ओलीले रावलको नम्बरमा कहिले डायल गर्छन् र के भन्छन्, हेर्न बाँकी छ । तर, रावल यतिकै पार्टी छाड्ने पक्षमा भने देखिँदैनन् । त्यसैले अहिले पनि उनी पुरानै जवाफ दिन बाध्य छन्- पार्टीमै छु, कार्यकर्ताकै बीचमा छु ।
काठमाडौं । सौराहा (दशौं) महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेपछि भीम रावल पार्टीमा किनारमा धकेलिए । अवस्था यस्तो बन्यो कि त्यसको ठीक एक वर्षपछि भएको संसदीय निर्वाचनमा उनले टिकटसमेत पाएनन् ।
जबकि उनको प्रदेश र जिल्ला कमिटीले रावलकै नाममा टिकट आओस् भन्ने चाहेको थियो तर, त्यसो भएन । त्यसको सीधा प्रभाव सुदूरपश्चिममा देखियो । पहिले १५ सिट जितेको एमाले त्यसपछि २ सिटमा खुम्चिनुपर्यो । खैर, यस लेखका लागि यो प्रमुख विषय होइन । यहाँ अहिले रावल के गरिरहेका/सोचिरहेका छन् र अब के गर्छन् भन्ने विषय प्रमुख हो । यतैतिर ध्यान दिउँ ।
***
रावल गृहप्रदेश/जिल्ला गइरहन्छन् । आफूनिकटका नेता/कार्यकर्तालाई भेटिरहन्छन् । र, उनीहरूका सुझाव/सल्लाह सुनिरहन्छन् । उनले भर्खरै मात्रै यसकै एउटा शृङ्खला पूरा गरेका छन् । धादिङ हुँदै अछामसम्म पुगेर पुन: एकपटक आफूनिकटका नेता/कार्यकर्तासँग संवाद गरेका उनी अहिले काठमाडौं फर्किएका छन् ।
उनलाई धादिङदेखि अछामसम्मका नेता/कार्यकर्ताले मिश्रित सुझाव दिएका छन् । त्यसमध्ये धेरैले पार्टी नछाड्न भनेका छन् । त्यसैले रावल अहिल्यै कुनै गतिविधि गरिहाल्ने मनस्थितिमा छैनन् । “अहिले नेता/कार्यकर्तासँगको संवादमा छु, पार्टीमै छु । कुनै गतिविधि गरिहाल्ने मनस्थितिमा छैन,”रावलले नेपालभ्युजसँग भने ।
त्यसो त सौराहामा ओलीसँग अध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय सदस्य नकारेका रावल पार्टीमा फरक भूमिका खोजिरहन्छन् । उनी चाहन्छन् कि त्यो भूमिकाले पद प्राप्तिका लागि होइन, देश र जनताका लागि काम गरोस् । तर, पार्टीले उनलाई सल्लाहकार परिषद् सदस्यभन्दा अर्को पद कहिल्यै दिएन, कार्यकारी वा केही गर्न सकिने पदमा राखेन । उनी फरक भूमिका चाहन्थे ।
अध्यक्षमा पराजित भएपछि पनि उनले यो आवाजलाई एकपटक ठूलो बनाए । तर, पार्टीले सुनेन । त्यसपछि उनी आफूसँग भएको जनमतलाई छुट्टै पार्टीका रूपमा अगाडि बढाउने निर्णयमा पुगिसकेका थिए ।
तर, त्यो थाहा पाएपछि ओलीले रावलसँग संवाद गर्न पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा एउटा संवाद कार्यदल बनाए । त्यसमा लेखराज भट्ट र कर्ण थापा सदस्य थिए ।
कार्यदलको संवादपछि २०८० साउन ३० गते वान् अन वान् संवादमा बसेका ओली-रावल ।
उनीनिकट एक नेता भन्छन्, “कतिपय नेता/कार्यकर्ताले छुट्टै पार्टीका रूपमा अगाडि बढ्नसमेत सल्लाह दिनुभएको थियो । उहाँ (भीम रावल) त्यसैगरी अगाडि बढ्ने निर्णयमा समेत पुगिसक्नुभएको थियो । तर, एमालेले संवाद कार्यदल बनाएपछि उहाँ पनि रोकिनुभयो । फेरि एमालेमा उहाँको योगदान कमचाहिँ छैन ।”
ती नेताको थप व्याख्या छ कि यदि त्यसबेला ओलीले कार्यदल बनाएर नभुल्याएको भए यतिबेला रावलले नयाँ पार्टी घोषणा गरिसकेका हुन्थे । तर, त्यसबेला रोकिएपछि रावल अहिले यथाशक्य एमालेलाई नै सम्हालेर, परिमार्जन गरेर लाने मनसायमा छन् । ती नेता थप्छन्, “तर, त्यसमा केही बिग्रिहालेको भन्ने उहाँको बुझाइ छैन । एमाले छाडिहाल्ने मनस्थितिमा अहिलेचाहिँ हुनुहुन्न ।”
पौडेल संयोजकत्वको कार्यदलले रावलसँग एक चरण संवादसमेत गरेको हो । त्यस संवादमा रावलले अध्यक्ष ओलीसँगै बस्ने मनसाय व्यक्त गरेपछि आफूहरूले भेटाइदिएको बताउँछन् कार्यदल सदस्य लेखराज भट्ट । “त्यहाँ उहाँहरूबीच के-कस्तो कुरा भयो । त्यसपछि फेरि बसेका छैनौँ,” भट्टले भने ।
त्यसअनुरूप ओली र रावलबीच २०८० साउन ३० गते पार्टी मुख्यालय च्यासलमा दुई घण्टा लामो वार्ता भयो तर, कुरा मिलेन । त्यहाँ रावललाई ओलीले उपाध्यक्ष बन्न सुझाव दिएको तर, रावलले ‘उपाध्यक्षका लागि मैले भूमिकाको कुरा उठाएको होइन’ भन्दै बाहिरिएको कुरा बाहिर आयो ।
रावलका अनुसार आफू बाहिरिनुअघि ओलीले ‘तपाईंलाई के भूमिका दिने भन्नेबारे पार्टीमा छलफल गरेर फोन गर्छु’ भनेका थिए । तर, अहिलेसम्म फोन नआएको रावल बताउँछन् । तर, फोन नै नआए पनि थप गतिविधि गरिहाल्ने मनस्थितिमा भने छैनन् रावल ।
उनीनिकटका ती नेता भन्छन्, “उहाँसँग भएको जनमत सुरक्षित छँदैछ । अहिलेलाई पर्ख र हेरकै अवस्था हो । साँचो अर्थमा भन्दा उहाँ ओलीकै फोनको प्रतीक्षामा हुनुहुन्छ । अब अध्यक्षले फोन गर्छु भनेपछि पर्खिनैपर्यो ।”
त्यसो त माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरू रावल चाँडै आफूहरूको पार्टीमा आउने बताउँछन् । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडा नेपालभ्युजसँग भन्छन्, “उहाँ (भीम रावल)सँग हामी चरणबद्ध र निरन्तर संवादमा छौँ, उहाँ अब चाँडै पार्टीमा आउनुहुन्छ ।”
तर, रावल भने अहिल्यै यताउता नगर्ने सोचमा छैनन् । रावललाई उद्धृत गर्दै ती नेताले भने, “नयाँ पार्टी पनि खोलिनहाल्ने, एकीकृत समाजवादीमा पनि नजाने । अहिलेका लागि केही समय केही नगर्ने । फोन नै पर्खेर बस्ने ।”
प्रश्न र प्रतिस्पर्धाको वैपरीत्य
रावल पार्टीभित्र होस् या बाहिर; बोलिरहन्छन्/लेखिरहन्छन् । कतिपयले उनलाई ‘पार्टीभित्रका प्रतिपक्ष’ समेत भन्ने गरेका छन् । कारण, पार्टी नेतृत्वले नै गरेको गलत निर्णय किन नहोस्, विरोधमा उत्रिहाल्छन् ।
पार्टीले गर्ने विभिन्न निर्णय मात्रै होइन, पार्टीले विभिन्न प्रकरणमा लिएको अडानमा समेत उनी स्पष्ट बोल्छन् । यसअघि विवादित एमसीसी, जुन व्याख्यात्मक घोषणासहित पारित भयो । त्यसका सन्दर्भमा पनि उनले दह्रोगरी कुरा उठाएका थिए । उनले कुनै पनि हालतमा एमसीसी पारित हुन नहुने बताएका थिए, जतिबेला ओलीको पारा मध्यमार्गी थियो । उनी हुन्छ पनि भन्दैन थिए र हुन्न पनि भन्दैन थिए ।
रावलका लागि यो एक प्रतिनिधि घटना मात्रै हो, उनले यस्तै र यसैगरी धेरै कुरा उठाउँथे, उठाउँदैछन् र सम्भवत: उठाउनेछन् । र, त्यो पार्टी नेतृत्वका लागि नराम्रो सायदै हुन्छ । उनको यही प्रश्न र प्रतिस्पर्धा गर्ने बानी उनका लागि वैपरीत्य बन्यो ।
रावलनिकट ती नेताको दाबी छ, “अहिले पनि ओलीसँग प्रश्न र प्रतिस्पर्धा गर्नसक्ने नेता उहाँ मात्रै हो पार्टीमा । ओलीले उहाँ शक्तिमा हुँदा आफूलाई सेक्यूर फील गर्नुभएन । त्यसैले उहाँलाई किनाराकृत गर्नुभएको हो, प्रष्टै छ ।”
भीम रावल । तस्वीर : नेपालभ्युज/सरोज बस्नेत ।
जसै ओली ‘इगो’कै पर्याय हुन् । उनी स-सानो कुरामा इगो साँच्छन् । त्यसको प्रयोग र परपुष्टि उनले झापाका नरेश खरेलदेखि अछामका भीम रावलसम्ममा गरिसकेका छन् ।
झापाका खरेलले त पार्टी परित्याग गरिसकेका छन्, जसले ओलीभन्दा तीन वर्ष बढी १७ वर्ष कारागार जीवन बिताएका थिए । तर, अछामका रावल भने अझै झेल्ने मनस्थितिमै छन् । उनी ओलीकै फोन पर्खिरहेका छन् । ओलीको फोनले आफ्नो अबको बाटो निर्धारण गर्ने उनको भनाइ छ ।
ओलीले रावलको नम्बरमा कहिले डायल गर्छन् र के भन्छन्, हेर्न बाँकी छ । तर, रावल यतिकै पार्टी छाड्ने पक्षमा भने देखिँदैनन् । त्यसैले अहिले पनि उनी पुरानै जवाफ दिन बाध्य छन्- पार्टीमै छु, कार्यकर्ताकै बीचमा छु ।
जे होस्, यतिचाहिँ सत्य हो कि उनका लागि प्रश्न र प्रतिस्पर्धा वैरीसरह बन्यो, त्यसैले किनारमा पुर्यायो ।
Facebook Comment
Comment