किन ट्रोल बनिरहेका छन् हार्दिक पाण्डेय ?

नेपालभ्युज

किन ट्रोल बनिरहेका छन् हार्दिक पाण्डेय ?

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (IPL) मा मुम्बई इन्डियन्स (Mumbai Indians)ले खराब प्रर्दशन पस्किरहेको छ । आफ्नो सुरूवाती तीनवटै खेलमा मुम्बईले क्रमश: ६ रन, ३१ रन र ६ विकेटको हार व्यहोरेको छ ।

टीमले खराब प्रर्दशन गरिरहँदा कप्तान हार्दिक पाण्डेय (Hardik Pandya) भने गाली, ट्रोलको सिकार बनिरहेका छन् ।

यही सिजन मात्र गुजरात टाइटन्स(Gujarat Titans)बाट आश्चर्यजनक रूपमा मुम्बई आएका पाण्डेयले टीमलाई माथि उस्काने अपेक्षा थियो । पाँच पटक आईपीएल (IPL)को उपाधि जिताएका टीमका पूर्वकप्तान रोहित शर्मा(Rohit Sharma)को स्थानलाई सम्हाल्नु उनको लागि सहज भने थिएन । उनले टीमलाई राम्रो प्रदर्शनका साथ अगाडि बढाउने टीमका व्यवस्थापक, समर्थकहरूको विश्वास थियो ।

तर, टीमको खराब प्रर्दशन, टीमका पूर्वकप्तान शर्माप्रतिको अनादर, अन्य खेलाडीमाथिको व्यवहारका कारण पाण्डेय खेलप्रेमीहरूको निशानामा परेका छन् ।

टीमको पहिलो खेलमा नै कप्तान पाण्डेयले रोहितलाई मैदानमा अनादर गरेको प्रस्टै देखिन्थो ।

पाण्डेयले पूर्वटीम गुजरातविरूद्ध टस जितेर पहिले बलिङ रोजेका थिए । र, आश्चर्यजनक रूपमा पहिलो ओभरमा आफैँ बलिङ गर्न आए र ११ रन खर्चे ।

दोस्रो ओभरमा फास्ट बलर लुक उडलाई बलिङ गराएका उनले तेस्रो ओभरमा फेरि आफैँलाई ल्याए । र, फेरि ९ रन खाए ।

तीन ओभरमा गुजरातले बिना विकेट क्षति २७ रन जोडेपछि चौथो ओभरमा टीमका मुख्य बलर जसप्रित बुमराहलाई ल्याउन बाध्य भए पाण्डेय । बुमराहले सफलता पनि दिलाइहाले ।

पाण्डेय त्यसपछि एकैपटक १५ औं ओभरमा बल लिएर आए । त्यतिबेला पनि उनले कुनै चमत्कार गर्न सकेनन् । सो ओभरमा उनले फेरि १० रन खर्चिए । यसरी म्याचमा उनले तीन ओभर बलिङ गरेर ३० रन खर्चिए भने कुनै विकेट लिन सकेनन् ।

बलिङमा चल्न नसकेका पाण्डेयसँग ब्याटिङबाट टिमलाई जित दिलाउने अवसर थियो । तर उनी सातौँ नम्बरमा मात्रै क्रिजमा आए, जतिबेला मुम्बईलाई जितका लागि ११ बलमा २१ रन चाहिएको थियो । हार्डहिटर पाण्डेयका लागि सुहाउँदो सिनारियो हो यो ।

तर, उनले चार बलको मात्रै खेल्न सके । जसमा एक चौका र एक छक्कासहित १० रन बनाएर आउट भए । पाण्डेय आउट हुँदा मुम्बइलाई ३ बलमा ९ रन चाहिएको थियो । तर, दुई रन मात्र जोड्न सक्यो ।

यता, मुम्बई इन्डियन्सले फिल्डिङ गर्दा पूर्वकप्तान रोहितसँग उनको ट्यूनिङ नमिलेको स्पष्टै देखिन्थ्यो । उनी रोहितलाई अपमानजनक तरिकाले हातले ईशारा गर्दै फिल्डमा यता र उता सर्न अह्राइरहेका थिए ।

साथै, रोहितले दिएका सुझावहरू पनि उनले मानेनन् । एउटा दृश्यमा रोहितले पाण्डेयलाई फिल्ड पोजिसनबारे सिकाउन खोजिरहेका हुन्छन् ।

तर, बीचमा इशान किसनले हस्तक्षेप गर्छन् र अर्को तरिकाले फिल्ड सेट गर्न भन्छन् । पाण्डेयले रोहित होइन, इशानको सुझाव मान्छन् ।

अर्को दृश्यमा पाण्डेयले रोहितले जसप्रित बुमराहसँग झर्कोफर्को गर्दै हिँडेको पनि देखिएको छ । रोहित र बुमराहले पाण्डेयलाई केही भन्न खोजिरहेका हुन्छन्, तर पाण्डेय फन्किएर हिँड्छन् ।

यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । त्यसपछि पाण्डेयको ट्रोल सुरू भएको हो । जुन अहिलेसम्म रोकिएको छैन ।

पछिल्ला दुई सातादेखि पाण्डेयलाई खचाखच भरिएको क्रिकेट स्टेडियममा चर्को ट्रोल बनाइरहेका छन् ।

मुम्बई इन्डियन्सले हैदरावादमा भएको आफ्नाे दोस्रो खेलमा सनराइजर्स हैदरावादसँग खेल्दा पनि पाण्डेयलाई यस्तै अवस्थाको सामना गर्नुपरेको थियो ।

गत सोमबार मुम्बईको वानखेडे स्टेडियममा राजस्थान रोयल्ससँगको खेलमा टसका क्रममा फ्यानले पाण्डेयविरूद्ध गाली गरेपछि कमेन्टेटर सञ्जय माञ्जरेकरले स्टेडियममा बसेका मानिसहरूलाई राम्रोसँग व्यवहार गर्न आग्रह गरेका थिए ।

मांजरेकरले फ्यानहरूलाई मानवीय व्यवहार गर्न भनेको अडियो क्लिप पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, उनको भनाइका बाबजुद पनि रंगशालामा बसेका फ्यानहरू शान्त भएनन् । सोही क्रममा पाण्डेले कठिन क्याच गुमाएपछि समस्या फ्यानहरूको आलोचना गर्ने बाटो पाए ।

तर, ट्रोल खेलको दोस्रो इनिङ्समा तालीमा परिणत भयो, जब ब्याटिङ गर्न आएका पाण्डेयले चौका प्रहार गरे । तर, पनि उनको ब्याटले टीमलाई जित दिलाउन सकेन ।

खेलपछि राजस्थान रोयल्सका स्पिनर रविचन्द्रन आश्विनले पाण्डेयको समर्थन गर्दै फ्यानहरूलाई त्यसो नगर्न आग्रह गरे ।

राजस्थानका फास्ट बलर ट्रेन्ट बोल्टले पनि आफ्नो पुरानो सहकर्मी पाण्डेयलाई समर्थन गर्दै यस्तो ट्रोलिङमा ध्यान नदिन भनेका छन् ।

खेलकुद पत्रकार शारदा उग्राले पाण्डेयविरूद्ध हुने यस्तो हुटिङ खेलमा विरलै देखिने बताइन् ।

सन् १९८९ देखि क्रिकेटसम्बन्धी समाचार लेख्दै आएकी उग्रा भन्छिन्, ‘खेलाडीलाई रंगशालाका विभिन्न स्ट्यान्डमा फ्यानहरूले जिस्क्याउने गरेका छन्, तर यसरी लगातार ‘एक मैदानबाट अर्को र आफ्नो घरेलु मैदानमा पनि‘ यो सामान्य कुरा होइन ।’

उनी भन्छिन्, ‘मलाई लाग्छ यो धेरै सामाजिक सञ्जालले सिर्जना गरेको हो । यो लगभग एउटा चलन बनिसकेको छ, जुन मुम्बई इन्डियन्सको हरेक खेलमा देखिन्छ।’

गुजरातबाट मुम्बई जाने क्रममा प्रि–सिजन प्रेस कन्फ्रेन्स भएको थियो । जसमा पाण्डेयलाई उनको टीमसँगको सम्झौताबारे सम्भावित प्रावधानको बारेमा सोधिएको थियो। तर, उनले यसबारे कुनै जवाफ दिएका थिएनन् । खेलप्रेमीहरू त्यहाँबाट पनि पाण्डेयसँग रूष्ट भएका थिए ।

यसैगरी पत्रकारले मुख्य प्रशिक्षक मार्क बाउचरलाई शर्माको स्थानमा हार्दिक पाण्डेयलाई यो सिजन कप्तान बनाउने कारण सोध्दा पाण्डेय फेरि मौन बसेका थिए ।

टीमको खराब प्रदर्शनसँगै टीम व्यवस्थापन पक्षले कप्तान परिवर्तनको तयारी थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रोहितलाई पुन: कप्तानको जिम्मेवारी दिए टीमले आगामी खेलमा उल्लेखनीय प्रदर्शन गर्ने व्यवस्थापन पक्षको बुझाई छ । र, यो फ्यानहरूको पनि माग हो ।

अब क्रिकेट प्रेमीहरूले पाण्डेयलाई कहिले अंगालो दिने र साथ दिने समयले नै बताउला । उनले राम्रो प्रदर्शन गरेर मुम्बईलाई जित दिलायो भने सायद आज गिल्ला गर्नेहरूले त्यसो गर्ने छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved