छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु…
शिशिर योगीले यो गीत गाएको एक दशकभन्दा बढी भयो । गीत खुबै चर्चित भयो । उनको ‘एउटा मानिसको खोज’ लाई धेरैले मन पराए । त्यो ‘एउटा मान्छे’ भनेको प्रकारान्तले ‘नायक’ कै खोज हो ।
एउटा नायक कतैबाट फुत्त आओस् र देश बनाओस् । नागरिकका दु:ख, पीडा हरोस् । कुशासन र भ्रष्टाचार अन्त्य गरोस् ।
रचनाकारले कुन मनोदशामा यस्तो गीत लेखे, बुझ्न गाह्रो छैन । देशले असल नेतृत्व नपाएको गुनासो आजको मात्र हैन । यो गुनासो गीतभन्दा दशकौं पुरानो हो । तर, त्यस्तो नायक अहिलेसम्म कोही कतैबाट निस्केको छैन ।
देशमा धेरै मानिस अझै ‘हिरोइज्म’ मा विश्वास गर्दछन् । विश्वास नै नभए आशा गर्दछन् । ‘एउटा मानिस’ अर्थात् ‘नायक’ खोजेर देशले असल नेतृत्व पाउँछ भन्ने बुझाइ आफैँमा कति सत्य हो ?
कला, साहित्य र सिनेमामा व्यक्तिलाई नायक बनाउनु स्वाभाविक हो । नायक र नायककत्व बिना यी विधाको रचना हुँदैन । तर, के वास्तविक जीवनमा त्यस्तो नायक पाइन्छ, जो सर्वगुण सम्पन्न हुन्छ । पाइन्छ भने अहिलेसम्म खै किन पाइएन ?
शिशिर योगीले गाएको यो गीतमा उनी ‘एउटा मानिस खोजिरहेका’ मात्र छैनन्, कतै पाइयो कि भनेर प्रश्नसमेत सोधिरहेका छन् । जस्तो कि उनी भन्छन्–
भेटे कोही बताए हे राष्ट्रका बटुही
रक्षार्थ जन्मिएका छन् कि सपूत कोही
यो प्रश्न ख्याल राखे सबलाई सोधिरहेछु…
योगीले यो प्रश्नको उत्तर पाए होलान् ? यो दशकमा जो उनी सोधिरहेका छन् । गाह्रो छ । सायद उनले ‘खोजेको मान्छे भेटिएको सूचना’ कसैले दिएको छैन ।
खण्डित नायकत्व
देशको इतिहासमा समय-समय नायकत्वको विम्ब निर्माण नै भएको वा नहुने हैन । जनान्दोलन २०६२-०६३ यता मात्र केही ‘नायक निर्माण’ भएका थिए ।
जस्तो कि शान्ति प्रक्रिया र गणतन्त्रको सहजीकरणको समयमा गिरिजाप्रसाइ कोइराला नायकजस्तै थिए । उनलाई ‘शिखर पुरुष’ भन्न थालिएको थियो । जब पहिलो संविधानसभाको चुनाव भयो, माओवादी पहिलो पार्टी भएर आयो, कोइरालाको नायकत्व खण्डित भयो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ नायक भएर देखा परे ।
दशक लामो सशस्त्र सङ्घर्षबाट १२ बुँदे सम्झौता, जनान्दोलन २०६२-०६३, बृहत् शान्ति सम्झौता हुँदै संविधान सभामा जननिर्वाचित पहिलो दल र प्रधानमन्त्री हुन पुगेका प्रचण्डको नायकत्व सानो थिएन ।
उनले इमान्दारिताका साथ गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपति बनाएको, आफ्नै नेतृत्वको सरकार हुँदा पहिलो संविधानसभाबाटै संविधान निर्माण गरेको र लामो समय सरकार चलाएर जनमुखी काम गरेको भए प्रचण्ड नायकत्वको इतिहास अहिलेको भन्दा धेरै फरक हुन सक्दथ्यो ।
तर, प्रचण्ड नेतृत्वको ९ महिने सरकारको अन्त्यसँगै नायकत्वको तस्वीर धमिलो हुन थाल्यो, त्यो क्रम अझै रोकिएको छैन । दोस्रो संविधानसभाको चुनावसम्म पुग्दा उनी ‘नायक’ कम र ‘खलनायक’ बढी जस्ता बढी देखिन थालेका थिए ।
२०६३ को मधेस जनविद्रोहले उपेन्द्र यादवलाई एक अर्को नायक बनाएको थियो । उनलाई ‘सङ्घीयताका पिता’ र ‘मधेसका मसिहा’ भन्न थालिएको थियो । आज उनी निरन्तर किनारीकृत हुँदै गएका सामान्य राजनीतिक कार्यकर्ताजस्तो लाग्दछन् । राजनीतिक अस्तित्व सङ्कटको पीडा झेलिरहेका छन् ।
पहिलोपटक उपप्रधामन्त्री तथा अर्थमन्त्री हुँदा डा. बाबुराम भट्टराई नायकजस्तै देखिएका थिए । उनी पार्टी र माओवादी आन्दोलनभित्र भन्दा बाहिर असाध्यै लोकप्रिय थिए । माओवादी इतरले समेत ‘बाबुरामलाई काम गर्न देऊ’ भनेर नारा लगाइरहेका हुन्थे । डा. भट्टराई नेपालका लागि डा. महाथिर मोहम्मद र ली क्वान यु जस्तो हुन सक्नेछन् भन्ने विश्वास त्यो बेला बलियो थियो ।
तर, उनी प्रधानमन्त्री बन्ने बेलासम्म स्थिति बिग्रिन थालिसकेको थियो । सम्भवत: अर्थमन्त्री हुँदाको लोकप्रियताको जगमा उनले माओवादी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउन चाहे । तर, केही वर्षभित्र उनको लोकप्रियता यति धेरै घट्यो कि उनको नयाँ शक्ति पार्टीले देशभरिबाट १ लाख भोट पनि पाएन ।
२०७२ को संविधान जारी गर्दा बखतको जटिलता र अघोषित नाकाबन्दीले केही समय एमाले अध्यक्ष केपी ओली नायक जस्तो भएर उदाए । वामपन्थी गठबन्धन, विशाल नेकपा (नेकपा) को निर्माण र झन्डै दुईतिहाइको कम्युनिष्ट सरकारको प्रारम्भिक दिनमा ओली साँच्चै ‘राजनेता’ जस्तो देखिएका थिए । उनका विरोधीले समेत ओलीमा ‘नेतृत्वको खुबी देखियो’ भनेर प्रशंसा गर्थे ।
तर, त्यसपछिका दिनमा उनको लोकप्रियता यसरी घट्यो कि दुईतिहाइ बहुमतको सरकार पतन भयो । नेकपा (नेकपा) विघटन भयो । एमाले तीन टुक्रा भएर फुट्यो । दुईदुई पटकको असंवैधानिक संसद् विघटनपछि उनी बदनाम भए । २०७४ बाट २०७९ को चुनावमा पुग्दा एमालेको भोट उल्लेखनीय मात्रामा करिब ७ प्रतिशतले घट्यो ।
लोकप्रियताको भ्रम
उपरोक्त उदाहरणबाट के पुष्टि हुन्छ भने स्थिर नायक इतिहासको सहज तथा सम्भव प्रक्रिया हैन । देशमा शिशिर योगीले खोजेजस्तो एउटा मान्छे नभेटिएका हैनन् । तर, तिनको नायकत्वको प्रतिविम्ब बन्दै भत्किँदै गरेको छ । स्थिर छैन ।
यसले के प्रमाणित गर्दछ भने व्यक्तिको नायकत्वका लागि व्यक्तिभन्दा बढी परिस्थिति जिम्मेवार हुन्छ । कुनै एक समय र स्थितिको नायक अर्को समयमा खण्डित वा विघटित भइसकेको हुन्छ । कुनै एक समयको नायक अर्को समयमा खलनायक हुन सक्दछ ।
नायक खोजेर पाइने कुरा हैन । त्यो आकासबाट झरेर, धर्ती फाटेर वा कतैबाट फुत्त निस्कँदैन । लोकप्रियता एक भ्रम हो, त्यो क्षणिक हुन्छ । निरन्तर लोकप्रिय रहन सक्ने व्यक्तित्व संसारमै दुर्लभ हुन्छन् । कुनै खास कारणले कुनै समयमा निर्मित कुनै व्यक्तिको लोकप्रियता बढीमा एक डेढ दशक रहन सक्दछ । त्यसैपछि शिथिल र कमजोर भएर जान्छ ।
यो स्वाभाविक प्रक्रिया हो । तर, कतिपय व्यक्तिमा लोकप्रियताको भ्रम अलोकप्रिय भइसक्दा पनि कायमै हुन्छ । कुनै एक समयको परिवेश सम्झेर ‘लोकप्रिय छु’ भन्ने भ्रम पाल्यो भने व्यक्तिले अनेक गल्ती गर्न पुग्दछ । ‘हिरो’ बाट ‘जिरो’ भइसकेको पत्तै पाउँदैनन् ।
हिरो बन्ने असफल प्रयास
यसबीच केही नयाँ व्यक्तिले राजनीतिमा हिरो बन्ने प्रयत्न गरे । तिनैमध्ये एक थिए– रवीन्द्र मिश्र । बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रममा नेताहरुलाई चोटिला प्रश्न सोधेर उनी स्रोतामाझ लोकप्रिय थिए । पत्रकारिताको लोकप्रियतालाई उनले राजनीतिमा प्रयोग गर्न चाहे ।
एक हदसम्म त्यसले राम्रै परिणाम दियो । विवेकशील साझा पार्टीलाई पहिलो चुनावमै पाँचौँ ठूलो दल बनायो । तर, दोस्रो चुनावसम्म पुग्दा देशभरिबाट ५ हजार भोट नकटाउने भयो । उनी ‘मार्ग परिवर्तन र विचारभन्दा माथि देश’ भन्दै राप्रपातिर हाम फाले ।
रवीन्द्र मिश्रजस्तै रवि लामिछानेको लोकप्रियताका सीमा पनि विस्तारै अनावृत हुँदैछन् । उनलाई पनि आफ्नो टिभी प्रस्तोता छवि र नायकत्वमा खुबै विश्वास थियो । कारण अनेक थिए होलान् । तर, नयाँ राजनीतिक दल निर्माण गर्ने क्रममा रविले जस्तो ठूलो सफलता देशको इतिहासमा अहिलेसम्म कसैले पाएको थिएन ।
अहिले रवि चरम नैतिक तथा राजनीतिक सङ्कटबाट गुज्रिरहेका छन् । दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, स्वार्थ–बाझन हुनेगरी दुईदुई पटक सरकारमा संलग्नता, सहकारी ठगी, सञ्चारमाध्यममाथिको गालीगलौच र कैलास सिरोहियामाथि प्रतिशोध प्रकरणपछि उनको लोकप्रियताको निरन्तर ओरालो लागिरहेको छ ।
यो यथार्थ इलाम उपनिर्वाचनको नतिजाबाट प्रष्टियो । इलाम उपनिर्वाचन परिणाममा उनको दल कमजोर चौथो स्थानमा सीमित भयो ।
मिश्र र लामिछानेको बरु पत्रकारिताबाट कमाएको केही लोकप्रियता थियो । तर, काठमाडौंका मेयर बालेन्द्र शाह एक औसत लोकप्रियता भएका ‘र्यापर’ थिए । उनी ‘डिजिटल जादुगर’ जस्तो गरी उदाए । अहिले कतिपयले ‘बालेन शाह’ देशको नयाँ हिरो हुन सक्ने सम्भावनाबारे चर्चा गरेको सुनिन्छ । तर, उनको लोकप्रियताको जादुगरी कहिले र कतिसम्म चल्छ र कसरी अन्त्य हुन्छ, हेर्न बाँकी नै छ ।
नायक कि संस्था ?
नायकत्वको रहरले यदाकदा संस्थाकै पतन गराइदिन सक्दछ । नरहे बाँस, नरहे बाँसुरी । उदाहरणका लागि ज्ञानेन्द्र शाह । नारायणहिटी दरबार हत्याकाण्डपछि कागतालीले दोस्रोपटक राजा भएका शाहले आफू दाजु वीरेन्द्रजस्तो ‘टुलुटुलु हेर्ने राजा नहुने’ उद्घोष गर्दै नयाँ नायक हुने अभ्यास के गर्न खोजे २४० वर्ष लामो राजसंस्था नै समाप्त भयो ।
यदि उनले आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा हैन, संस्थाको हित सोचेका भए राजसंस्था नजान सक्थ्यो । संसारमा आज जति पनि मुलुकले प्रगति गरेका छन्, कुनै खास व्यक्तिको नायकत्वबाट हैन, संस्थागत विकास र प्रक्रियाबाट गरेका छन् । अझ लोकतन्त्रमा ‘नायकको खोजी’ आफैँमा दुर्भाग्य हो ।
नायकले कथा, महाकाव्य, उपन्यासको सृजनामा योगदान गर्लान् । इतिहास बन्ला तर, त्यस्ता इतिहासमा सङ्गति र सन्तुलन हुन्छ भन्ने विश्वास गर्न सकिन्न ।
हिटलर एक नायक थिए, उनले इतिहास पनि रचे तर, के त्यो सङ्गतिपूर्ण इतिहास थियो ? मुसोलिनी नायक थिए, उनले इतिहास रचे । त्यस्तो इतिहास कतिलाई चाहिएको थियो ?
इतिहास रच्ने आकाङ्क्षाले पनि कथित नायकहरुलाई अलोकतन्त्र र अमानवीयतातिर लैजान सक्दछ । जंगबहादुर राणा, महेन्द्र शाह के साना नायक थिए ? कम इतिहास रचे ? तर, त्यस्तो नायकत्व र इतिहासले देश र मानव सभ्यतालाई अघि बढायो कि पछाडि धकेल्यो ?
नायकका सीमा
नायकका सीमा मूलतः मान्छेकै सीमा हुन् । नायक फलामको मान्छे हुँदैन । हाडछाला मासुकै मान्छे हुन्छ । नायक आफैँ जन्मिएको हुँदैन । मातापिताको सम्भोग र आमाको कोखबाटै जन्मेको हुन्छ । नायकको पनि बाल्यकाल हुन्छ । परिवार हुन्छ । समाज हुन्छ । परिवेश हुन्छ ।
निजी दु:ख, कुण्ठा, पीडा, ईर्ष्या, लोभ, मोह र स्वार्थ हुन्छन् । अनि नायक सधैँ कसरी नायक रहन्छन् ?
हरेक मान्छे नियतिले जेलिएको हुन्छ, अनि कहाँबाट जन्मिन्छ उदात्त, धिरोदात्त नायक ? कहाँ पाइन्छ नियति मुक्त मान्छे ?
खासमा नायक हुनु एक छोटो समयको ऐतिहासिक भूमिका गर्नु हो । आफ्नो भागको ‘रोल’ गर्नु हो । कलाकार जतिसुकै लोकप्रिय र असल अभिनयकर्ता किन नहोस्, ऊ आफ्नो भूमिकाभरि मात्र रङ्गमञ्चमा रहनुपर्दछ ।
पूरै नाटक वा स्टेज ‘मेरो हो’ भनेर कसैले ठान्छ भने त्यो आफैँ बेबकुफ सावित हुन्छ । यही कारण हो कि लोकतान्त्रिक समाज र मुलुकमा कुनै एक व्यक्तिले लामो समय नेतृत्व लिँदैनन् । अमेरिकी राष्ट्रपति ८ वर्षको दुई कार्यकाल पूरा गरेर रिटायर्ड हुन्छन् ।
देशमा नायक नजन्मेका हैनन् तर, तिनको ‘सदावहार नायक’ बन्ने प्रयत्न असफल भएको हो ।
समस्या के हो ?
नेपालको समस्या नायक नजन्मनु, नहुनु वा नपाइनु हैन । नायक त थिए नै बेलाबेला । तर, तिनले आफूलाई सदावहार नायक बनाउन खोजे अनि आफैँ चिप्लिए ।
नेपालको खास समस्या लोकतान्त्रिक संस्कृति र संस्थागत प्रक्रिया नहुनु हो । लोकतान्त्रिक आचरण र मूल्यमान्यता नहुनु हो । नायक नहुनु हैन । अझ अर्को शब्दमा भन्दा ज्ञानेन्द्र शाहजस्ता संस्था डुबाउने नायकहरु धेर भएर देश बिग्रेको हो ।
प्रचण्डको नायकत्वको मनोरोगले पनि त्यही भयो, माओवादी संस्था डुबायो । ओलीको नायकत्वले एमाले संस्था कमजोर बनायो ।
इतिहासको नायक र जीवनकालको वास्तविक नायकबीच पनि विरोधाभास हुन्छ । जीवनकालका वास्तविक नायक इतिहासका ‘विचरा अगाभी’ हुन सक्छ भने जीवनकाल का ‘विचरा अभागी’ इतिहासका नायक हुन सक्दछन् ।
जस्तो कि महेन्द्र शाह जीवनकालका नायक र बीपी कोइराला ‘विचरा अभागी’ थिए । आज उल्टो भएको छ । आजका मान्छेको आँखामा बीपी कोइराला नायक जस्तो लाग्दछन् र महेन्द्र शाह विचरा अभागी ।
मानव समाजमा नायकत्वको एउटै मात्र आधार छ, त्यो हो– निरन्तर सत्यनिष्ठा र नैतिक प्रतिरोध । मान्छेको एकबारको जुनी सङ्घर्ष गर्दागर्दै समाप्त हुन्छ ।
चाहेजस्तो देश र समाज आजसम्म कसैले बनाउन सकेन अब कसले सक्ला ? इतिहासले कुनै मान्छेले कस्तो देश र समाज बनायो वा बनाएन भनेर मूल्याङ्कन गर्दैन । ऊ कस्तो समाज र देश बनाउन चाहन्थ्यो भन्ने मात्र हिसाब गर्दछ ।
नायकत्वः प्रियतावादको आधार
आज राजनीतिमा प्रियतावादको जुन समस्या हुन्छ, त्यसको आधार यही नायक खोज्ने प्रवृत्ति हो । ‘डेमोक्रेसी’ र ‘डेमागगी’ बिल्कुल फरक कुरा हुन् ।डेमोक्रेसीले संस्था, संस्थागत प्रक्रिया, मूल्यमान्यता, संस्कृति र प्रणालीको निरन्तर अविछिन्न उत्तराधिकार माग गर्दछ ।
‘डेमागगी’ ले नायक खोज्छ, नायकको जन्मका लागि लोकतन्त्र हैन । प्रियतावाद जरुरी पर्दछ । तसर्थ, देश बनाउने हो भने संस्था बनाउँ, नायक नखोजौँ । जति खोजे पनि नायक भेटिनेवाला छैन । देश बनाउन कोही ‘हिरो’ आउँदैन ।
Facebook Comment
Comment