काठमाडौं । नेपाली लेखक संघले नेपाली साहित्यमा बौद्ध दर्शनको प्रयोगबारे अध्ययन गर्ने भएको छ । संघ र जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रमको संयुक्त आयोजनामा काठमाडौँको लप्सेफेदीमा भएको कार्यक्रममा सङ्घले उक्त निर्णय गरेको हो ।
जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रममा आयोजना भएको उक्त कार्यक्रममा नेपाली ‘हाम्रो बाटो, हाम्रो गन्तव्य’ विषयक संवाद तथा साहित्यिक कार्यक्रममा सङ्घका सभापति तीर्थ श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभू घिमिरेलगायत कवि तथा पत्रकारहरुले नेपाली साहित्यमा पूर्वीय दर्शनको चर्चा र अध्ययन प्रशस्त भए पनि बौद्ध दर्शनको अध्ययन कम भएकाले यसबारे लेखकहरुले विशेष चासो राख्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र सांसद प्रतिमा गौतमले यस किसिमका कार्यक्रमलाई बढावा दिनुपर्ने बताए । कार्यक्रममा समाजसेवी स्वर्गीय मित्रसेन दाहालको योगदानबारे पनि चर्चा गरिएको थियो । सो अवसरमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले समाज सेवाका क्षेत्रमा स्वर्गीय दाहालको अविश्मरणीय योगदान रहेको चर्चा गरे ।
“लेखकहरूलाई सत्ता होइन स्वतन्त्रता प्रिय लाग्नुपर्छ । स्वतन्त्रताप्रेमी लेखकहरुले मात्रै प्रजातान्त्रिक प्रणालीको प्रवर्द्धनमा सहयोग पुर्याउन सक्छन्,” उनले भने ।
साहित्यकार विनोद दाहालले समाजसेवी स्व मित्रसेनबारे लेखिएका पुस्तकहरूबारे चर्चा गरे। डा ज्ञानु पाण्डेले समाजसेवाबारे गहन साहित्य लेखिनुपर्नेमा जोड दिईन् । कार्यक्रममा २६ कविले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा काठमाडौँ उपत्यका बाहिरका साहित्यकारहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो । रासस
Facebook Comment
Comment