सूर्यदर्शन सहकारीका पीडितले पोखरामै बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र, पनि सरकारले चासो नदिएको गुनासो

नेपालभ्युज

सूर्यदर्शन सहकारीका पीडितले पोखरामै बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र, पनि सरकारले चासो नदिएको गुनासो
फाइल तस्वीर

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले समस्या समाधानको माग गर्दै आइतबार पोखरामै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ५५ करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । पीडितले समस्या देखिएको १ वर्ष ८ महिनासम्म सरकारले कुनै पनि समाधानको उपाय नदिएको र बचतकर्ताको रकम फिर्ता नभएको गुनासो गरे ।

‘यत्तिका समयसम्म पीडितको पिरमर्का र माग प्रति उचित सुनुवाइ भएको छैन । सरकार मौन र व्यस्त छ । हाम्रो पीडा जस्ताको त्यस्तै छ,’ उनीहरूले भने, ‘संस्थासँग जोडिएका पीडित पोखरेली जनताको घरमा चुलो बलेको छैन, छोराछोरीको फिस तिर्न नसक्दा परीक्षा बाट वञ्चित हुनु परेको छ । परिवारमा सम्बन्ध विच्छेद सम्म हुन थालेको छ ।’

अहिलेको सरकारबाट पनि सहकारी समस्या नसुल्झिए कहिल्यै समाधान नहुने उनीहरूको भनाइ छ ।

गत साउन २१ गतेबाट सञ्चालक विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सङ्गठित अपराध मुद्दामा जाहेरी परेको थियो । त्यस बेला १ हजार ३७ जनाले जाहेरी दिएका थिए । प्रहरीले १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

हालसम्म ५ जना पक्राउ परेका छन् । सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले पीडकहरू सुरक्षित बसिरहेको भन्दै तत्काल पक्राउ र कारबाहीको माग गरे । ‘एक जना जीबी राई भन्ने व्यक्ति राज्य व्यवस्थाको चुनौती बनेको छ । तत्काल पक्राउ गरेर पीडितलाई न्याय दिइयोस्,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved