सरकार टिकाउन मुख्यमन्त्री पाण्डेलाई एमाले वा माओवादीको समर्थन जरुरी !

पाउलान् विश्वासको मत ?

जे होस्, मुख्यमन्त्रीलाई विश्वासको मत पाउन विपक्षी दलहरू एमाले वा माओवादी केन्द्रको समर्थन जरुरी हुन्छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) राप्रपाका २ र १ स्वतन्त्र सदस्य छन् ।

सरकार टिकाउन मुख्यमन्त्री पाण्डेलाई एमाले वा माओवादीको समर्थन जरुरी !
फाइल फोटो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो ३ बजे विश्वासको मत लिँदैछन् तर, पाउने/नपाउने निश्चित छैन ।

उनको आफ्नो दल नेपाली कांग्रेससँग २७ मात्रै सांसद छन् । गण्डकी प्रदेशसभा ६० सदस्यीय हो, जसै उनलाई सरकार टिकाउन थप ४ सांसदको समर्थन चाहिन्छ ।

यसका लागि मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा दुई सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र सांसद दीपक मनाङे ऊर्फ राजीव गुरुङलाई मनाइसकेको कांग्रेस सांसदहरूको दाबी छ । कांग्रेस सांसद नन्दप्रसाद न्यौपाने भन्छन्, “भरैसम्म हेरौँ, जहाँसम्म लाग्छ मुख्यमन्त्रीज्यूले विश्वासको मत पाउनुहुन्छ । सांसदहरूलाई मनाइसकेका छौँ ।”

कांग्रेस सांसदहरूले दाबी गरेअनुरूप नै राप्रपाका दुई र स्वतन्त्र सांसद मनाङेले समर्थन गरे बल्लतल्ल ३० सांसदको समर्थन जुट्छ तर, त्यो सांसद सङ्ख्या पनि सरकार टिकाउनका लागि अपुग नै हो । किनकि ६० सदस्यीय प्रदेश सभामा सरकार टिकाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ ।

त्यसोभए एक जनाचाहिँ को त ? यसमा मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फणिन्द्र देवकोटालाई गनेका छन् ।

तर, प्रदेश सभाले उनलाई नेसपाका सांसदका रूपमा नभइ माओवादी केन्द्रकै रूपमा चिन्छ । प्रदेशसभा सचिवालयमा पनि उनलाई माओवादी केन्द्रकै सांसद भनेर उल्लेख गरिएको छ । यस्तोमा देवकोटाले मुख्यमन्त्री पाण्डेलाई समर्थन गरे त्यो माओवादी केन्द्रले नै समर्थन गरेको रूपमा बुझिनेछ ।

पाण्डे नेतृत्वको सरकारले निरन्तरता पाउला कि ढल्ला ? देवकोटा निर्णायक

त्यसो त देवकोटा मुख्यमन्त्री पाण्डेलाई समर्थन नगर्ने भनेर भन्न हिच्किचाउँछन् । नेपालभ्युजसँग उनले भने, “आजै निर्णय हुन्छ । भरै दिउँसोसम्म के हुन्छ भन्नेबारे निर्णय आउँछ । अहिले केही भन्दिनँ ।”

त्यसो त नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट छन् । आफ्नो दल नेसपा उनकै संलग्नतामा फुटाइएको भन्दै उनले गण्डकीका देवकोटा माओवादी केन्द्रको नभइ नेसपाकै सांसद रहेको दाबी गर्दै आएका छन् ।

नेसपाका ३ सांसदले माओवादी केन्द्रसँग पार्टी एकता गरेको घोषणा गर्दा अध्यक्ष भट्टराई, मुख्यमन्त्री पाण्डे र सांसद देवकोटा एक कार्यक्रममा सँगै थिए । त्यही दिन नै अध्यक्ष भट्टराईले मुख्यमन्त्री पाण्डेलाई गण्डकीमा समर्थन दिने वचन दिएको कांग्रेस सांसदहरूको दाबी छ ।

कांग्रेसका एक सांसदको दाबी छ, “बाहिर स्पष्ट रूपमा केही नबोलिए पनि उहाँहरू (अध्यक्ष भट्टराई, मुख्यमन्त्री पाण्डे र देवकोटा) बीच एकखाले समझदारी बनिसकेको छ ।”

यदि देवकोटाले मुख्यमन्त्री पाण्डे (Surendra raj pande) लाई विश्वासको मत दिए माओवादी केन्द्रले आफ्नो सांसद भन्दै कारबाही गर्नसक्छ । तर, त्यसबेला मुद्दा-मामिला गरेर जित्ने आकलन नेसपाभित्र भइरहेको छ । देवकोटा निर्वाचन आयोग, संसद् सचिवालमा नेसपाकै सांसदका रूपमा उल्लेख भएको भन्दै नेसपा नेताहरूले मुख्यमन्त्री पाण्डेलाई समर्थन गरेरै अगाडि जाने वातावरण बन्नसक्ने सङ्केत गरेका छन् ।

जे होस्, मुख्यमन्त्रीलाई विश्वासको मत पाउन विपक्षी दलहरू एमाले वा माओवादी केन्द्रको समर्थन जरुरी हुन्छ । यदि देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई समर्थन जनाए पनि त्यो माओवादी केन्द्रकै समर्थन हुनेछ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) राप्रपाका २ र १ स्वतन्त्र सदस्य छन् ।

यस्तो अवस्थामा एमाले र माओवादी केन्द्रबाहेक सबै सांसदले मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाए पनि बहुमत जुट्दैन । त्यसकारण एमाले वा माओवादी केन्द्रका कम्तिमा एक सांसले समर्थन गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved