बैंकर पक्राउप्रति निजी क्षेत्र असन्तुष्ट, भन्छ- बैंकरको मनोबल खस्कनु राम्रो हैन  

नेपालभ्युज

बैंकर पक्राउप्रति निजी क्षेत्र असन्तुष्ट, भन्छ- बैंकरको मनोबल खस्कनु राम्रो हैन  

काठमाडौं । नेपालका निजी क्षेत्रका तीन वटै छाता संगठनले बैंकरहरुलाई पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार निजी क्षेत्रका तीन वटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै यस घटनाप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

बैंकिङ कसुर गरेकै भए पक्राउ गर्न उचित हुने भन्दै कसैलाई आरोपको भरमा पक्राउ गर्न नहुने निजी क्षेत्रको दाबी छ । यसरी बैंकरहरु पक्राउ पर्नुले समग्र नेपालको बैंकिङ क्षेत्र नै हच्किएको उनीहरूको निचोड छ ।

‘विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो की भन्ने देखिएको छ ।’, विज्ञप्तिमा लेखिएको छ ‘यस्ता कार्यले बैंकरहरुको कार्य दक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र त्यसको असर समग्र अर्थतन्त्रको वृद्धि विकासमा हुन सक्नेतर्फ ध्यान दिन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ ।’

अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने तर बैंकिङ्ग क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक भन्दा नकारात्मक असर बढी पार्न सक्ने निजी क्षेत्रको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved