सुनसरीमा कर्फ्यू आज पनि कायमै, घटनाबारे अनुसन्धान गर्दै प्रहरी

नेपालभ्युज

सुनसरीमा कर्फ्यू आज पनि कायमै, घटनाबारे अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । सुनसरीमा दुई समूहबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यू जारी छ ।

शक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समूहबीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्यूलाई आज पनि निरन्तरता दिइएको हो ।

सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्यूलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।

स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

कर्फ्यू जारी भए पश्चात जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकामय प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए ।

सो समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।

यसैबीच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको जानकारी दिए ।

यद्यपि, सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी बाक्लो सुरक्षा तैनाथी मिलाइएको उनले बताए । एसपी रेग्मीले कर्फ्यू उल्लंघन गर्न खोज्नेलाई पक्राउ गरिएको बताए ।

शक्रबार हरिनगरको भुटाहाबाट चर्केको हिन्दु मुस्लिम बिचको झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो ।

दुवै समूह आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था लियन्त्रणमा लिन ८३ राउण्ड हवाई फायर र ३१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

घटनामा परी ४० बढी घाइते भएका थिए भने घाइते हुनेमा प्रहरीको संख्या ज्यादा रहेको दाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved