अमेरिकी संसदद्वारा युक्रेन र इजरायलका लागि अरबौं डलर बराबरको नयाँ सैन्य सहायता स्वीकृत

नेपालभ्युज

अमेरिकी संसदद्वारा युक्रेन र इजरायलका लागि अरबौं डलर बराबरको नयाँ सैन्य सहायता स्वीकृत

काठमाडौं । रुसको आक्रमणको प्रतिरोध गर्न संघर्ष गरिरहेको युक्रेनका लागि अमेरिकी संसदले अरबौं डलर बराबरको नयाँ सैन्य सहायता स्वीकृत गरेको छ ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले युक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेज पास गरेको हो ।

सदनमा भएको मतदानमा उक्त प्रस्तावको पक्षमा ३ सय ११ र विपक्षमा १ सय १२ मत परेको थियो । यो प्रस्ताव अब सिनेटमा जानेछ । सिनेटबाटसमेत यो प्रस्ताव पास हुने सम्भावना छ । दुवै सदनबाट पारित भएपछि राष्ट्रपति जो बाइडेनबाट स्वीकृत गरेपछि यो प्रस्तावले कानूनी रुप प्राप्त गर्नेछ ।

राष्ट्रपति जो बाइडेनले यो सहयोगपछि युद्ध रोकिने र हजारौँ जीन्दगी जोगिन सक्ने दाबी गरेका छन् । हाउस अफ रिप्रजेन्टेटिभ्सबाट उक्त प्रस्ताव पारित भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन् ।

रुसी आक्रमण झेलिरहेको युक्रेनले अमेरिकी सहयोग नआए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको थियो ।

युक्रेनसँगै अमेरिकी तल्लो सदनबाट इजरायलका लागि २६ अर्ब डलर सहयोग प्याकेज पनि पारित भएको छ । गाजामा मानवीय सहयोगका लागि भन्दै ९ अर्ब डलरको राहत प्याकेजसमेत पारित भएको छ ।

अमेरिकी सदनमा विदेश मामिला समितिका अध्यक्ष माइकल म्याक्कोलले सदनमा सम्बोधन गर्दै नराम्रो अवस्था बढ्दै गइरहेकाले अमेरिकाका विरोधीहरुविरुद्ध अब काम गर्ने समय आएको बताएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved