३ अर्ब ठगी मुद्दाका तेजविक्रम, जो नाम-ठेगाना फेरेर प्रहरीको नजरबाट काठमाडौंमै यसरी लुके एकवर्ष

केहीले तेजविक्रमलाई बाटोमा वा कतै होटलमा देखेको भन्दै प्रहरीलाई सूचना दिन्थे । उनी भएको भनिएको ठाउँका प्रहरी पुग्थ्यो । उनले आफू ‘राज ठकुरी’ भएको बताउँथे । प्रमाणको लागि देखाउँथे, आइडी कार्ड । ‘अर्कै मान्छे पो परेछ’ भन्दै प्रहरी फर्कन्थ्यो ।

३ अर्ब ठगी मुद्दाका तेजविक्रम, जो नाम-ठेगाना फेरेर प्रहरीको नजरबाट काठमाडौंमै यसरी लुके एकवर्ष

काठमाडौं । अपराध गरेको मान्छे सकेसम्म कानुनको नजरबाट भाग्ने प्रयास गर्छ । तर, राज्यमा कानुन कार्यान्वयन बलियो भयो भने जतिसुकै तिकडम गरे पनि अपराधीले भाग्न पाउँदैन ।

भाग्ने बाटो जतिसुकै लामो बनाए पनि एक दिन कारबाहीको दायरामा आएरै छाड्छ । यसैको गतिलो उदाहरण पछिल्लो समय नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रस्तुत गरेको छ ।

०००

करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए, कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजविक्रम थापा ।

ललितपुरमा बस्दै आएका उनको स्थायी घर तनहुँ थियो । तनहुँको ब्यास नगरपालिका–११ घर भएका उनी, श्रीमती सजना राजकर्णिकार र छोराछोरीसहित ललितपुरमा बस्थे ।

कृषि विकास बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यालय ललितपुर कुमारीपाटी थियो । तेजविक्रम अध्यक्ष र उनकी पत्नी सजना व्यवस्थापकको जिम्मेवारीमा थिए ।

उनीहरूले सहकारीमा जम्मा भएको रकम घरजग्गा व्यवसायमा लगानी गरे । कानुनविपरत विभिन्न निजी कम्पनीमा लगानी लगाए । बचतकर्तालाई फिर्ता दिन सकेनन् ।

आफूहरूको ९४ करोड २१ लाख ४२ हजार रुपैयाँ बचत फिर्ता नगरेको भन्दै सहकारीका ५६६ जना बचतकर्ताले गत भदौमा उनीहरुबिरुद्ध सामूहिक उजुरी दिए । मुद्दा थियो, बचतकर्ताको रकम अपचलन तथा ठगी । त्यसबाहेक अरू पनि मुद्दा थिए ।

सहकारीको रकम अपचलन भएको उजुरपछि सहकारी विभागले छानबिन थाल्यो । बचतकर्ताको रकम दुरुपयोग भएको र फिर्ता नभएको देखिएपछि सहकारी विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई २५ असोजमा पत्राचार गर्दै कारबाही गर्न भन्यो ।

झन्डै महिना दिन पछि सीआइबीले ललितपुर प्रहरीमा फाइल पठायो । सहकारीको कार्यालय ललितपुरमा थियो । यसैले सीआईबीले २६ मंसिरमा जिल्ला प्रहरी परिसर ललितपुरलाई अनुसन्धान अघि बढाउन पत्राचार गर्यो‍ ।

दुई साता लगाएर ललितपुर प्रहरी र काठमाडौं प्रहरीले संयुक्त रुपमा अनुसन्धान गर्‍यो । १९ पुस २०८० मा अध्यक्ष तेजविक्रम थापा, पत्नी सजनासहित १३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भयो ।

पक्राउ पूर्जीजारी हुनु अगाडिदेखि अध्यक्ष तेजविक्रम सम्पर्कमा थिएनन् । बचतकर्ताले खोजिरहेका थिए ।

उनी सम्पर्कमा नभएपछि भदौमा उजुरी सहकारी विभागमा उजुरी परेको थियो । सहकारी विभागले अध्यक्ष तेजविक्रमलगायतलाई सम्पर्कको प्रयास गर्यो‍ ।

सम्पर्क हुन नसकेपछि विभागले २५ असोज २०८० मा संस्थाका सञ्चालक र व्यवस्थापकको सम्पत्ति र बैंक खाता रोक्का गर्न राष्ट्रबैकमा पत्राचार गरेको थियो ।

पक्राउ परेका तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार र अरू २ जना

केही दिनपछि राष्ट्र बैंकले सम्पूर्ण अध्यक्ष तेजविक्रमसहित सञ्चालक र व्यवस्थापकको सम्पत्ति बैंक खाता रोक्का गरायो ।

केही कसुरको मुद्दा बिचाराधिन रहेको अध्यक्ष थापा सहकारी ठगीबाहेक तीनवटा मुद्दामा फरार थिए । परिसर काठमाडौंमै उनीविरुद्ध २३ साउन २०८० मा २६ लाख ६६ हजार ६६६ रुपैयाँको बैंकिङ कसुरको जाहेरी परेको थियो । उक्त मुद्दामा उनी लुकिरहेका थिए ।

२३ माघ २०८० मा जिल्ला प्रहरी परिसर ललितपुरमा अर्काे ९५ लाखको अर्काे मुद्दा परेको थियो । २४ वैशाख २०८१ मा परिसर ललितपुरमै ९५ लाखको अर्को जाहेरी परेको खुलेको छ ।

पक्राउबाट बच्न तेजविक्रम थापाबाट बने राज ठकुरी !

अध्यक्ष तेजविक्रम काठमाडौंमा २३ साउन २०८० मा २६ लाख ६६ हजारको बैंकिङ कसुरको जाहेरी पर्नुअघि फरार थिए । पक्राउ पुर्जी नै जारी भएपछि बच्न झनै मुस्किल भयो ।

उनी आफ्नो नाममा रहेको घरजग्गा र बैंक ब्यालेन्स बन्द हुने देखेर नामसारी गर्न सक्रिय बने । यसको लागि आइडिया निकाले ‘नाम ठेगाना र हुलिया फेर्ने ।

तर कसरी, उनकै अध्यक्षतामा २०७३ मा गोर्खा टेलिभिजन खोलिएको थियो । टीभी बन्द भइसकेको थियो । तर, उनले आफ्नो फोटो प्रयोग गरेर नाम र ठेगाना फेरेर आइडीकार्ड बनाए । अब तेजविक्रम ‘राज ठकुरी’ भने । ठेगाना पनि ‘नेपालगन्ज’ राखे ।

सहकारीको करोडौँ रकम आफ्नो नाममा राखेका थिए । यो रकम आफू निकटका मानिसकोमा नामसारी गराउन विभिन्न सरकारी कार्यालय धाउँथे ।

त्यहाँ उनको हुलिया पनि फरक हुन्थ्यो । चिन्नेहरू समेत झुक्किन्थे । कतिपयले ‘तपाईँ तेजविक्रमजी होइन ?’ भनेर सोध्थे । उनी आइडी कार्ड देखाएर तर्कन्थे, ‘होइन म त राज ठकुरी हुँ ।’

वास्तविक नाम तेजविक्रम थापा भए पनि उनी राज ठकुरीको नामबाट परिचयपत्र कै प्रयोगबाट केही पटक प्रहरीलाई समेत छक्काएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

१९ पुस २०८० मा अध्यक्ष तेजविक्रम, पत्नी सजनासहित १३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।

केहीले तेजविक्रमलाई बाटोमा वा कतै होटलमा देखेको भन्दै प्रहरीमा सूचना दिन्थे । प्रहरीले उनी भएको भनिएको ठाउँका नजिकका प्रहरीलाई पठाउँथ्यो । प्रहरी पुगेपछि उनले आफू अर्कै मानिस भएको बताउँथे, प्रमाणको लागि देखाउँथे आइडीकार्ड । ‘अर्कै मान्छे पो रहेछ’ भन्दै प्रहरी फर्कन्थ्यो ।

तेजविक्रम थापाको साथबाट बरामद भएको ‘राज ठकुरी’ नामको परिचयपत्र र अरू सामग्री

उनी विमानस्थलबाटै प्राय चितवनमा बस्थे । कहिले झापा पुग्थे । टिकटमा नाम हुन्थ्यो, उनी नक्कली नै । काठमाडौं बारम्बार ओहोरदोहोर गर्ने र बस्थे पनि । पछिल्लो समयमा उनी काठमाडौंकै गोकर्णेश्वरमा बस्थे । गोकर्णेश्वर नगरपालिका–७ मा उनको घर थियो ।

तर, पक्राउ पर्ने डरले भाडामा गोकर्णेश्वरमै फ्ल्याट लिएका थिए । त्यही बस्थे । उनको चलाखी प्रहरीसामु धेरै दिन टिक्न सकेन । शनिबार प्रहरीले गोकर्णेश्वरकै भाडामा लिएको फ्ल्याटबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

प्रहरीले उनी र उनका श्रीमती सजना र सहकारी ठगीमै जोडिएका अर्काे व्यक्ति सञ्जय थापा पक्राउ परे । ‘आफ्नो घर भाडामा दिएर परिचय बदलेर भाडाको फ्ल्याटमा बसेको अवस्थामा फ्ल्याटबाटै पक्राउ गरिएको हो । प्रहरी उहाँको जाँदा पक्राउ पुर्जी देखाइयो । उहाँले आइडीकार्ड देखाउँदै अर्कै व्यक्ति भएको दाबी गर्दै थिए,’ महाशाखाका प्रमुख एसएसपी भट्टराईले भने ।

पक्राउ पुर्जी जारी भएकामध्ये एक जनाको मृत्यु भइसकेको । एक जना मिर्गौलाको गम्भीर बिरामी भई उपचार गराइरहेका छन् । अर्का एक जना फरार छन् ।

०००

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो सहकारीलाई २६ माघ २०८० मा समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारी विभागको सिफारिसमा मन्त्रालयले सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय पठाएको थियो ।

भ्रम बेचेर ‘भाइरल’ प्रकाश भुजेल, उपचार गर्ने र भिजा लगाइदिने भन्दै यसरी ठगिरहेछन् सिधासाधालाई (भिडिओ)

अनलाइन मागदाबी पेश गर्न जारी गरेको सूचना अनुसार २ हजार ५३१ जना बचकर्ताले २ अर्ब ८२ करोड २७ लाख ८८ हजार रुपैयाँको मागदाबी गरेका थिए ।

सहकारी जम्मा भएको झन्डै ३ अर्ब रुपैयाँ सञ्चालकहरूले ‘आकर्षक व्याज दिने लोभ र विश्वास दिलाएर जम्मा गर्न सफल भएका थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भन्छन्, ‘‘आकर्षक व्याज दिने लोभ र विश्वास दिलाएर बचत संकलन गर्ने गरेको देखिन्छ ।

बचतकर्ताको रकमबाट सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याइ बचतकर्ताहरूको निक्षेप अपचलन गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।’’

अरूको बचत आफ्नो कम्पनीमा  लगानी

अध्यक्ष तेजविक्रमले सहकारीको रकम आफ्नो विभिन्न निजी कम्पनीमा लगानी गरेका छन् । टिभी खोल्नेदेखि मार्ट र अस्पतालसम्म लगानी गरेको देखिएको छ ।

तेजविक्रम २०५६ सालमा कृषि विकास सहकारी संस्थाको चिफ एकाउन्टेन्ट थिए । २०६० सालमा सहकारीको कार्यकारी अध्यक्ष पदमा नियुक्त भए ।

त्यसपछि उनले बचतकर्ताको रकम हिनामिना गर्न सुरु गरे । प्रहरी अधिकारीहरुका अनुसार चिफ एकाउन्टेन्ट हुँदै बचतकर्ताको रकम ठग्ने कला सिकेको उनले अध्यक्ष हुँदा झन् सजिलो भयो ।

तेजविक्रमकी श्रीमती सजना २०५८ सालदेखि नै उक्त सहकारीमा आबद्ध थिइन् । उनी सुरुमा मार्केटिङको काम गर्थिन् । २०६२ सालदेखि भने सहकारीको प्रशासन प्रमुख भए काम गरेकी थिइन् ।

तेजविक्रमको ठगीमा उनकी श्रीमती सजनाले समेत साथ दिँदै आएकी थिइन् । २०६६ सालमा भक्तपुरको लोन्थलीमा सहकारीकै रकम अपचलन गरेर समिट अस्पताल खोले । अध्यक्ष पनि उनी आफैँ बसे ।

२०७१ सालमा कृषि टेलिभिजनको खोलेर अध्यक्ष बने । त्यसमा गैरकानुनी तरिकाबाट सहकारी रकम लगाए । २०७१ सालमै उनी इन्टेन्सिभ एग्रिकल्चर कम्पनी प्रालि ललितपुरका अध्यक्ष बनेका थिए ।

श्रीमती बेचेपछि १० वर्ष जेल बसेर छुटेका सम्बरबहादुर उही धन्दामा, पोखरा भन्दै भारत लग्दै थिए किशोरी

त्यसको २ वर्षपछि २०७३ सालमा उनीसमेतको लगानीमा गोर्खा टेलिभिजन खोले । उनले त्यहाँ पनि सहकारीकै पैसा लगाए । पछिल्लो समय उनले गोर्खा टिभीकै आइडी कार्ड प्रयोग गरिरहेका थिए । जहाँ नाम ठेगाना अर्कै थियो ।

२०७४ मा यति हब्र्स प्रालि खोले । अध्यक्ष उनी नै थियो । तेजविक्रमले कृषि इन्भेस्टमेन्ट प्रालिको नाममा काठमाडौं उपत्यकाका १४ ठाउँमा मार्ट खोले ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved