एसडी मुनीको नजरमा नेपालमा अस्थिरताका तीन कारण

मुख्य कारण- पदलोलुप नेता

चीनको उदय पनि नेपालमा राजनीति अस्थिरताको एउटा कारण हो । चीन पहिलो जस्तो थियो, अब त्यस्तो रहेन । चीन अब धेरै शक्तिशाली छ । चीन आर्थिक दृष्टिकोणबाट नेपालमा आउन चाहन्छ । नेपालमा मात्र हैन, दक्षिण एशियामै आउन चाहन्छ ।

नेपालभ्युज

एसडी मुनीको नजरमा नेपालमा अस्थिरताका तीन कारण

भारतीय प्राध्यापक एसडी मुनीले नेपालको पछिल्लो सत्ता परिर्वतनबारे प्रतिक्रिया दिँदै भनेका छन् कि नेपालमा राजनीतिक अस्थिरताको मुख्य कारण ठूला नेताहरूको पदलोलुपता हो । नेपालमा तीनवटै ठूला नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली र शेरबहादुर देउवा पदलोलुप छन् ।

उनी नेपाल मामिलाका विज्ञसमेत मानिन्छन् । आफ्ना अभिव्यक्तिका कारण उनी बेलाबेला नेपालमा चर्चाका पात्र बनिरहन्छन् । उनले नेपालमा राजनीतिक अस्थिरता नेपाल-भारत सम्बन्ध लागिसमेत समस्या भएको चर्चा गरेका छन् ।

उनले भनेका छन्, “यी सबै नेता सत्तासङ्घर्षमा फसेका छन्, जसलाई यो लाग्छ कि भारत उसलाई मद्दत गर्दछ । ऊ भारतको साथमा हुन्छ । जसलाई लाग्छ कि उसलाई भारतको मद्दत मिलिरहेको छैन । ऊ भारतविरुद्ध जान्छ । देउवाले पनि यही गरेका हुन्, यही गर्छन् । ओलीले पनि यही गरेका हुन्, यही गर्छन् र प्रचण्डले पनि यही गरेका हुन्, यही गर्छन् ।”

उनको थप प्रतिक्रिया छ, “जसलाई लाग्छ कि उसलाई सत्तामा बसिरहन भारतले सहयोग गरिरहेको छ, उसले भारतले भनेको काम गर्दछ । यसमा कुनै दुई मत छैन । यो एक ‘पावर-सेन्ट्रिक रिलेसनसीप’ हो ।”

प्रस्तुत छ, प्राध्यापक मुनीले ‘रेड ओभर ग्रीन’ च्यानललाई दिएको अन्तर्वार्तामा व्यक्त विचारको सारसंक्षेप ।

***

नेपालमा राजनीतिक अस्थिरता नयाँ कुुरा हैन । यो सन् २०१५ को नयाँ संविधानपछि वा सन् २००८ को क्रान्तिपछि देखिएको हैन । राजतन्त्रको पालमा पनि यस्तै थियो । नेपालमा आजसम्म कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको कार्यकाल पूरा गरेको छैनन् । नेपालमा राजनीतिक अस्थिरता धेरै पुरानो हो ।

भारतले नेपालको कुनै पनि राजनीतिक आन्दोलनलाई सहयोग गरेको हैन । योचाहिँ सत्य हो कि माओवादीलाई लोकतान्त्रिक मूलधारमा ल्याउन भने सहयोग गरेको हो । उनीहरू, जसलाई १२ बुँदे सम्झौता भन्दछन्, त्यो भारतमै भएको हो । उनीहरू पनि यही चाहन्थे ।

नेपालमा राजनीतिक अस्थिरताका मुख्य तीन वटा कारण छन् ।

पहिलो— नेपालका सबै नेता पदलोलुप छन् । सधैँ सत्तासङ्घर्षमै फसिरहन्छन् । सत्तामा बसिरहन चाहन्छन् । तीन ठूला नेता प्रचण्ड, ओली र देउवा मात्र होइन, अरु पनि धेरै पार्टी छन्, नेता छन् तर, सबका सब पदलोलुप छन् । जुन समीकरणले उनीहरूलाई सत्तामा पुर्‍याउँछ, उनीहरू त्यो समीकरणमा जान्छन् । जुन समीकरणले उनीहरूलाई सत्ताको फाइदा दिँदैन, त्यसलाई छाडिहाल्छन् । तसर्थ नेपालमा अस्थिरताको मुख्य कारण नेतृत्वमा भएको सत्तालोलुपता हो ।

तर, नेपालको लोकतान्त्रिक अभ्यास धेरै लामो छैन । तसर्थ, भविष्यमा राम्रो हुँदै जाला भनेर आशा गर्नुपर्ने हुन्छ ।

दोस्रो— नेपाल-भारत सम्बन्ध हो । नेपालका सबै राजनीतिक दल र नेता सत्तामा बस्न भारतको सहयोग र समर्थन चाहन्छन् । जसले भारतको समर्थन पाउँदैनन्, सत्तामा आउन पाउँदैनन् । ती भारतविरुद्ध गइहाल्छन् । नेताले मात्र हैन, राजाले पनि धेरैपटक यही गरेका थिए । अरु नेताहरू ओलीलगातका त यही गर्छन् ।

नेपालको आन्तरिक राजनीतिक कारण भारतसँगको सम्बन्धमा परिलक्षित भइदिन्छ ।

नेपाल-भारत सम्बन्धमा अन्य कारण पनि छन् । नेपालको पहिचानको प्रश्न छ । नेपाल र भारतबीच थुप्रै समानता छन् । हामी सामान्यतः नेपाल-भारत उस्तै हुन् भनिदिन्छौँ । तर, यो आम नेपालीलाई मन पर्दैन । उनीहरू आफूलाई भिन्नै ठान्दछन् । एक सार्वभौम देश ठान्दछन् । उनीहरू चाहन्छन् कि नेपालको फरक पहिचान बनोस्, होस् ।

नेपालमा पनि धेरै हिन्दू छन् । अर्थतन्त्र धेरै मात्रामा भारतमा निर्भर छ । भौगोलिक रूपमा जोडिएको छ । यो निर्भरता र ‘प्रोक्सिमिटी’ ले पनि मान्छेलाई हैरान बनाउँछ । भारतले नेपालको संविधान जारी गर्दा बखत लगाएको नाकाबन्दीलाई ‘धम्कीको कूटनीति’ (कोएर्सिभ डिप्लोमेसी) भन्न सकिन्छ । नाकाबन्दीबाट नेपालका प्रत्येक मान्छेले कठिनाइको सामना गर्नुपर्‍यो । किनकि औधषि, पेट्रोल, खाद्य सामान रोकियो । पूरै नरोकिए पनि सीमित र सङ्कट भयो । स्कूल बस चल्न नपाएर करिब ५ महिना बच्चा स्कूल जान पाएनन् ।

यी कारणले नेपाली भारतसँग धेरै रिसाए । उनीहरूलाई ठूलो ठेस लाग्यो । भारतले नेपालमा कहिलेकाहीँ अनावश्यक हस्तक्षेप गर्न खोज्दछ, त्यो पनि ठूलो समस्या भइदिन्छ ।

तीन— चीनको उदय । चीनको उदय पनि नेपालमा राजनीति अस्थिरताको एउटा कारण हो । चीन पहिलो जस्तो थियो, अब त्यस्तो रहेन । चीन अब धेरै शक्तिशाली छ । चीन आर्थिक दृष्टिकोणबाट नेपालमा आउन चाहन्छ । नेपालमा मात्र हैन, दक्षिण एशियामै आउन चाहन्छ ।

यसो गर्नुमा चीनका आफ्नै कारण छन् । तर, हामी यो चाहँदैनौँ कि नेपालजस्तो संवेदनशील देश चीनतिर जाओस् । जब नेपाल चीनको नजिक जान्छ, हामीलाई आफ्नो सुरक्षामा चुनौती भएको लाग्दछ ।

चीनको जुन आर्थिक क्षमता छ, त्यो भारतसँग छैन । चीनको सैन्यशक्ति पनि धेरै बलियो छ । चीन नेपालमा बीआरआईमार्फत अर्बौँ डलर खर्च गर्न तयार छ । चीनको उदयको कारणले नेपाल-भारत सम्बन्ध बिगार्ने प्रयत्न गर्दछ ।
ओलीको पालमा सन् २०१७ मा बीआरआई सम्झौता भयो । ओलीकै पालमा सन् २०१९ मा राष्ट्रपति सी नेपाल आए । त्यसपछि नेपालमा यो भन्न थालियो कि हामी ऋण लिन र तिर्न सक्दैनौँ । सक्छौ अनुदान देऊ, नभए ठीकै छ ।

यही कारणले अहिलेसम्म बीआरआई कार्यान्वयन सम्झौता हुन सकेको छैन । भर्खरै पनि चिनियाँ उच्चस्तरको प्रतिनिधिमण्डल नेपाल भ्रमण आएको थियो । तर,बीआरआई कार्यान्वयन सम्झौता हुन सकेन । हुन सक्दछ, यसकारण पनि प्रचण्ड सरकारमा तानातानी र कुनै समस्या भयो कि !

यति हुँदैहुँदै पनि नेपालमा अस्थिरताको मुख्य कारण भने आन्तरिक राजनीतिक स्वार्थ नै हो । पदलोलुप नेताहरू नै हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved