२० वर्षे यूट्युबको आरोह-अवरोह, यस्तो थियो पहिलो भिडिओ

अहिले यूट्युब सबै खालका उपयोगी सामाग्रीको साझा थलो बनेको छ । विश्वभरका मानिसको दिनचर्या बनेको छ । कैयौँको रोजगारी र कमाउने थलो बनेको छ । दैनिक कूल सवा अर्ब घण्टासम्म युट्युबमा भिडिओ हेरिन्छ । र, यो अर्बौँ घण्टाको सुरुवात त्यहीँ १८ सेकेन्डको भिडिओबाट भएको हो ।

नेपालभ्युज

२० वर्षे यूट्युबको आरोह-अवरोह, यस्तो थियो पहिलो भिडिओ
बायाँदेखि दायाँसम्म: चाड हर्ली, स्टिभ चेन र जावेद करिम, युट्युबका संस्थापकहरू हुन् । अर्कोतर्फ युट्युबको पहिलो भिडिओको सकृन सर्टमा संस्थापक जावेद करिम ।

काठाडौं । भिडिओ स्ट्रिमिङ्ग प्लाटर्फम यूट्युबमा भिडिओ अपलोड हुन थालेको १९ वर्ष पूरा भएर २०औं वर्षमा प्रवेश गरेको छ । यसलाई १५ फेब्रुअरी २००५ (आजकै दिन) सुरू गरिएको थियो । यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा छ ।

पेपलका पूर्वकर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्तरूपमा स्थापना गरेका थिए । झन्डै एक वर्षपछि यूट्युबलाई अमेरिकी कम्पनी गुगललाई बेचिएको थियो ।

अहिले यूट्युब विश्वमा सबैभन्दा धेरै प्रयोग हुने भिडिओ प्लाटर्फम बनेको छ । यूट्युबमा अहिले मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या साढे २ अर्बभन्दा बढी छ ।

६ नोभेम्बर २००६ मा अमेरिकी कम्पनी गूगलले यसलाई १ दशमलब ६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । त्यसयता यूट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ ।

यूट्युबमा कन्टेन्टहरू, हेर्न, मूल्याङ्कन, अपलोड गर्न, कमेन्ट गर्न, लाइक गर्ने, अन्य प्रयोगकर्तालाई सब्सक्राइब गर्ने फिचर छ । अहिले यूट्युबमै टिकटक जस्तै छोटो भिडिओ अपलोड गर्ने र हेर्ने सर्ट फिचरसमेत चर्चामा छ ।

यूट्युबमा टेलिभिजन कार्यक्रमका भिडिओ, साङ्गीतिक भिडिओ, छोटो र लामा फिल्म, छोटो मौलिक दृश्य, र शैक्षिक भिडिओ, प्रचार सामाग्री, भ्लग, पोडकास्टजस्ता अन्य सामाग्री प्रचलनमा छन् ।

बायाँदेखि दायाँतिर: चाड हर्ली, स्टिभ चेन र जावेद करिम । उनीहरू यूट्युबका संस्थापक हुन् ।

यूट्युब स्थापनाको ‘कन्सेप्ट’

यूट्युबलाई पेशलका कर्मचारी स्टिभ चेन, चाड हर्ली र जावेद करिमले संयुक्तरूपमा स्थापना गरेका थिए ।

जावेद करिमका अनुसार यूट्युब सृजनाको प्रेरणा उनलाई पहिलो पटक सन् २००४ को सुपर बाउल घटनामा जेनेट ज्याक्सनको भूमिकाबाट आएको थियो ।

जब उनको प्रस्तुतिको बेला उनको स्तन प्रदर्शन भएको थियो । पछि सन् २००४ हिन्द महासागर सुनामीबाट पनि उनले यूट्युब सृजनाको प्रेरणा प्राप्त गरेको बताएका थिए ।

तात्कालीक समयमा, करिमले सजिलैसँग कुनै पनि कार्यक्रमहरूको भिडिओ अनलाइनमा फेला पार्न सकेका थिएनन् । जसले भिडिओ शेयरिङ गर्ने अनलाइन साइट बनाउने विचारलाई उत्पन्न गरायो ।

फेसबुकको २० वर्ष, कलेजका विद्यार्थीले बनाएको प्रोजेक्ट यसरी बन्यो विश्वकै ठूलो ‘सोसल मिडिया’

पहिलो भिडिओ ‘मि एट द जु’

यूट्युबको डोमेन नाम यूट्युब डटकम १५ फेब्रुअरी २००५ मा, संचालन भएको थियो । वेबसाइटलाई अर्को महिना डेभलब्भ गरिएको थियो ।

यूट्युबमा पहिलो पटक, यसका संस्थापक जावेद करिमले ‘मि एट द जु’ शीर्षक राखेर १८ सेकेन्ड लामो भिडिओ सार्वजनिक गरेका थिए ।

भिडिओे २३ अप्रिल २००५ मा अपलोड गरिएको थियो । भिडिओमा करिमले आफू चिडियाखाना जाँदाको दृश्य समेटेका थिए ।

भिडिओमा करिमले भनेका छन्, ‘ल ठीक छ । अहिले हामी हात्तीहरूको अगाडि छौँ । यी जनावरहरूको सबैभन्दा रोचक कुरा त के भने यिनीहरूको निकै नै लामा दाह्रा छन् । र, यो साँच्ची नै कूल छ ।’

सो भिडिओ अहिलेसम्म ३० करोड ८२ लाख ८० हजार भन्दा बढी पटक हेरिएको छ । र, अर्को रोचक तथ्य के भने करिमको यूट्युब च्यानलमा अहिलेसम्म त्यो बाहेक कुनै पनि दोस्रो भिडिओ अपलोड भएको छैन । पछि उनले केही सर्टस् भिडिओ अपलोड गरेका छन् ।

अहिले यूट्युब च्यानलमा सबैभन्दा बढी भनिने कुराचाहिँ मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, सामग्रीमा लाइक तथा कमेन्ट गरिदिनुहोला भन्ने आग्रह हो ।

तर, करिमको त्यो भिडियोमा चाहिँ त्यस्तो आग्रह छैन । उनी अहिलेलाई भन्नु यत्ति नै हो भनेर आफ्नो भिडियो टुङ्ग्याएका छन् ।

पहिलो भिडिओ अपलोड गरेको छोटो समयमै यूट्युब लोकप्रियताको शिखरमा पुग्यो । त्यसको एक वर्षमै करिम र उनका अन्य संस्थापक साथीहरूले एक अर्ब ६५ करोड डलरमा यूट्युब बिक्री गरे । इन्टरनेट जाएन्ट गूगलले यूट्युब खरिद गर्‍यो ।

यूट्युबको आरोह-अवरोह

स्थापनाको पछिल्ला २ दशकमा यूट्युबले धेरै आरोह-अवरोह बेहोरेको छ । जातिवादी गोराका आपत्तिजनक तथा घृणा फैलाउने खालका भिडिओका कारण कुनै समय यूट्युबले व्यापक आलोचना सामाना गर्नु परेको थियो ।

त्यस्तै कतिपय यूट्युब स्टारका जातिवादी तथा यहुदी विरोधी गतिविधिका साथै कतिपय सर्जकका निरासाले यूट्युबलाई पिरोल्यो ।

तर, अहिले यूट्युब सबै खालका उपयोगी सामाग्रीहरूको साझा थलो बनेको छ । विश्वभरका मानिसको दैनिकी बनेको छ ।

कैयौंको रोजगारी र कमाउने थलो बनेको छ । अहिले दैनिकरूपमा कूल सवा अर्ब घण्टासम्म यूट्युबमा भिडिओ हेरिने गरिएको छ अहिले ।

र, यो अर्बौँ घण्टाको सुरुवात त्यहीँ १८ सेकेन्डको भिडिओबाट भएको हो, जुन यूट्युबका संस्थापक करिमले अपलोड गरेका थिए ।

यो हो पहिलो भिडिओ-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved