फेसबुकको २० वर्ष, कलेजका विद्यार्थीले बनाएको प्रोजेक्ट यसरी बन्यो विश्वकै ठूलो ‘सोसल मिडिया’

हार्वर्ड विश्वविद्यालयमा कलेज प्रोजेक्टका रूपमा सुरु भएको यो प्लेटफर्म बिस्तारै अन्य कलेज, अमेरिका हुँदै विश्वभर फैलियो । २० वर्षमा फेसबुकमा के कस्ता परिवर्तन आए भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

नेपालभ्युज

फेसबुकको २० वर्ष, कलेजका विद्यार्थीले बनाएको प्रोजेक्ट यसरी बन्यो विश्वकै ठूलो ‘सोसल मिडिया’

काठमाडौं । २० वर्षअघि अर्थात् ४ फेब्रुअरी २००४ का दिन विद्यार्थीले कलेजमा बनाएको प्रोजेक्ट ‘फेसबुक’ आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ ।

कलेजका विद्यार्थीलाई एउटा नेटवर्कमा जोड्ने प्लेटफर्मका रूपमा जन्मिएको फेसबुकले अहिले विश्वलाई जोड्दै आएको छ ।

विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयमा कलेज प्रोजेक्टका रूपमा सुरु भएको यो प्लेटफर्म बिस्तारै अन्य कलेज, अमेरिका हुँदै विश्वभर फैलियो । २० वर्षमा फेसबुकमा के कस्ता परिवर्तन आए भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

फेसबुक सार्वजनिक

हार्वर्डमा विद्यार्थी हुँदा मार्क जुकरबर्गले प्रख्यात विश्वविद्यालयको ‘फेसबुक’ विद्यार्थी निर्देशिकाबाट प्रेरणा लिएका थिए । ‘४ फेब्रुअरी २००४’ मा, उनले अन्य चार विद्यार्थीहरूसँग सह–स्थापित ‘द फेसबुक’ अनावरण गरे ।

जसमा तस्बिरहरू र सहपाठीहरूका व्यक्तिगत जानकारीहरू प्रस्तुत गर्ने कागज गाइड थियो । यद्यपि, यो हार्वर्डले केही दिन पछि बन्द गर्‍यो । जुकरबर्गलाई अन्य चीजहरू मध्ये, गोपनीयताको उल्लङ्घनको कारण निष्कासनको सामना गर्नुपरेको थियो ।

त्यो बेलामा फेसबुक हार्वर्डका विद्यार्थीहरूलाई मात्र उपलब्ध थियो । पछि कोलम्बिया, स्ट्यानफोर्ड र येलमा विस्तार गरियो । यो द्रुत रूपमा बढ्यो ।

चाँडैनै सबै कलेजहरूमा फैलियो । त्यसपछि ‘द फेसबुकबाट’ ‘द’ हटाइयो । त्यसपछि फेसबुक डटकम सेप्टेम्बर २००६ देखि सबैका लागि उपलब्ध भयो ।

आइडिया चोरेको आरोपमा मुद्दा

यसका संस्थापक मार्क जुकरबर्गलाई फेसबुकको आइडिया चोरेको आरोप लाग्यो । मुद्दा समेत खेपे । हार्वर्डका साथीहरू क्यामेरोन विन्कलेभोस, टेलर विन्कलेभोस र दिव्या नरेन्द्रबाट चोरेको आरोप थियो ।

मार्क जुकरबर्गले ‘हार्वर्ड कनेक्सन’ भन्ने सामाजिक सञ्जाल बनाउन मद्दत गर्ने नाममा उक्त आइडिया चोरेको आरोप थियो ।

किनकि पहिला फेसबुक हार्वर्ड विश्वविद्यालयको विद्यार्थीको कनेक्सनको लागि बनाइएको थियो । त्यही विषयमा जुकरबर्गमाथि परेको मुद्दा सन् २००८ मा टुङ्गिएको थियो ।

पब्लिक कम्पनीका रूपमा फेसबुक

सुरुमा निजी कम्पनीमा सञ्चालित फेसबुक सन् २०१२ मा निजी पब्लिक कम्पनी भयो । त्यसबखत फेसबुक नै अमेरिकाको इतिहासमै सबैभन्दा बढी आइपीओ जारी गर्ने कम्पनी बनेको थियो ।

कम्पनीले ४२ करोड १२ लाख ३३ हजार ६१५ कित्ता शेयर घोषणा गरेको थियो । जसका लागि प्रतिशेयर मूल्य ३८ डलर कायम गरिएको थियो ।

इन्स्टाग्रामदेखि ह्वाट्सएप खरिद

सन् २०१२ तिर सामाजिक सञ्जाल इन्स्टाग्राम निकै भाइरल बनेको थियो । विश्वभरका सेलिब्रेटीले अकाउन्ट बनाएर आफ्नो फोटो राख्न थालेपछि यो प्लेटफर्म निकै रुचाइएको थियो । फेसबुक नरुचाउनेका लागि इन्स्टाग्राम उपयुक्त माध्यम बनेको थियो ।

फेसबुकले इन्स्टाग्रामलाई आफ्नो मातहतमा ल्याउन सन् २०१२ मा एक अर्ब डलरमा किन्यो । पछि एउटै पोस्ट फेसबुक र इन्स्टाग्राम दुवैमा शेयर गर्न सकिने बनाइयो ।

यो फिचर अझै पनि छ । दुवै प्लेटफर्मका प्रयोगकर्तालाई मेसेन्जरबाटै कुरा गर्न सकिने फिचर ल्याइएको थियो ।

फोन नम्बरकै भरमा तत्काल मेसेज पठाउन सकिने फिचर भएको ह्वाट्सएपले सन् २०१४ मा निकै चर्चा बटुलिरहेको थियो । फेसबुकले त्यही समयमा १९ अर्ब डलरमा ह्वाट्सएप किन्यो ।

ओकुलस भीआर

फेसबुकले सन् २०१४ मा अर्को भर्चुअल रियालिटीको स्टार्टअप अकुलस भीआर आफ्नो स्वामित्वमा लियो । त्यसका लागि कम्पनीले दुई अर्ब डलर खर्च गरेको थियो ।

सामाजिक सञ्जाल मात्र नभई भर्चुअल रियालिटीको क्षेत्रमा पनि आफ्नो प्रभुत्व कायम गर्न फेसबुकले उक्त कम्पनी खरिद गरेको थियो ।

एक अर्ब प्रयोगकर्ता

फेसबुकले सन् २०१५ मा एक अर्ब प्रयोगकर्ताको आँकडा पार भएको घोषण गरेको थियो ।

लाइकसँगै धेरै बटम

फेसबुकमा सन् २०१५ भन्दा अगाडि लाइक बटन मात्र दिइएको थियो । बीचमा अनलाइन बटम पनि थियो ।

तर, सन् २०१५ मा कम्पनीले भावना व्यक्त गर्न सहयोग पुगोस् भनेर लभ, वाउ, हाँसोको इमोजी, दुखी र रिसाएको इमोजी बटम बनायो । त्यो फिचर अझै छ ।

क्याम्ब्रिज एनालिटिका काण्ड

क्याम्ब्रिज एनालिटिका काण्डलाई फेसबुकले सामना गरेको सबैभन्दा ठूलो विवादका रूपमा लिइन्छ । विभिन्न रिपोर्टका अनुसार फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा बिक्री गरेको थियो ।

फेसबुकले प्रयोगकर्ताको अनुमति बिनै उनीहरूको व्यक्तिगत डेटा एक डेटा एनालाइसिस फर्मलाई बुझाएको आरोप थियो । बेलायतको इन्फरमेसन कमिस्नर अफिस (आईसीओले) फेसबुकलाई पाँच लाख जरिवाना तिराएको थियो ।

तीन करोड प्रयोगकर्ताको डेटा लिक

सेप्टेम्बर २०१८ मा फेसबुकले झन्डै पाँच करोड प्रयोगकर्ताको अकाउन्ट कम्प्रमाइज भएको बताएको थियो । यद्यपि पछि उक्त सङ्ख्या घटाएर तीन करोडमा पुर्‍याइएको थियो ।

 भ्रामक समाचार

अन्य अनलाइन माध्यम जस्तै फेसबुक पनि भ्रामक समाचार फैलाउने माध्यममा शीर्ष स्थानमा पर्छ । फेसबुकले आफ्नो प्लेटफर्मबाट फैलिने भ्रामक र मिथ्या सूचना रोक्न नसकेको आरोप लाग्दै आएको छ ।

निर्वाचन, प्राकृतिक प्रकोप, द्वन्द्वका समयमा अत्यधिक भ्रामक समाचार फैलिएका हुन्छन् । तर, पछिल्लो समय फेसबुकले ‘फ्याक्ट चेक’ को सुविधा पनि ल्याएको छ ।

प्रतिद्वन्द्वी प्लेटफर्मको बढ्दो दबाब

सुरुवाती समयदेखि नै फेसबुकले प्रतिद्वन्द्वी प्लेटफर्मको चर्को दबाब सामना गर्दै आएको छ । प्रतिद्वन्द्वीलाई पछि पार्न फेसबुक आफैँले अरू उदयमान प्लेटफर्म नै खरिद गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

पछिल्लो समय युवापुस्तामाझ टिकटक लोकप्रिय भयो । यसैले फेसबुकले पनि पछिल्लो समय सर्ट भिडिओ प्लेटफर्म फिचर ल्यायो ।

२०२२ को सुरुवातमा फेसबुकको इतिहासमै सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको भन्दै मार्क जुकरबर्ग सार्वजनिक रूपमै जानकारी दिएका थिए ।

त्यसपछि नै फेसबुकको प्रतिद्वन्द्वीका रूपमा टिकटकलाई लिइएको थियो । त्यसपछि टिकटक लोकप्रिय हुने देखेपछि फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्राम र फेसबुकमा रिल्स फिचर ल्याएको थियो ।

यसबीचमा फेसबुकले फोटो स्टोरी फिचर ल्यायो । स्नापच्याटको स्टोरिज फिचर पनि मेटाले कपी गरेको भन्ने आरोप लाग्दै आएको छ । पछिल्लो समय फेसबुकले म्यासेन्जरमा समेत स्टोरी टेक्स्ट लेख्न मिल्ने फिचर ल्याएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)सँग प्रतिस्पर्धा गर्न कम्पनीले थ्रेड्स नामको सामाजिक सञ्जाल ल्याएको थियो ।

तर, त्यसले अन्य प्लेटफर्म जस्तो लोकप्रियता पाउन सकेको छैन । अहिले मेटाले सशुल्क ब्लु टिक फिचर पनि फेसबुक र इन्स्टाग्राममा उपलब्ध गराएको छ ।

फेसबुकबाट मेटा

सन् २०२१ मा मार्क जुकरबर्गले आफ्नो प्रमुख कम्पनीको नाम ‘फेसबुक’बाट परिवर्तन गरेर मेटा राखे । हुन त मेटा राख्नुका पछाडि थुप्रै कारण छन् ।

कतिपयले ‘फेसबुक’ नामका पछाडि लागेको दाग नमेटिने भएकाले मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखेको तर्क दिएका छन् ।

तर, मेटाको अवधारणामा लागेपछि उनी निरन्तर घाटामा छन् भन्ने रिपोर्टले देखाएको छ ।

कुनै समय धनाढ्यको शीर्ष तेस्रो स्थानमा रहेका जुकरबर्ग घट्दै शीर्ष २९ पुगेका थिए ।

त्यसैले मार्क जुकरबर्गले मेटामा लगानी गरेको रकम जुवा खेलेको भन्ने कतिपयको व्यङ्ग्य छ । तर, पछिल्लो समय भने उनी अघि जाँदै १६७ अर्ब डलरका साथ फोर्ब्सको शीर्ष चार स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved