लगानी सम्मेलनको तयारीमा जुट्यो सरकार, लगानीकर्तालाई विश्वस्त पार्ने गृहकार्य

नेपालभ्युज

लगानी सम्मेलनको तयारीमा जुट्यो सरकार, लगानीकर्तालाई विश्वस्त पार्ने गृहकार्य

काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनको गृहकार्यलाई तीव्रता दिन मातहतलाई निर्देशन दिएका छन् । लगानी सम्मेलन निर्देशक समितिको बैठकमा मन्त्री पुनले सम्मेलनलाई फलदायी बनाउने तर्फ गृहकार्य गर्न निर्देशन दिएका हुन् ।

आगामी बैशाख १६ र १७ गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन हुदैछ । सम्मेलनको दिन नजिकिदै गर्दा अर्थमन्त्रीले सरोकारवालासँगको छलफल बढाएका हुन् ।

लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका मन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्ने गरि पूर्वाधार विकासलगायतका सम्भावना खोज्न सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहने बताए ।

अर्थमन्त्री पुनले विभिन्न देशमा रहेका नेपाली कार्यालयको माध्यमबाट पनि लगानी सम्मेलनलाई सफल बनाउन पहल गर्नु पर्ने बताए । अवैतनिक दुतहरुसँग पनि भर्चुअल बैठक बसेर लगानी सम्मेलनको प्रचार प्रसार गर्न निर्देशन दिए । उनले लगानी सम्मेलनका लागि गैर आवासीय नेपालीहरुले बढी चासो देखाइरहेकाले उनीहरुलाई पनि बैठकमा सहभागी गराइ उनीहरुको सुझाव लिन सकिने बताए ।

बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवम् लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समिति तथा कार्यान्वयन समितिको निर्देशन बमोजिम सचिवालय तथा परियोजना छनौट सम्बन्धी प्राविधिक समिति र कानुन सुधार समितिका तर्फबाट भएका कामहरुको विस्तृत प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्ष र उच्च अधिकारीको उपस्थिति थियो ।

परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति, पर्यटन, उद्योग, कृषि, सहरी, संघीय मामिलालगायत विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव र निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष निर्देशक समितिमा छन् ।

नेपालमा लगानीको प्रतिवद्धता जनाएका कम्पनीहरूले लामो प्रक्रिया, प्रतिफलको सुनिश्चिततामा कमी र स्थिर नीतिको अभावका कारण लगानी नगरी फर्किने गरेका छन् । यो सन्दर्भमा हुन लागेको सम्मेलनमा सरकारले कानूनी झन्झट अन्त्य गर्दै लगानीमैत्री वातावारण बनाउन लगानीकर्तालाई विश्वस्त पार्ने गृहकार्य गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved