कांग्रेसको आशंका- उपप्रधानमन्त्री लामिछानेको लाञ्छनाको जवाफ दिन डराएर प्रधानमन्त्री भाग्नुभएको हो कि !

‘हामीले माग गरेका विषयमा प्रधानमन्त्री तयारी गरेर बसिरहनुभएको हो कि ! त्यो तयारी सकिएपछि मात्रै एकैपटक जवाफ दिउँला भनेर आउनुहुने हो कि ! अथवा जवाफ दिन नसकेका कारणले डराएर सदनबाट भाग्न खोज्नुभएको हो कि !’

नेपालभ्युज

कांग्रेसको आशंका- उपप्रधानमन्त्री लामिछानेको लाञ्छनाको जवाफ दिन डराएर प्रधानमन्त्री भाग्नुभएको हो कि !

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा कांग्रेस नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग कांग्रेसले पुनः स्मरण गराएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफ मागेको तर नपाएको भन्दै कटाक्ष गरे ।

‘केही समय पहिला सरकारका उपप्रधानमन्त्री रवि लामिछानेले यो सदनमा रहेका केही नेताहरूमाथि अन्यन्त ज्यादा लाञ्छनापूर्ण ढंगले आफ्ना अभिव्यक्तिहरू दिनुभयो । हामीले प्रधानमन्त्रीसँग माग गरेका छौँ, उहाँले अभिव्यक्त गर्नुभएका कुराहरूका बारेमा स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’, लेखकले भने, ‘मैले के विश्वास गरौँ, हामीले माग गरेका विषयमा प्रधानमन्त्री तयारी गरेर बसिरहनुभएको हो कि । त्यो तयारी सकिएपछि मात्रै एकैपटक जवाफ दिउँला भनेर आउनुहुने हो कि ! अथवा जवाफ दिन नसकेका कारणले डराएर सदनबाट भाग्न खोज्नुभएको हो कि !’

सहकारीको ठगीमा संलग्न भएको आरोप लागेपछि प्रतिनिधि सभामा जवाफ दिन पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका नेताप्रति लक्षित गर्दै देशको सूचना विदेशीलाई बेच्ने भनेका थिए । कांग्रेसले यसअघि नै सदनबाट प्रधानमन्त्रीको जवाफ माग गरेको छ । अन्यथा मन्त्री लामिछानेको अभिव्यक्तिलाई रेकर्डबाट हटाउन भनेको छ ।

सांसद लेखकले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा समयमै जानकारी नदिएको भन्दै असन्तुष्टि जनाए । उनले यसबाट संसदीय परम्परा मिचिएको भन्दै सदनलाई अपमान गर्ने काम भएको बताए ।

‘हामी धैर्यपूर्वक कुरेर बसेका थियौँ । प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउनुहोला । र सदनले पनि थाहा पाउला भनेर हामी कुरेर बसेका थियौँ । तर पाँच पाँच दिनसम्म प्रधानमन्त्री यहाँ आउनसक्नुभएन । मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो’, लेखकले भने ।

उनले ‍देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाउनुपर्ने र पत्रिका पढेर थाहा पाउनुपर्ने स्थिति रहेको र प्रतिपक्षका हैसियतले आफूले प्रधानमन्त्रीलाई सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आएको भन्दै प्रश्न गरे, ‘यो मेरो सौभाग्य हो कि सरकारको दुर्भाग्य हो ?’

त्यस्तै राष्ट्रपति पनि मुलुकबाहिर गएको भन्दै उनले त्यसबारे पनि सदनलाई जानकारी नगराइएकोमा असन्तुष्टि जनाए । भने, ‘राष्ट्रपति देश बाहिर जानुहुन्छ, कार्यकारी प्रमुख देश बाहिर जानुहुन्छ । तर सदनले त्यो कुरा अखबार पढेर थाहा पाउनुपर्ने छ । यसलाई मैले दुर्भाग्य भन्दा बढी होला र ?’

उनले यस्ता भ्रमणबारे सदनमा जानकारी दिनुपर्ने भनेर सभामुखले रुलिङ गर्नुपर्ने माग राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved