काठमाडौं–तराई द्रुत मार्गको भौतिक प्रगति छ वर्षमा करिब ३१ प्रतिशत, सुरुङ मार्गको काम भने तीब्र

सेना भन्छ : अदालतमा परेको मुद्दा चाँडै छिनोफानो होस्

ठेक्का लागेका आयोजनाको काम तीब्रगतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्षभित्रै निर्माण कार्य सकिने नेपाली सेनाको दाबी छ ।

नेपालभ्युज

काठमाडौं–तराई द्रुत मार्गको भौतिक प्रगति छ वर्षमा करिब ३१ प्रतिशत, सुरुङ मार्गको काम भने तीब्र

काठमाडौं । निर्माण सुरु भएको ६ वर्षमा काठमाडौं–तराई द्रुत मार्गमा भौतिक प्रगति करिब ३१ प्रतिशत भएको छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्रयाक निर्माण कार्यको भौतिक प्रगति ३०.९६ प्रतिशत भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको कामले भने गति लिएको सेनाको भनाइ छ ।

नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्गलाई १३ प्याकेजमा काम अघि बढाएको छ । काठमाडौं–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ ।

ठेक्का लागेका आयोजनाको काम तीब्रगतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्षभित्रै निर्माण कार्य सकिने नेपाली सेनाको दाबी छ ।

काठमाडौंबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए । अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको जानकारी दिँदै पोखरेलले प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भए पनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको बताए ।

अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणको लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको उनको धारणा थियो ।

आयोजना प्रमुख पोखरेलले प्याकेज ८ ‘ख’को पुनः ठेक्काको लागि आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने विश्वास व्यक्त गर्दै चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको दाबी गरे । उनले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताए ।

काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले जनाएको छ । सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन अवस्थामा छन् ।

बाँकी तीन वटा देवीचौर, सिसौटार र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भए पनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको सेनाले बताएको छ ।

काठमाडौंबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौंतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ । द्रुत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तीब्ररुपमा भइरहेको आयोजनाले बताएको छ ।

बाँकी तीन वटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले महादेवटारमा ३.३५५ किमिमध्ये १.९४८ किमि सुरुङ खन्ने काम सकिएको बताए । अब उक्त सुरुङ मार्ग १.४०५ किमि मात्र खन्न बाँकी रहेको भन्दै आगामी दशैँ तिहारको बीचमा ब्रेक थ्रु गर्ने योजना रहेको शर्माको भनाइ छ ।

धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको जानकारी दिँदै शर्माले धेद्रे सुरुङमार्गको यही गतिका निर्माण कार्य भए आगामी जेठ महिनासम्म ब्रेक थ्रु गर्ने योजना रहेको बताए ।

उनले १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमि खनिसकिएको बताउनु भयो । उनले ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब २.०९ किमि मात्र खन्न बाँकी रहेको जानकारी दिए ।

द्रुतमार्गमा ८९ वटा पुन निर्माण गरिँदै छन् । आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि रहेको छ । प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ । त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् । महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ ।

धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ । कोरियन कन्सल्टेण्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीको लागि २ वटा पुल बन्ने जानकारी दिँदै एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईका पुल बन्ने बताए । उनले यी पुल काठमाडौंको धरहराभन्दा अग्ला रहेको दाबी गरे ।

त्यस्तै, नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दीबर गुरुङले द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको जानकारी दिए ।

सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको उल्लेख गर्दै उनले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको भन्दै स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपरेको बताए । नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम रहेको भन्दै त्यसलाई हेरेर द्रुतमार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएको उनको भनाइ छ ।

सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भए पनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ ।

द्रुत मार्ग निर्माणका लागि सुरुवातमा अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भए पनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पु¥याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत रकम खर्च भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved