कोशी प्रदेश

नयाँ सरकार बनाउन सङ्कल्प प्रस्ताव ल्याउँदै एमाले-माओवादी, मुख्यमन्त्री कार्कीले गर्लान् मार्गप्रशस्त ?

नेपालभ्युज

नयाँ सरकार बनाउन सङ्कल्प प्रस्ताव ल्याउँदै एमाले-माओवादी, मुख्यमन्त्री कार्कीले गर्लान् मार्गप्रशस्त ?

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले बुधबार साँझ ६ बजे प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन्, जसअनुसार अहिले ६ बजे बैठक बस्दैछ ।

बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि सङ्कल्प प्रस्ताव दर्ता गराउँदै छ । केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाइसकेको र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनुपर्ने भन्दै एमाले-माओवादीका सांसदले सङ्कल्प प्रस्ताव दर्ता गराउन लागेका हुन् ।

माओवादी सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’का अनुसार प्रस्तावमा नयाँ सरकार गठनको प्रक्रिया प्रदेश प्रमुखमार्फत सुरु हुनुपर्ने माग रहनेछ । “मुख्यमन्त्रीजीलाई मार्गप्रशस्त गर्नका लागि सुझाव दिने र नयाँ सरकार गठनको प्रक्रिया प्रदेश प्रमुखमार्फत अगाडि बढनुपर्ने माग प्रस्तावमा रहनेछ,” उनले भने ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री कार्की (Kedar karki) ले बहुमत गुमाएका छन् । तर, राजीनामा भने दिएका छैनन् । यसअघि एमाले-माओवादीले मुख्यमन्त्री कार्कीले स्वत: राजीनामा दिनुपर्ने बताएका थिए । तर, मुख्यमन्त्री कार्कीले भने राजीनामा नदिने बरु सदनको सामना गर्ने अडान लिएपछि उनीहरूले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

प्रदेश सरकारले भने डेढ महिनापछि २०८१ जेठ ११ गते प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । त्यसपछि एमाले-माओवादीका सांसदले संसद्को विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका हुन् ।

एमाले र माओवादी सांसदको समावेदनपछि कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

प्रदेश सभाका सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले चैत २६ गते लिखितरूपमा अधिवेशन बोलाउन माग गरेका थिए । तर, मुख्यमन्त्री कार्की भने त्यसलाई छल्न चाहन्थे । तर, प्रदेश प्रमुख खापुङले अधिवेशन बोलाइसकेपछि अब मुख्यमन्त्रीसमेत उपस्थित हुनुपर्छ ।

मुख्यमन्त्री कार्कीमाथिको समर्थन फिर्ता लिएर एमाले-माओवादीका ५३ सांसदले एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्की भने अझै राजीनामा दिने ‘मूड’मा छैनन् । कांग्रेसका एक सांसद भन्छन्, “उहाँले राजीनामा दिनुहुन्न, जे गर्ने/हुने प्रक्रियाबाटै हुन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved