सभामुख घिमिरे र प्रधानमन्त्रीबीच छलफल, राष्ट्रपतिलाई धन्यवाद दिन नपाएकोमा सभामुखको दुखेसो

नेपालभ्युज

सभामुख घिमिरे र प्रधानमन्त्रीबीच छलफल, राष्ट्रपतिलाई धन्यवाद दिन नपाएकोमा सभामुखको दुखेसो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोध लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री र सभामुखबीच करिव ४५ मिनेट छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक संसद अवरोधकै विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

छलफलका क्रममा सभामुख घिमिरेले प्रतिपक्षीको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको भन्दै दुख व्यक्त गरेका छन् ।

संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यसूची पनि थियो । तर सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन । यो विषयलाई सभामुखले गम्भीरतापूर्वक लिएको उनको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न मंगलबार कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो ।

कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन । कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved