काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्रपाका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा ठेकेदारसमेतले नापजाँच मूल्यांकन परिमाणभन्दा कम काठ उत्पादन संकलन भएको देखाइ वन पैदावार हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले ६ वटा कटान प्लटहरुको ३७ हजार क्यू. फिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरी केही काठ लुकाई छिपाई नजिकैको स-मिलमा बिक्री गरी अनियमितता गरेको आयोगले जनाएको छ ।
अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ ।
आरोप पत्रमा तत्कालीन संयोजक/अध्यक्ष हाल लुम्बिनी प्रदेश, निर्वाचन क्षेत्र नं ३(२) कपिलबस्तुका प्रदेश सभा सदस्य जानकी प्रसाद यादव, तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन ईकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रहमदेब महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु र तत्कालीन सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुतलाई प्रतिवादी बनाइएको छ ।
साथै, फरेष्टर रामरक्षा कुर्मी, वन रक्षक सन्जय थारु, वन रक्षक संजय केवट, वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वन रक्षक बासुदेव गोडिया (अबकास प्राप्त), संचालक एकनाथ घिमिरे र प्रोपराईटर गिता जि.सी.विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
Facebook Comment
Comment