्टीका नेताहरू एमालेमै फर्किने बाटो खुल्छ । माधव कमरेडलाई त्यो डर छ । त्यसकारण उहाँले निर्णय लिइहाल्ने देखिँदैन ।”
जे होस्, माओवादी-एकीकृत समाजवादीबीच पार्टी एकता भइहाल्ने अवस्था भने देखिँदैन । उल्लिखित अप्ठ्यारा नाटकीय रूपमा सहजतामा परिणत नभए सम्भवत: २०८४ को संसदीय निर्वाचनपूर्व माओवादी-एकीकृत समाजवादीबीच एकता पनि हुँदैन ।
Facebook Comment
Comment