काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन् ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानबिन समिति बनाउन निर्माण गरिएको वार्ता समितिका सदस्य बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमती जुटाउने प्रयास गरेपनि महामन्त्री गगन थापा पक्ष भाँड्ने गरी वार्तामा बस्ने गरेको आरोप लगाए ।
सोमवार उनले कांग्रेसको महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाए । प्रमुख सचेतक बर्ताैलाले कांग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको बताए । उनले संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको स्पष्ट पारे ।
प्रमुख सचेतक बर्तोंलाले भने, ‘सहमती र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने ध्येयका साथ त्यो कार्यदलमा बसेर काम ग र्यौं तर नेपाली कांग्रेसको तर्फबाट त्यो इमान्दारिता, समस्यालाई समाधान हुनेगरी आफूलाई प्रस्तुत गर्ने त्यो जिम्मेवारी बोध हामीले देखेनौं । त्यसकारण निष्कर्षमा पुग्न सकेनौं ।’
प्रमुख सचेतक बर्तौलाले संवैधानिक बाध्यता भएकाले जेठ १५ गते बजेट ल्याउन कांग्रेसले पनि रोक्न नमिल्ने बताए । सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई नेपाली कांग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउँदा सहज वातावरण बनाउनुपर्ने उनको भनाई थियो । प्रमुख सचेतक बर्ताैलाले संसदको सबैभन्दा ठूलो दल भएका नाताले पनि नेपाली कांग्रेसले बजेट ल्याउनका लागि संसदमा अवरोध गर्न नमिल्ने बताए ।
सरकारले संवैधानिक प्रावधान अनुसार जेठ १५ गते मंगलबार संसदमा बजेट पेश गर्दैछ ।
Facebook Comment
Comment