काठमाडौं। सङ्घीय संसद् भवनमा सांसद, सुरक्षाकर्मी र सञ्चारकर्मी मात्र हुँदैनन्, त्यहाँ विद्यार्थीहरू पनि जाने गरेका छन्।
अहिलेको पाठ्यक्रम अनुसार कक्षा ९ को सामाजिक शिक्षामा राज्यको तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बारे पढ्नुपर्छ।
व्यवस्थापिकाको सैद्धान्तिक ज्ञान बाहेक व्यवहारिक ज्ञान समेत दिलाउन विभिन्न विद्यालयहरूले प्रतिनिधि सभाको बैठक अवलोकन गराउन सङ्घीय संसद् सचिवालयसँग समन्वय गरी विद्यार्थीहरूलाई लैजाने गर्दछन्।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी स्कुलले आफूहरूलाई अनुरोध गरी पत्र पठाएको आधारमा व्यवस्थापन गर्ने बताउँछन् । ‘पत्र आएपछि यहाँ हामीले मर्यादापालकसँग समन्वय गरिदिन्छौँ’, उनले भने ।
संसद् बैठक भएको दिनमा विद्यार्थीहरू आउनुपर्ने र निर्धारित समयभन्दा अघि नै आउनुपर्ने उनले बताए । ‘११ बजे बैठक छ भने साढे १० बजेसम्म आइपुग्नुपर्छ’, उनले भने ।
विद्यार्थी आइपुगिसकेपछि उनीहरूलाई के गर्न पाउने र नपाउने भनेर एकबेर ब्रिफिङ गरिन्छ । अहिलेसम्म त्यो काम सुरक्षा निकायले गर्दै आएको छ । ‘खाना खान पाइँदैन । खुट्टा क्रस गरेर बस्न पाइँदैन । शान्तपूर्वक बस्नुपर्छ । धेरै इशारा गर्न पाइँदैन । फोटो खिच्न पाइँदैन । यस्ता केही कुराहरू छन् । मर्यादापालकले समन्वयन गर्छन्’, गिरीले भने, ‘मर्यादापालकले उनीहरूलाई सम्झाउँछन् ।’
केही सुरक्षा मापदण्ड पूरा गराएर विद्यार्थीहरुलाई प्रतिनिधि सभाको दर्शकदीर्घा (बल्कोनी) मा बसेर सभा हेर्न दिइन्छ। त्यहाँ उनीहरूले सुरक्षा मापदण्ड अनुसार कापी र कलम बाहेक केही लैजान पाउँदैनन्।
तस्वीरहरु:-

Facebook Comment
Comment