विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने कम, बर्सेनी १८ हजारको मृत्यु

नेपालभ्युज

विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने कम, बर्सेनी १८ हजारको मृत्यु

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस मनाइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । नयाँ थप बिरामीमध्ये करिब आधा मात्र उपचारका दायरामा आएकाकेन्द्रले जनाएको छ ।

तथ्याङ्क हेर्ने हो भने नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएका देखिन्छन् । साथै क्षयरोगका कारण बर्सेनी १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भने, “क्षयरोगको जोखिममा १५ देखि ४४ वर्ष उमेर समूहका मानिस छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दामाथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।”

हाल मुलुकभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध हुने गरेको छ । क्षयरोगको जोखिममा कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस रहेका डा श्रेष्ठले जानकारी दिए ।

केन्द्रका निर्देशक डा श्रेष्ठले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताए ।

सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य सरकारले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved