माइली राईको नियति : चारहजार नपाएपछि फर्कियो शववाहन, श्रीमान्‌‌को शव रिक्सामा राखेर पुर्‍याइन् आर्यघाट

शववाहन त आयो तर, पैसा नभएपछि फिर्ता गयो । शववाहन फिर्ता भएपछि माइलीले श्रीमान्‌ले नै चलाउँदै आएको रिक्सा निकालिन् । शव रिक्सामा हालिन् र छोरा-छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् ।

नेपालभ्युज

माइली राईको नियति : चारहजार नपाएपछि फर्कियो शववाहन, श्रीमान्‌‌को शव रिक्सामा राखेर पुर्‍याइन् आर्यघाट

काठमाडौं । पशुपति आर्यघाटस्थित किरियापुत्री भवनको १०७ नम्बर कोठामा किरिया बसेकी छिन्, दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राई ।

गत शनिबार उनका श्रीमान् पाण्डव बिते । शववाहनलाई दिने पैसा भएन । त्यसपछि शव रिक्सामा राखेर आफैँले पशुपति आर्यघाट पुर्‍याइन् । हारगुहार गरेर दाहसंस्कार गरिन् । तर, किरिया कसरी सक्ने भन्ने उनलाई चुनौती थपिएको छ । माइलीसँग बिहान-बेलुका खाने खाद्य-थोकसमेत छैन ।

नुवाकोटको लिखु गाउँपालिका ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा-छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही छैन । यसैले कोराभित्र बसिरहेकी माइलीसँग बिहान-बेलुका खाने खाद्य-थोकसमेत छैन ।

डेरामा बस्दै आएकी माइली बिहान-बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । तर, शनिबारबाट उनका दु:ख दोब्बर भएको छ । जब उनका श्रीमान् पाण्डव बिते ।

श्रीमान् पाण्डवको  मृत्यु भएपछि शववाहन आयो, तर दिने पैसा नभएपछि फिर्ता गयो । शववाहन रित्तै फिर्ता भएपछि माइलीले श्रीमान्‌ले नै चलाउँदै आएको रिक्सा निकालिन् । शव रिक्सामा हालिन् र छोरा-छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् ।

माइली सुनाउँछिन्, “लास लैजान शववाहन बोलाइयो । कोठामा आएको थियो, आर्यघाटसम्म लैजान चारहजार रुपैयाँ माग्यो । त्यत्रो पैसा थिएन । पैसा छैन भनेपछि शववाहन शव नलिइ फर्कियो । शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन भन्दै कराउन थाले । श्रीमान्‌ले चलाउँदै आएको रिक्सामा शव राखेर आर्यघाट लग्यौँ ।”

दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । बिहान करिब १० बजेको थियो । त्यहाँका कर्मचारीहरूले चारहजार रुपैयाँ शुल्क मागे । शव दहन केन्द्र पुगे पनि पैसा नभएकाले दिनभरजसो रिक्सामै राखिन् । पैसा नभएपछि उनको श्रीमान्‌को शव जल्न सकेन ।

उनको बिजोक देख्नेहरूले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यलाई जानकारी गराए । वैद्य तुरुन्तै घाट पुगे । चारहजार रुपैयाँ शुल्क भुक्तानी गरिदिए । त्यसपछि जल्यो, माइलीका श्रीमान्‌को शव ।

श्रीमान्‌को शव जलाएर उनी डेरा फिर्ता भइन् । किरिया बस्ने भन्दै डेरा पुगेकी उनलाई घरबेटीले अवरोध गरे । त्यसपछि उनी फेरि घाट नै गइन् । घाटमै बस्दा कोठाको बहाल तिर्नुपर्ने भयो । रनभुल्लमा परेकी माइलीले फेरि पूर्वसांसद वैद्यलाई फोन गरेर दु:ख सुनाइन् ।

वैद्यले पैसा तिरिदिएपछि उनी आर्यघाटको १०७ नम्बर कोठामा किरिया बसेकी छिन् । तर, उनलाई बिहान-बेलुका खाने अन्नको अभाव छ । “खाने कुरा छैन, त्यही पनि किरिया बस्दैछु,” उनी सुनाउँछिन् ।

माइलीलाई सहयोग गरेका पूर्वसांसद् नरोत्तम वैद्य भन्छन्, “आर्थिक अवस्था नाजुक रहेछ । शव दहन गर्ने हैसियतसमेत रहेनछ । मैले शुल्क तिरिदिएँ । अब उनलाई खान लगाउन समस्या छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved