रास्वपालाई ओलीले हेप्न थाल्नुको कारण

राजनीतिको एक आम नियम हुन्छ, जुन शक्ति जतिखेर कमजोर हुन्छ, विरोधीले आक्रमण पनि त्यतिखेरै तीव्र पार्दछन् । बलियो हुँदा त ती मौका पर्खेर बसेका हुन्छन् । एमाले अध्यक्ष ओलीले बढाएको दबाब र आक्रमण रास्वपा कमजोर हुन थालेको मौकाको रणनीति हो ।

रास्वपालाई ओलीले हेप्न थाल्नुको कारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता/कार्यकर्तालाई लागेको थियो होला— गठबन्धन साझेदार हुनुको नाता र सत्ता स्वार्थकै लागि सही; नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा गृहमन्त्री रवि लामिछानेलाई ‘जोगाउने’ छन् । ‘बा’ गुणिला छन्, ‘छोराछोरी’ को राम्रो हेरचाह र संरक्षण गर्छन् ।

नभन्दै सहकारी ठगी प्रकरण, संसदीय छानबिन समितिको माग र संसदीय गतिरोधको चरणमा त्यस्तै देखियो । एमाले खुलेरै रविको प्रतिरक्षामा उत्रियो ।

एमाले सांसद र कार्यकर्ताले रास्वपा कार्यकर्ताभन्दा एक कदम अघि बढेर नेपाली कांग्रेसको विरोध गरे । एमालेले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष रहेको भन्दै संसदीय छानबिन समिति कुनै हालतमा गठन नहुने बताउँदै आएको थियो ।

बरु, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थोरै ‘साइड’ मा देखिन्थे । उनले संसदीय छानबिन समिति गठन हुन सक्ने सम्भावनातर्फ इङ्गित गर्दै मध्यमार्गी बाटो रोजेका थिए । लाग्थ्यो, एमाले-रास्वपाको ‘ट्यूनिङ’ खुबै मिलेको छ ।

तर, अन्ततः सबै दल संसदीय छानबिन समिति गठन गर्न राजी भए । रास्वपा पनि त्यसका लागि बाध्य हुनुपर्‍यो । छानबिन समितिको क्षेत्राधिकारभित्र गृहमन्त्री रवि लामिछानेको नाम नकिटिए पनि उनी शेयरहोल्डर रहेको गोर्खा नेटवर्क मिडिया प्रालिले ठगेका सहकारीहरूको नाम उल्लेख छ ।  संसदीय छानबिन समिति कुनै हालतमा बन्दैन भन्नेहरूको लागि यो ‘गतिलै झापड’ साबित भयो । एमालेले रास्वपालाई एक हदसम्म बोक्यो, फेरि थेचार्‍यो ।

एमालेले रास्वपालाई ‘माया र संरक्षण गर्छ’ भन्ने भ्रम त्यतिखेरै टुटेको हुनुपर्छ, जतिबेला ओलीले संसदीय छानबिन समिति गठन गर्ने नेपाली कांग्रेसको मागलाई ‘भङ्गेरालाई तोप’ भन्दिए । राजनीतिमा ‘दलीय मायाप्रीति’ सर्वथा क्षणिक हुन्छ । किनकि दल भनेकै जन्मजात प्रतिस्पर्धी हुन् ।

रास्वपा र रविलाई लागेको थियो होला कि गठबन्धनका ठूलै साझेदार र सहकर्मी हौँ तर, पाए ‘भङ्गेरा’ को संज्ञा । यसभन्दा बढी हेप्नु, ओल्चिनु के थियो ? यद्यपि कुनै पनि रास्वपा नेताले ओलीको यो भनाइको प्रतिवाद गरेनन् । गृहमन्त्री रवि त ‘चुइँक्क’ एक शब्द बोलेनन् । हरेक कुराको ठाडो र आक्रामक उत्तर दिने रवि ओलीले ‘भङ्गेरा’ भन्दा चुपचाप बसे ।

एमाले अध्यक्ष ओलीले रास्वपालाई हेप्ने, ओल्चिने र चिढ्याउने क्रम अझ बढाएका छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएसँगै उनले बोली फेरेका छन् । समिति बनेको भोलिपल्टै एक कार्यक्रममा उनले भाषण गरे— केही ठूला ठगले सहकारी क्षेत्रलाई बदनाम गरे ।

ओलीले लक्षित गरेको ठूला सहकारी ठगमा जीबी राई समूह पनि पर्दछ भन्ने गृहमन्त्री रविले बुझेको हुनु पर्दछ । ओलीले रास्वपा सांसद तथा शिक्षामन्त्री सुमना श्रेष्ठमाथि अर्को व्यङ्ग्य कसेका छन् । उनले कथा हाली-हाली ‘विदेशीसँग बिहे गरेर माइती देश घुम्न आएकी चेली सांसद र मन्त्री’ भएको भन्न भ्याए ।

अर्थात् ओलीले अब आफ्ना ‘वचन-वाण’ रास्वपातिर लक्षित गर्न थालेका छन् तर, रास्वपा नेताहरू भने यतिधेरै प्रतिरक्षात्मक भएका छन् कि प्रतिउत्तर दिन सक्ने अवस्थामा पनि देखिँदैनन् ।

हिजो रास्वपाले सबै पुराना दललाई लक्षित गरेर आलोचना गर्ने तागत राख्थ्यो । ‘नाकका डाँडी भाँच्ने’ स्तरमा उत्रिएर ‘गाली’ गर्न सक्थ्यो । अब त्यो तागत गुम्न थालेको छ । र, यसो अकारण भएको छैन ।

रास्वपाले आफूलाई ‘लोकतान्त्रिक धार’ को दल दाबी गर्ने गरेको थियो । तर, गठबन्धन सहयोगी बन्न पुग्यो कम्युनिष्टहरूको । लोकतान्त्रिक धारको जनमतले विस्तारै रास्वपालाई ‘कम्युनिष्ट गठबन्धनको सहयोगी दल’ जस्तो देख्न थालेको छ ।

गत आम चुनावमा यही कारणले कांग्रेसी मतदाताको एउटा हिस्सा भड्किएर रास्वपातिर लागेको थियो । त्यतिखेर कांग्रेस-माओवादी गठबन्धन लोकतान्त्रिक मतदाताले मन नपराएको कारण ‘फ्रस्ट्रेट’ मत रास्वपातिर ‘स्वीङ’ भएको थियो । चितवनमा परम्परागत कांग्रेसी जनमत भड्किनुको एक मुख्य कारण कांग्रेस-माओवादी बीचको आप्राकृतिक गठबन्धन थियो ।

रास्वपाप्रति ठीक त्यस्तै बुझाइ बढ्न थालेको छ अहिले । अर्थात् एक प्रकारकाले भन्दा रास्वपाले मौलिक पहिचान र स्वत्व गुमाउन थालेको छ । जे कारणले गर्दा रास्वपाको उदय भएको थियो, त्यो कारण रास्वपाले आफैँ समाप्त गर्दिएको छ ।

गत वर्ष तनहुँ १ को उपनिर्वाचन परिणामबाट सबै पुराना दल र नेता आत्तिएका थिए । एमाले सबैभन्दा बढी चिन्तित भएको थियो । किनकि उसको मत कांग्रेसको भन्दा पनि नराम्रोसँग रास्वपातिर मोडिएको थियो । यद्यपि त्यतिखेर पनि रास्वपा सरकारमा गएर निस्किएको थियो । त्यो घटना ‘शिकारुहरूको अनुभवहीनता’ का नाममा क्षम्य भएको थियो । त्यसपछिका दिनमा रास्वपाले २०८४ को चुनावसम्म पार्टी प्रतिपक्षीय भूमिकामा रहने बतायो ।

तर, आम निर्वाचनको ‘नो नट अगेन’ जस्तै उपनिर्वाचनपछिको ‘प्रतिपक्षीय भूमिका’ को प्रतिबद्धता पनि हावादारी गफ साबित भयो । यही कारणले रास्वपाको राजनीतिक विश्वासनीयता खस्कँदै गयो ।

अहिले पनि रास्वपा नेता रविमाथि दुईवटा नैतिक तथा कानूनी सङ्कट कायमै छन्— सहकारी ठगी र दोहोरो पासपोर्ट । तर, यी उनका निजी वा व्यक्तिगत सङ्कट हुन्, रास्वपा पार्टीका हैनन् । लोकतन्त्रमा पार्टी र नेता एउटै कुरा हैन । पार्टी एक अविछिन्न उत्तराधिकारवाला संस्था हो, व्यक्ति आउँछन, जान्छन् । रास्वपाले पार्टी र नेतालाई पर्यायवाची बनाइदियो, जुन लोकतान्त्रिक मान्यताअनुरूपको सोच र अभ्यास हैन । यस कारणले पनि रास्वपाप्रति मान्छे निराश हुँदै गए ।

व्यक्ति रविका सङ्कटलाई छोडेर हेर्दा रास्वपा पार्टीका नैतिक सङ्कट पनि यसबीच बढेका छन् । त्यो हो, उन्नत लोकतान्त्रिक चरित्र, संस्कृति, नैतिकता र राजनीतिक विश्वासनीयताको अभाव । नयाँ भन्ने, पुरानैजस्तो गर्ने ।

चुनावमा मतदातासँग एक प्रकारको प्रतिबद्धता गर्ने र चुनावपछि कुरा फेर्ने मामिलामा रास्वपा पुराना दलजस्तै माहिर देखियो । अन्तर्पार्टी लोकतन्त्रको मामिलाका पनि रास्वपा उस्तै कमजोर देखिएको छ । यसबीच रास्वपा कार्यकर्ताले कुनै आलोचनात्मक सोच, चेतना र संस्कारको विस्तार गरेनन् । पुरानै पार्टीका कार्यकर्ताजस्तो ‘झोले’ चरित्र देखाए ।

नेतृत्वका कमजोरीविरुद्ध बोल्न सक्ने साहस कसैमा देखिएन । बरु त्यो हिजो कांग्रेस एमालेमा देखिन्थ्यो । कांग्रेसमा गगन थापा, एमालेमा घनश्याम भुसाल पार्टी संस्थापन पक्षको इच्छाविपरीत हुर्किएका नेता थिए । रास्वपामा त संस्थापन विपरीत भूमिका गर्ने नेता नै भएनन् । यस्तो दललाई संसारमा कहीँ पनि लोकतान्त्रिक मानिँदैन ।

‘हिरोइज्म’ रास्वपाको अर्को ठूलो समस्या बनेर देखा पर्‍यो । ‘पार्टी भन्नु नै रवि, रवि भन्नु नै पार्टी’ भने जस्तो स्थिति उत्पन्न भयो । चाहेर पनि सभापतिको इच्छाविपरीत बोल्ने साहस कसैको रहेन ।

रास्वपाको उदय सबै पुराना दललाई जस्तै एमालेलाई पनि मन परेको थिएन । तर, खुलेर विरोध गर्नुपर्ने ठाउँ बनिसकेको थिएन । अब रास्वपाका कमजोरी एकपछि अर्को गर्दै पर्दाफास हुँदै गएका छन् । तसर्थ, ओली रास्वपामाथिको वचन-वाण बढाउन प्रेरित भएका हुन् ।

इलाम २ को उपनिर्वाचन परिणामले एमाले र पुराना दलका लागि यस्तो सहजता सृजना भयो । रास्वपाको विजय यात्रा बारामै रोकिएको थियो, इलाम २ पुगेर ठहरावमा गयो । रास्वपाको भोट पहिचानवादी स्वतन्त्र उम्मेदवारको भन्दा पनि धेरै कम आयो । जमानतसम्म जोगाउन नसक्ने चौथो स्थानमा धकेलियो । यसो हुनुमा रास्वपाको उपरोक्त कमजोरी जिम्मेवार थिए ।

नयाँ र पुराना दलबीचको मुख्य भिन्नता नै यही हो कि पुराना दलको निश्चित विचारधारात्मक, सङ्गठनात्मक तथा विरासत आधारित मतदाता हुन्छन् । कुनै एक चुनावमा कमजोर भए पनि त्यस्ता दल फेरि पुनर्जीवित हुन सक्दछन् । तर, नयाँ दलसँग त्यस्तो स्थिर मतदाताको अंश हुँदैन । बलियो सङ्गठन, विरासत र विचारधारात्मक अपील हुँदैन । नयाँ दलले नैतिक मूल्य प्रणाली र छवि आधारित ‘मास अपिलिङ’ बाट भोट प्राप्त गर्नुपर्ने हुन्छ । जब यो गुण र क्षमता गुम्छ, नयाँ दलको सबैथोक गुम्छ ।

रास्वपाले नैतिक बल, स्वच्छ छवि र राजनीतिक विश्वासनीयता; तीन वटै चिज यसबीच लगभग गुमाएको छ ।

राजनीतिको एक आम नियम हुन्छ, जुन शक्ति जतिखेर कमजोर हुन्छ, विरोधीले आक्रमण पनि त्यतिखेरै तीव्र पार्दछन् । बलियो हुँदा त ती मौका पर्खेर बसेका हुन्छन् ।

एमाले अध्यक्ष ओलीले बढाएको दबाब र आक्रमण रास्वपा कमजोर हुन थालेको मौकाको रणनीति हो । रास्वपामाथि आगामी दिनमा पुराना दलले झन् धेरै आक्रमण गर्नेछन् । त्यो कुनै नयाँ र अनौठो कुरा हैन, अनौठो कुराचाहिँ के हो भने रास्वपाले आफैँले छोटो अवधिमै आफ्नो राजनीतिक औचित्यलाई कमजोर पारेको छ ।

यो पनि पढ्नुहोस :

गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाउने मात्रै छुट छैन, अब निर्क्योल निकाल्नुपर्छ

प्रश्नको घेरामा डा. स्वर्णिम वाग्ले

ओलीको टिप्पणी : रविविरुद्ध कांग्रेस खनिनु भँगेरा मार्न तोप बोकेर निस्कनु सरह

देशको अवस्था रास्वपाले बिगारेको भनेर पुराना पार्टीहरू पन्छिन खोजेका छन् : मनिष झा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved