प्रेमिका भित्र्याउन श्रीमतीको हत्या, लास खोल्सामा फालेर हराएको भन्दै उजुरी !

अनुसन्धानका क्रममा भेटिएका केही तथ्यले प्रहरीलाई राजुप्रति नै शंका लाग्यो । परिवारसँग सोधपुछ गर्दा थाहा भयो रुबी हराउनुअघि राजुले बिहान औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लिएर गएका थिए । दिउँसो राजु एक्लै घर फर्किए । तर, श्रीमती रुबी आइनन् ।

नेपालभ्युज

प्रेमिका भित्र्याउन श्रीमतीको हत्या, लास खोल्सामा फालेर हराएको भन्दै उजुरी !
बेपत्ता भएकी धनुषा क्षिरेश्वरनाथ ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरका राजु यादवले श्रीमती हराएको र खोजी गरिदिन भन्दै २७ जेठमा इलाका प्रहरी कार्यालय सखुवामा निवेदन दिए ।

२८ वर्षीया रुबी यादव २६ जेठदेखि बेपत्ता थिइन् । रुबीका ६ वर्षीय छोरा अस्मित यादव छन् ।

श्रीमती रुबी बेपत्ता भएपछि सानो छोराको बिचल्ली भएको भन्दै राजुले भोलिपल्ट प्रहरीमा हारगुहार गरे । प्रहरीले उनको निवेदन दर्ता गर्‍यो । रुबीको खोजी थाल्यो ।

इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहसहितको टोली राजुको घरगाउँ गएर अनुसन्धान थाल्यो ।

अनुसन्धानका क्रममा भेटिएका केही तथ्यले प्रहरीलाई राजुप्रति नै शंका लाग्यो । परिवारसँग सोधपुछ गर्दा थाहा भयो रुबी हराउनुअघि राजुले बिहान औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लिएर गएका थिए । दिउँसो राजु एक्लै घर फर्किए । श्रीमती रुबी आइनन् ।

प्रहरीको अनुसन्धान त्यहीबाट सुरु भयो । राजुमाथि प्रहरीको निगरानी सुरु भयो । प्रहरीको शंका त्यतिबेला झनै बलियो भयो, जतिबेला परिवारले दिएको बयान र राजुको बयानमा फरकफरक कुरा आयो ।

यसकै आधारमा प्रहरीले राजुलाई ३१ गते बिहीबार हिरासतमा लिएर केरकार थाल्यो । श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजु पक्राउ परेका थिए ।

उनले निवेदन दिएको चार दिन र रुबी हराएको पाँचदिन भइसकेको थियो । हिरासतमा लिएर कडाइपूर्वक सोधपुछ गर्दा राजुले बिस्तारै आफ्ना कर्तुत खुलाउन थाले ।

श्रीमतीको हत्याकै लागि आएका थिए विदेशबाट

राजुले रुबी हराएको नभई आफूले मरोर फालेको बताए । शव मिथिला नगरपालिका–६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फालेको बताए ।

राजुकै बयानको आधारमा शव खोज्न प्रहरी गयो । त्यही ठाउँमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार राजुले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको बयान दिएका छन् । रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

विदेशबाट पति आएर कुटपिटमा उत्रिएपछि बेपत्ता भईन् रुवी

राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए । त्यसपछि पारिवारिक विवाद भएको थियो । उनले आफ्नो अर्की प्रेमीका रहेको पनि खुलाएका छन् । श्रीमती रुबीसँग कुरा नमिलेकोले उसको हत्यापछि अर्को बिहे गर्ने सोचेको उनले बयान दिएका छन् ।

रुबीका भाइ महोत्तरीको बर्दिवास नगरपालिका–९ का अनित यादवका अनुसार विवादको क्रममा राजुले रुबीलाई कुटपिट तथा यातना दिने गरेका थिए ।

बेपत्ता हुनुभन्दा पाँच दिनअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो । रुबीको शव फेला परेपछि माइत पक्षले कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएको छ । त्यही आधारमा राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved