राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, को हुन् उनी ? 

नारायण प्रसाद दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा लागेका हुन् । तर, पूर्णकालीन राजनीतिज्ञ भने उनी २०३६ सालपछि मात्रै बने । 

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, को हुन् उनी ? 

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकको मतविभाजन प्रक्रियाद्वारा उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहाल नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा अध्यक्षमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ जना सांसदहरूले मतदान गरे भने विपक्षमा १७ सांसद उभिए ।

बैठकको मत-विभाजन प्रक्रियामा ५६ जना सांसदहरूको उपस्थिति थियो । त्यसमा शर्माको पक्षमा १७ जना मात्रै सांसद देखिँदा विपक्षमा ३९ जना उभिए । यससँगै शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

को हुन् दाहाल ?

दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा लागे । तर, पूर्णकालीन राजनीतिज्ञ भने उनी २०३६ सालपछि मात्रै बने ।

२०४८ महाधिवेशन प्रतिनिधि बनेका उनी अहिले पार्टीको स्थायी समिति सदस्य हुन् । उनी २०५७ सालदेखि पार्टी केन्द्रीय सदस्य भएर काम गर्दै आएका छन् ।

बृहत् शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका उनी २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन ३ बाट निर्वाचित भए  ।

भारतमा रहेर नेपाली एकता समाजमा समेत काम गरेका उनी पछि भेरी-कर्णाली र सुर्खेत जिल्लाको इन्चार्जसमेत बने । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी कास्की जिल्लाको इन्चार्ज बनेका थिए ।

दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशासनिक सल्लाहकार भएरसमेत काम गरिसकेका छन् । २०७५ सालमा एमाले-माओवादी एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उनी बागमती प्रदेश समिति अध्यक्ष बनेका थिए ।

उनलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डका सहोदर भाइ भन्ने गरिन्छ । तर, उनी सहोदर भाइ भने होइनन् । माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीका अनुसार प्रचण्डसँग थर मिल्ने हुनाले उनलाई प्रचण्डका सहोदर भाइका रूपमा ‘प्रोजेक्सन’ गर्ने गरिएको हो ।

उनका अनुसार दाहाल प्रधानमन्त्री प्रचण्डका दाजुभाइ खलकका भाइ भने हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved