गत वर्ष इरानमा ८३४ जनालाई मृत्युदण्ड, सन् २०१५ यताकै उच्च

नेपालभ्युज

गत वर्ष इरानमा ८३४ जनालाई मृत्युदण्ड, सन् २०१५ यताकै उच्च

काठमाडौं । इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो ।

इरानले हालैका वर्षहरूमा फाँसी दिएर कार्यान्वयन गरेको मृत्युदण्डको सङ्ख्या सन् २०२२ मा करिब ४३ प्रतिशतले बढेको छ ।

नर्वेस्थित ह्युमन राइट्स ९आइएचआर० र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीको संयुक्त प्रतिवेदनमा एक वर्षमा आठ सयभन्दा बढी मृत्युदण्डको सजाय दुई दशकमा यो दोस्रो पटक भएको बताएका छन् । सन् २०१५ मा नौ सय ७२ लाई मृत्युदण्ड दिइएको थियो ।

दुवै समूहले इरानमाथि सन् २०२२ सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युपछि अधिकारीहरूलाई हल्लाएको विरोध प्रदर्शनका क्रममा इरानले समाजमा डर फैलाउनका लागि मृत्युदण्डको सजायको प्रयोग गरेको आरोप लगाएका छन् ।

आइएचआरका निर्देशक महमुद अमिरी–मोघद्दमले प्रतिवेदनमा भनेका छन्, “सामाजिक त्रास उत्पन्न गर्नु भनेको सत्तामा टिकिरहने शासनको एक मात्र तरिका हो र मृत्युदण्ड यसको सबैभन्दा महत्त्वपूर्ण साधन हो ।”

प्रतिवेदनमा आठ सय ३४ को आँकडालाई ‘आश्चर्यजनक कूल’ भनिएको छ । अधिकार समूहहरूका अनुसार इरानले सन् २०२२ को विरोध प्रदर्शनहरूमा सुरक्षा बलमाथि हमलासँग सम्बन्धित मामिलामा नौ जनालाई मृत्युदण्ड दिएको छ ।

तीमध्ये सन् २०२२ मा दुई, सन् २०२३ मा छ र सन् २०२४ मा एक जनालाई मृत्युदण्ड दिइएको छ । यद्यपि अन्य आरोपहरूमा मृत्युदण्डको सजयालाई बढाइएको छ । विशेषगरी हालैका वर्षमा गिरावट देखिएको लागुपदार्थसम्बन्धी मामिलामा मृत्युदण्डको सजाय बढेका छन् ।

“सन् २०२३ मा लागुपदार्थसँग सम्बन्धित मृत्युदण्डको सङ्ख्यामा नाटकीय वृद्धि हुनु विशेष चिन्ताको विषय हो, यो बढेर चार सय ७१ सम्म पुगेको छ । सन् २०२० मा रेकर्ड गरिएको आँकडाको तुलनामा यो १८ गुणा बढी हो”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा जातीय अल्पसङ्ख्यकका सदस्यहरू विशेषगरी इरानको दक्षिणपूर्वबाट सुन्नी बलुचलाई लागुपदार्थसँग सम्बन्धित आरोपमा ‘मृत्युदण्ड दिइएका मानिसहरूमा अत्यधिक प्रतिनिधित्व गरिएको’ बताइएको छ ।

समग्रमा बलुच अल्पसङ्ख्यकका कम्तीमा एक सय ६७ सदस्यलाई मृत्युदण्ड दिइएको छ । यो सन् २०२३ मा कूल मृत्युदण्ड सङ्ख्याको २० प्रतिशत हो । बलुच अल्पसङ्ख्यकको जनसङ्ख्या इरानमा केवल पाँच प्रतिशतको हाराहारीमा छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved