काठमाडौं । भागबण्डा मिलेसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएको छ ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष आज दाबी पेश गर्ने बताए ।
सत्ता गठबन्धनबीच जनमत पार्टीलाई मुख्यमन्त्री, एमालेलाई भौतिक पूर्वाधार, माओवादीलाई अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ । समाजवादी सहमत भएसँगै जनमतले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताएको छ ।
मधेसमा जनमतलाई मुख्यमन्त्री दिन एमाले र माओवादी केन्द्र यसअघि नै सहमत भएका थिए । एमाले र माओवादी केन्द्रको निर्णयमा असहमति जनाएको नेकपा एकीकृत समाजवादी अन्ततः स्वास्थ्य मन्त्रालय पाउने गरि सरकारमा जाने भएको छ ।
मुख्यमन्त्री पाउने भएपनि जनमतले कसलाई अघि सार्ने भन्नेबारे अझै निर्णय गर्न सकेको छैन । मधेस प्रदेश संसदीय दलको नेता महेश यादव भएपनि जनमत भित्र यादव बाहेकलाई मुख्यमन्त्री बनाउनु पर्ने भन्दै नेताहरुले अध्यक्ष सिके राउतमाथि दबाब बढाएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उपेन्द्र यादव निकट मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।
यादवले विश्वासको मत लिन अगावै विपक्षी गठबन्धनले बहुमतको दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष प्रस्ताव पेश गर्न लागेका हुन् ।
१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ । जनमतको नेतृत्वको सरकारलाई बहुमत पुर्याउन लोसपाको पनि साथ जरुरी देखिन्छ । लोसपाका ८ सांसद छन् ।
एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ९ जना सांसद छन् । एकीकृत समाजवादीका ७ सांसद छन् । एमालेका तर्फ बाट रामचन्द्र मण्डल सभामुख छन् । यता जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् ।
Facebook Comment
Comment