आलेख

सुमना, नोरा र पितृसत्ता !

नेपाली नागरिक सुमना श्रेष्ठ ओली जस्तै जनताले चुनेकी प्रतिनिधि हुन् । ओलीले यस्तो अभिव्यक्ति दिएर नेपालको राजनीतिमा महिलाको सहभागिता पुरुषको कृपाको विषय मात्र बन्नुपर्छ भन्ने धारणाको बचाउ गरेका छन् । यो विचारले देशलाई पुरुषले आर्जेको र पुरुषबाटै संरक्षित ठान्छ ।

सुमना, नोरा र पितृसत्ता !

केही दिन पहिले कमरेड केपी शर्मा ओलीले दुई भिन्नाभिन्नै प्रसङ्गमा नेपाली महिलाबारे आफ्ना धारणा सार्वजनिक गरे । सञ्जालमा भाइरल बनेका दुईवटा सन्दर्भमा उनले शिक्षामन्त्री सुमना श्रेष्ठलाई महिला भएकै कारणले होच्याएर अभिव्यक्ति दिएका छन् ।

सार्वजनिक ठाउँमा, रेकर्ड हुनेगरी सुमनालक्षित उनको अभिव्यक्ति थियो— विदेशको को केटासँग बिहे गरिन्, उतैतिर कता हो, नेपाल घुम्न आकी, मन्त्री पो भइन् ।

ओलीको अभिव्यक्तिमा ‘ज्वाइँलाई घुमाउन आएको बेला’ भन्ने अर्थ लाग्ने सन्दर्भ पनि छ र ख्याल-ख्यालमा समानुपातिकबाट सांसद बनेको भनेर गरिएको हेपाइ पनि छ । एकजना पूर्वप्रधानमन्त्री र नेकपा (एमाले) का अध्यक्षका रूपमा सुमनाप्रतिको यो टिप्पणी अशोभनीय मात्र होइन, स्त्रीद्वेषी पनि छ ।

नेपाली नागरिक रहेकी सुमना श्रेष्ठ संसदीय निर्वाचनका माध्यमबाट जनताले निर्वाचित गरेकी जनप्रतिनिधि हुन् । यस अर्थमा उनी ओली जस्तै जनताले चुनेकी प्रतिनिधि हुन् । संवैधानिक र पदीय हैसियतले उनी प्रधानमन्त्री भएर देशको नेतृत्व गर्न पाउँछिन् । तर, ओलीले सजिलै भनिदिए कि ‘कताको पोइ लिएर आइन अनि यहाँ मन्त्री बनिन्’ भनेर !

ओलीले कहिल्यै पनि विदेशी नागरिकसँग बिहे गरेका, विदेशको नागरिकता लिएरै आएका र यता मन्त्री भएका पुरुषका बारेमा कुरा उठाएनन् । यो विचारले देशलाई पुरुषले आर्जेको र पुरुषबाटै संरक्षित ठान्छ । अरु देशबाट यताको पुरुषसँग बिहे गरेर ल्याइएकी बुहारीलाई स्वीकार गर्न सकिन्छ तर, विदेशी पुरुषसँग बिहे गरेकी छोरीलाई नेपाली ठान्न सकिन्न भन्ने परम्परागत पुरुषवादी दृष्टिकोणको प्रतिनिधित्व गर्छ । अर्थात् छोरी बिहे गर्नु दान दिनु हो । दान दिएको वस्तु आफ्नो रहँदैन । यो भनाइले व्यक्ति सुमना श्रेष्ठको मात्र हैन, आम नेपाली महिलाको अपमान गरेको छ ।

ओलीको यो भनाइ राजनीतिक रूपले गलत, स्त्रीद्वेषी र आपत्तिजनक छ । यसले सुमना श्रेष्ठलाई त केही फरक नपार्ला। तर, यो नै नेपालका पुरुष नेताहरू महिलालाई कसरी हेर्छन्, राजनीतिक रूपमा सक्रिय र नेतृत्वमा आउन चाहने महिलालाई कस्तो मनोविज्ञानका आधारमा हेरिन्छ भनेर देखाउने चित्र हो । नेपाली समाजमा रहेको परम्परावादी सोचको रक्षाका लागि पछिल्लो समय भइरहेको प्रयासकै निरन्तरता पनि हो, जुन सबैजसो पुराना राजनीतिक दलमा डुङडुङ्ती गन्हाएर बसेको छ ।

नागरिकतासम्बन्धी ऐनमाथि भएका बहसमा यो पक्ष नराम्ररी उदाङ्गो भएको थियो (यहीँनेर यो पनि थपौँ, अहिले नेपालमा मन्त्री या सांसदका रूपमा पदअनुसार पर्फमेन्स गर्ने या आफ्नो दायित्व र कर्तव्यअनुसार चल्न प्रयास गर्नेमा सुमना अगाडि छन् भन्ने मलाई लाग्छ । राज्य संयन्त्र उनको दृष्टिकोणको विपक्षमा छ । उनलाई सफल हुन नदिन संस्थापन पक्ष सक्रिय छ । उनको राजनीतिक दृष्टिकोणसँग म पटक्कै सहमत छैन तर, उनको सकारात्मक प्रयासको म प्रशंसक हुँ)।

कमरेड ओलीले यस्तो अभिव्यक्ति दिएर नेपालको राजनीतिमा महिलाको सहभागिता पुरुषको कृपाको विषय मात्र बन्नुपर्छ भन्ने धारणाको बचाउ गरेका छन् । उनको भनाइको उद्देश्य जेसुकै भएपनि यो नवब्राम्हणवादी धारणा अन्ततः राजनीतिक प्रतिगमनको हतियार बन्नेछ ।

एमालेले हालै आयोजना गरेको राष्ट्रिय महिला भेलामा पनि अध्यक्ष ओलीले महिलासम्बन्धी उदारवादी या समाजवादी विचारको विपरीत धारणा व्यक्त गरे । त्यहाँ उनले महिलालाई पुरुषको दमन, पितृसत्ताको उत्पीडनलाई केही समय सहेर बसे पालो आउँछ, घर छाडेर हिँड्यो भने (विद्रोह गर्‍यो भने) झन् दुःख पाइन्छ भन्ने अर्ति दिएका थिए । त्यसका लागि उनले चिनियाँ साहित्यकार लुसुनले हेनरी इब्सेनको नाटक ‘दि डल्स हाउस’की पात्र नोराका बारेमा गरेको टिप्पणीको सहारा लिएका थिए ।

लुसुनले तत्कालीन चीनका सन्दर्भमा ‘सामाजिक आर्थिक क्रान्ति र परिवर्तनबिना महिला आत्मनिर्भर हुन्नन् । आत्मनिर्भर नबनीकनै उनीहरू घर छाडेर हिँडे भने या त यौन व्यवसायी बन्न बाध्य हुन्छन् या अपमानित हुँदै फर्केर घरै आउँछन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

यसको अर्थ महिला पहिले आत्मनिर्भर होऊन् अनि घर छाड्न सक्छन् भन्ने लाग्थ्यो । यसो भनेर उनले पहिला आर्थिक रूपमा आत्मनिर्भर हुन समाजवादी क्रान्तितिर लाग्नुपर्छ भन्ने सन्देश दिन खोजेका थिए । तर, यतिमात्र यसको अर्थ हुँदैनथ्यो । पितृसत्ताविरुद्ध महिलाले अड्कलेर सङ्घर्ष गर भन्ने अर्थ पनि लाग्छ । यो प्रकारान्तरले सामन्तवादको प्रतिरक्षा गर्ने विचार हो । अर्थात् महिलाले आफूमाथिका विभेद र हिँसाको त्यतिमात्र विरोध गर, जति गर्दा घरबाट बाहिर निस्कनु नपरोस् । त्यतिबेलासम्म सहनुपर्छ, जतिबेलासम्म क्रान्ति सम्पन्न हुन्न । जतिबेलासम्म महिला आत्मनिर्भर हुने आर्थिक अवस्था सिर्जना हुन्न । पुँजीवादी विचारको विरोध गर्ने नाममा लुसुनले गरेको यो टिप्पणीले पनि अन्ततः सामान्तवादी संस्कृति र मूल्य प्रणालीको पक्ष लिन्छ । विद्रोहको अधिकारलाई कुण्ठित गर्छ ।

नेपालमा केही राजनीतिक पण्डा पुजारी नेपाली समाजको मूल्य प्रणाली र संस्कृतिको बढाइचढाई प्रशंसा गरिरहेका, हाम्रो परिवार प्रणालीको प्रशंसा गर्दै महिलालाई सुसंस्कृत र संस्कारी बन्न अर्ति दिइरहेका छन् । यस्तो विचारको अन्तर्यमा नेपालमा महिलाले हाम्रो पारिवारिक मूल्य, परम्परा स्थापित पुरुषमैत्री संस्कृतीको सङ्घार नाघेर स्वतन्त्रताको जङ्घार नतरून् । त्यता जान बल नगरून् । अहिलेको विभेदपूर्ण सम्बन्ध कायम रहोस् भन्ने नै रहेको छ ।

महिलामाथि घरभित्रका काममा, घरको स्रोतको भोगचलनमा, परिवारका आर्थिक क्रियाकलापको निर्णय प्रक्रियामा, छोरा र छोरीका बीच विभेदपूर्ण हुर्काइमा, भान्साको जिम्मेवारीमा रहेका भिन्नतामा देखिने पितृसत्ता कायम रहोस् । महिलाहरू घर राम्ररी स्याहेरर  बसून् । उनीहरूलाई आफूमाथि भएको ज्यादती र विभेद अन्यायपूर्ण लाग्यो भने पनि उजुरबाजुरतिर नजाऊन् । जे पर्छ बेहोर्छु तर, यो विभेद सहेर बस्दिनँ भन्ने साहस नगरून् । जसले विद्रोह गर्छ, ऊ नर्कमा जाकिन्छ भन्ने मनोविज्ञान महिलामा परिरहोस् ।

सोही क्रममा ओलीले महिलालाई मैदान नछोडी, घर नछोडी, मञ्च नछोडी सङ्घर्ष गर्न पनि भनेका छन् । यसो हेर्दा यो महिलाका पक्षमा बोलेको जस्तो लाग्छ । तर, उनले आफ्नो मनसाय लुकाएका छैनन् । असन्तुष्टि भड्काएर समाज बिगार्न खोजेको भनेर महिला आन्दोलनका पछिल्ला प्रवृत्तिमाथि लाञ्छना लगाएका छन् । त्यससँगै महिलाले न्यायोचित अधिकारका कुरा पाउनुपर्छ भन्ने थपेका छन् । न्यायोचित अधिकारको कुरा भनेको अड्कलिएको अधिकारको अर्थमा मात्र बुझ्नुपर्ने हुन्छ । यसले महिलालाई ‘गिभन सर्कम्ट्यान्सेस्’ भित्र तोकिएको अधिकारका सीमाभित्र सन्तुष्ट हुनुपर्छ भन्ने सन्देश दिन्छ । महिला अहिले पनि आफ्नो भाग्यको आफैँ फैसला गर्ने क्षमता राख्दैनन्, उनीहरू स्वतन्त्र विचार बनाउन र अभिव्यक्त गर्न, आफ्नो राजनीतिक सामाजिक धारणा बनाउन र व्यक्त गर्न स्वतन्त्र छैनन्, त्यस्तो गर्नुहुन्न भन्ने नै यसको अर्थ लाग्छ ।

औद्योगिक क्रान्ति सँगसँगै विकास भएको उदारवादले महिलालाई कामका लागि मात्र घरबाहिर निस्क, चुलो बाहिर जाऊ भनेको हैन । उनीहरूले आफ्नो जीवनसम्बन्धी सबै फैसला आफैँ गरून् भन्ने मान्छ । आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण कायम गर्न महिला स्वतन्त्र छन् । आफ्नो बिहे या जीवनसाथी या प्रेमी रोज्न र चित्त नबुझे छाड्न स्वतन्त्र छन् भन्ने मान्छ ।

यो वास्तविकता हो कि पुँजीवादले महिलालाई विज्ञापनको साधन बनाएको छ, महिला शरीरलाई बिक्रीको वस्तु बनाएको छ । यौन व्यवसायमा लाग्न बाध्य पारेको छ । तर, यसको अर्थ उनीहरू घरको चौघेरामा बस्दा सुरक्षित हुन्छन् भन्ने होइन । यसो भन्नु पितृसत्ताको गीत गाउनु हो । धार्मिक रुढी र महिलासम्बन्धी सामान्तवादी व्यवहारको रक्षा गर्नु हो ।

यहीँनेर कमरेड ओलीले सम्झनुपर्ने अर्को पक्ष पनि छ । उक्त कार्यक्रममा उपस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घरबाट विद्रोह नगरेको भए, अष्टलक्ष्मी शाक्य, शुशीला श्रेष्ठ, पूर्णशोभा चित्रकार, राधा ज्ञवाली, राधिका शाक्यलगायत सीता खड्का, गौरा प्रसाईं, लक्ष्मी कार्की, विन्दा पाण्डे, मेनका पोख्रेलहरूले घरबाट विद्रोह गरेर बाहिर ननिस्केको भए स्वयम् विद्याले राष्ट्रपति र ओलीले प्रधानमन्त्री बनेर हिँड्ने पालो आउँथ्यो होला ?

ओलीजीको समग्र अभिव्यक्तिले महिलालाई आफ्नो प्रतिनिधि (एजेन्सी)आफैँ बन्न प्रेरित गर्दैन । महिलालाई आफ्नो बारेमा निर्णय आफैँ गर्न उत्प्रेरित गर्दैन । एउटा कुरा साँचो हो, अहिले पनि घरबाट निस्केका कतिपय महिला शरीर शोषण हुने ठाउँमा पुग्ने गरेका छन् । यो विभेद कामको खोजीमा नेपालकै शहरमा पसेका या अरु मुलुकतिर जानेले पनि बेहोरेका कैयन् घटना सार्वजनिक भइ नै रहेका छन् । यस्तो हुनुमा हाम्रो देशको लगातारको अविकास र अवसरहरूको अभाव जिम्मेवार छ ।  शिक्षामा सबैको पहुँच नहुनु अर्को कारणका रूपमा रहेको छ ।

उनीहरूको ‘गृहत्याग र यौनबजारसम्मको यात्रा बिहे’ नामक संस्थाभित्र शारीरिक शोषणमा या विभेद र हिंसामा बस्ने या बाहिर निस्कने भन्ने सन्दर्भमा उनीहरूले पाएका तुच्छ विकल्प हो । यो बाध्यता उनीहरूमाथि समाजले थोपरेको हो, उनीहरूको रहरले हैन । यदि कोही महिला सचेत रूपमा बुझेरै, बिहे नामक संस्थाको माध्यमबाट हुने दासत्वको बदलामा यौन व्यवसायमा लागेका छन् भने पनि त्यो नै आफैँमा एउटा विद्रोह हो ।

सबैले थाहा पाएको कुरा हो, महिलाले जीवनका विषयमा निर्णय लिएर उठाएका जोखिम र चालेका पाइला वर्तमान अर्थराजनीतिक व्यवस्थाले थापेको जालोमा परेका छन् । यसविरुद्ध महिलालाई जाग भन्नु, आफूले सरकार चलाउँदा यस्तो अर्थ-सामाजिक र अर्थ-राजनीतिक अवस्था बदल्न प्रयास गर्नु राजनीतिक नेतृत्वको कर्तव्य हो ।

हल हल, बाहिर ननिस्क भूतले खान्छ, तिमीहरू बलात्कृत हुनसक्छौ, बेचिन सक्छौ भनेर तर्साइरहनु महिलामाथिको छल हो । महिला शरीरमाथि नियन्त्रण राख्ने पुरुषसत्ताको धारणा हो । महिलालाई स्वतन्त्र हुन नदिने प्रपञ्च हो । उनीहरूको क्षमता, साहस र स्वतन्त्र हुने आकाङ्क्षाबाट तर्सेको पुरुषको अभिव्यक्ति हो ।

यसरी महिला स्वतन्त्र हुन नसक्ने परिबन्दको निर्माण सदियौंदेखि गरिँदै आएको छ । यहाँ ओली एउटा प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजको अन्तर्यमा यही मनोविज्ञान जबर्जस्त कायम छ ।

यी पनि पढ्नुहोस :

सुमनाप्रति ओलीको अभिव्यक्तिको सार- महिलाको छुट्टै अस्तित्व हुँदैन

ओलीप्रति सुमनाको प्रतिवाद- श्रीमान्‌भन्दा बाहिर नारीको आफ्नो पहिचान हुँदैन ?

प्रतिनिधि सभा : ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै सुमनाको बचाउमा बोले शिशिर खनाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved