आफ्नो घरमा महानगरले डोजर चलाएपछि ‘प्रतिशोध साँध्दै’ आयुक्तले खोलिन् मेयरविरुद्ध बन्द भइसकेको फाइल
छलफलमा मेयर चिरिबाबुले अमात्यका पतिलाई घरको जग्गाको पर्खाल रहेको जमिन आफ्नो रहेको प्रमाण पेस गर्न आग्रह गरे । उनले प्रमाण पेस गर्न सकेनन् । स्थानीयहरूले चर्को विरोध गर्दै झपारेर पठाए ।
काठमाडौं । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलायो । मेयर चिरिबाबु महर्जन आफैँ नगर प्रहरी लिएर वडा नं. १० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउन्ड र गेट भत्काउन गएका थिए ।
सरकारी जग्गा र सरस्वती मन्दिर छेउमा रहेको डा. अमात्यको घरको दक्षिणपट्टि बनाएको केही भागमा महानगरको डोजर चल्यो । अमात्यको घरको पर्खालको गेटसमेत ढल्यो ।
०००
भोलिपल्ट बिहीबार (आज) मेयर पुल्चोकस्थित आफ्नै कार्यकक्षमा थिए । अख्तियारको टोली पुल्चोकस्थित मेयर महर्जनको कार्यकक्षमा आइपुग्यो । मध्याह्न १२ बजेर ४४ मिनेटमा पुगेको अख्तियारको टोलीले मेयर महर्जनविरुद्ध उजुरी परेको भन्दै बयानको लागि भन्दै २ वटा पत्र थमायो ।
पहिलो पत्रमा उल्लेख छ— प्रेस संयोजक नियुक्तिको विषयमा बुझ्नुपर्ने भएकाले उपस्थित भइ अनुसन्धानमा सहयोग गरिदिनुहोला ।
अर्को पत्रमा लेखिएको छ— धापाखेलको पहिरो पीडितलाई आर्थिक सहयोग बाँडिएको उजुरीको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले उपस्थित भइ अनुसन्धानमा सहयोग गरिदिनुहोला ।
एउटा पत्र मङ्गलबार (असार १८) र अर्को पत्र बुधबार (असार १९) को मिति राखेर जारी भएको छ । अख्तियारले मेयर महर्जनलाई २६ र २८ असारमा बयान दिन आउनु भनी लेखिएको छ ।
०००
ललितपुर १० चाकुपाटमा हिमालय होटल पछाडि पर्ने भागमा सरस्वती मन्दिर छ । त्यसको छेवैमा अमात्यको घर कम्पाउन्ड छ ।
उनको घरको क्षेत्रफल १५ आना ३ दाम १ पैसा छ । त्यो उनीहरूको बङ्गला हो । त्यो बङ्गला अमात्यले बनाएको नभइ किनेकी हुन् । २०७८ असोज १ गते किनिएको ललितपुर मालपोत कार्यालयमा रेकर्ड छ । त्यो घर पहिला एक पूर्वडीएसपीको थियो । उनैले सरस्वती मन्दिर परिसरको सरकारी जग्गा अतिक्रमण गरेर बनाएको स्थानीयहरू बताउँछन् ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्य
घर अगाडि सरस्वतीको मन्दिर र खुला चौर छ । जुन सयौँ वर्षदेखि नेवार समुदायको कुल पूजा गर्ने र ठाउँ हो । केही दिनअघि त्यो ठाउँमा सङ्घीय सरकारअन्तर्गतको भवन विभागको टोली खन्न आयो । स्थानीयले चासो राखे । पार्क बनाउन निर्माणकर्ताले बताए ।
बजेट करिब ३८ लाख थियो । त्यो बजेट अमात्यकै निर्देशनमा पारिएको थियो । आफूहरूको संरक्षणमा रहेको सरकारी जग्गा खन्न थालेपछि स्थानीय आक्रोशित भए ।
कारण थियो, एक त मन्दिर रहेको ठाउँ, अर्को नेवार समुदायले कुल पूजा गर्ने सरकारी जग्गा । बलपूर्वक पार्क बनाउन खोजिएको भन्दै स्थानीयहरू अवरोधमा उत्रिए ।
अमात्यको चाहना पार्क बनाउने मात्रै नभइ घरको गेटसम्म सरकारी जग्गा मिचेर सिधा बाटो लैजाने थियो । अहिले महानगरले भत्काएको गेटमा जान सरकारी जग्गा नाघेपछि मात्र पुग्न सकिन्छ । उनको घरमा गाडी जान बाटो घुमाएर बायाँतिरबाट जानुपर्ने छ ।
पार्क बनाउने कुरामा महानगर पनि सहमत भएन । किनकि सार्वजनिक जग्गा बचाउनुपर्ने आवाज चर्काेसँग उठ्यो । अमात्यविरुद्ध सम्पदाको जग्गा मिचेको भन्दै २०८० माघ ५ गते ललितपुर महानगरपालिकामा उजुरी परिसकेको थियो । विविध कारणले महानगरले डोजर चलाएको थिएन ।
अख्तियार आयुक्त डा सुमित्रा अमात्यको ललितपुर महानगर १० मा चाकुपाटमा रहेको घर, जुन पर्खाल महानगरको भत्काएको थियो ।
स्थानीयले दबाब दिएपछि महानगरले स्थानीय र अमात्यलाई छलफलमा लागि बोलायो । त्यतिबेला अमात्यले आफ्ना श्रीमान् डा. दिवस अमात्यलाई छलफलमा पठाइन् । स्थानीय गुठियारहरू आफूहरूको कुल पूजा गर्ने जग्गा अतिक्रमण हुन लागेकोमा आक्रोशित थिए । अमात्यको घरको पर्खालले सरकारी जग्गा मिचिएको दाबी गर्दै भत्काउन माग गरे ।
महानगर १० का वडाध्यक्ष रविन बेञ्जनकार भन्छन्, “छलफलमा मेयर चिरिबाबुले अमात्यलाई घरको जग्गाको पर्खाल रहेको जमिन आफ्नो रहेको प्रमाण पेस गर्न आग्रह गरे । तर, उनले दाबी प्रमाण पेस गर्न सकेनन् । स्थानीयहरूले चर्को विरोध गर्दै अमात्यलाई झपारेर पठाए ।”
त्यसको केही दिनपछि बुधबार मेयर महर्जन आफैँ गएर जग्गा मिचेको ठाउँको पर्खाल भत्काए ।
०००
यसअघि ललितपुर महानगरपालिकाका काम कारबाहीबारे अख्तियारमा फाट्टफुट्ट उजुरी परिरहेका थिए । अख्तियारले औपचारिकताको लागि जवाफ माग्थ्यो । महानगरले पत्र पठाउँथ्यो । कुरो टुङ्गिन्थ्यो । थप अनुसन्धान अघि बढ्थेन । कैयौँ घटनामा उजुरीकर्ताहरू अख्तियारमा धर्ना बस्न जाँदासमेत छानबिन गर्न चासो दिइएको थिएन ।
तर, सार्वजनिक जग्गा मिचिएको त्यो विवादपछि अख्तियार आयुक्त अमात्य आफैँले चासो दिइन्, महानगरको उजुरीप्रति । एकातिर जग्गा मिचेको उजुरी, अर्कोतर्फ पार्क निर्माणमा अवरोध भएपछि अख्तियार आयुक्त अमात्य आक्रोश बढ्दो क्रममा थियो ।
अख्तियारका एक उच्च कर्मचारी भन्छन्, “अख्तियारले अमात्यलाई स्थानीय तहको अनियमितता हेर्ने जिम्मेवारी तोकेको छ । अब उहाँले स्थानीय तहका विषय हेर्नुहुन्छ । हिजो पर्खाल भत्काएलगत्तै उहाँले कार्यालयमा बैठक राखेर ललितपुर महानगरको उजुरी फाइल सबै एक ठाउँमा राखेर खोल्न निर्देशन दिनुभएको छ ।”
बिहीबार ललितपुर महानगरपालिकामा अख्तियारले लगेको पत्र पनि त्यही आधारमा भएको जनाइएको छ । अझै चार/पाँचवटा पत्र अख्तियारले तयार गरिरहेको स्रोतको दाबी छ ।
एक उच्च अधिकारीले भने, “पहिल्यै उजुरी परेको थियो । महानगरबाट जवाफ पनि आइसकेको थियो । अब त्यो फाइल बन्द भइसकेको थियो । अख्तियार कन्भिन्स भएर फाइल बन्द गरेका थियौँ । हिजो अचानक फेरि ब्युँताएर बयानको लागि पत्र काट्न भनियो ।”
सोही आधारमा अख्तियारले पहिरो पीडितलाई रकम बाँडेको, गैरकानूनी रूपमा प्रेस संयोजक नियुक्त गरेको भन्नेलगायतका उजुरीहरूमाथि छानबिन अघि बढाएको बताइन्छ ।
अमात्यको निर्देशनमा ललितपुर महानगरविरुद्ध अरू केही फाइलहरू बन्दै गरेको बताइएको छ । बन्द भइसकेको फाइल फेरि खुलेपछि प्रतिशोध साँधिएको महानगरको आशंका छ ।
आफूलाई असहयोग गरेको महसुस गरेकी आयुक्त अमात्यले व्यक्तिगत रूपमा रुचि देखाएको हुनसक्ने महानगरका मेयर महर्जनको आकलन छ ।
उनले नेपालभ्युजसँग भने, “सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व हाम्रो हो । स्थानीयको मागअनुसार जग्गा खाली गर्न गएको हुँ । तर, कागताली परेको हो कि ! उहाँको पर्खाल भत्काएको भोलिपल्टै अख्तियारले बयानको लागि बोलायो । अचम्ममा परेको छु । यदि यो बयानको पत्र हिजोभन्दा पहिला किन आएन ? वा केही दिनपछि किन आएन ?”
अहिले बयान दिन बोलाइएको घटनामा समेत नगरसभाबाट पारित योजना रहेको मेयर महर्जन बताउँछन् । उनी भन्छन्, “नगरसभाबाट पारित भएर पहिरो पीडितलाई सहयोग गरेका हौँ । पीडितको खातामा पैसा गइसकेको छ ।”
अख्तियार आयुक्त डा सुमित्रा अमात्यको चाकुपाटस्थित घरको कम्पाउन्ड अगाडि रहेको सरस्वतीको मन्दिर
महानगरपालिकाले रमा लुइँटेललाई प्रेस संयोजक र रुपकृष्ण कर्माचार्यलाई प्रेस सहजकर्ताको रूपमा नियुक्त गरेको थियो । अर्को उजुरी त्यसविरुद्ध छ । यसमा मेयर महर्जन भने स्थानीय तहका प्रमुखले सचिवालयमा नियुक्त गर्न पाउने तर्क राखेका छन् ।
उनी भन्छन्, “कतिपय वडाहरूले त सचिवालयमा सदस्य वा प्रेस सल्लाहकार राखेका छन् । यो त देशैभरका मानिसहरू बस्ने महानगर हो । प्रेस सल्लाहकार राख्न किन नपाइने ? नियनअनुसार राखेको हुँ ।”
संवैधानिक निकायका एउटा पदाधिकारीले जनप्रतिनिधिको मनोबल खस्काइएको १० नम्बर रविन बेञ्जनकारको तर्क छ ।
यता अख्तियारकी आयुक्त अमात्यलेले भने आफूले पाएअनुसानरको अधिकार प्रयोग गरेको दाबी गरेकी छिन् । उनीनिकट स्रोतले भन्यो, “ललितपुर महानगरमा जति अनियमितता अरू कतै भएको छैन । हामी आफैँले एक्सन लिएको होइन, उजुरी परेपछि मात्रै छानबिन थालेको हो । पहिले पनि छानबिन भएको थियो। अहिले पनि जारी छ । कतै पूर्वाग्रह भने कुरै छैन, पाएको जिम्मेवारी अनुसार काम भएको छ ।”
Facebook Comment
Comment