क्यानडाविरुद्धको एकदिवसीय शृंखला नेपालद्वारा क्लिनस्विप, तेस्रो खेलमा अनिल र भीमको शतक

डेब्यू म्याचमा धामीले लिए तीन विकेट

२३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अनिल साह र भीम सार्कीले शतक बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा दुवैको मेडन शतक हो । अनिल ११२ र भीम १०१ रनमा नटआउट रहे ।

नेपालभ्युज

क्यानडाविरुद्धको एकदिवसीय शृंखला नेपालद्वारा क्लिनस्विप, तेस्रो खेलमा अनिल र भीमको शतक

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखला क्लिनस्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा सोमबार ९ विकेटको प्रभावशाली जितसँगै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेल ४ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अनिल साह र भीम सार्कीले शतक बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा दुवैको मेडन शतक हो । अनिल ११२ र भीम १०१ रनमा नटआउट रहे ।

नेपालको स्कोर ४५ रन हुँदा कुशल भुर्तेललाई व्यक्तिगत १३ रनमा गुमाएपछि अनिल र भीमले जितसम्म पुर्‍याएका थिए । उनीहरुले दोस्रो विकेटका लागि नटआउट १८९ रनको साझेदारी गरे ।

गत जुनमा जिम्बाब्वेविरुद्धको एकदिवसीय क्रिकेटमा कुशल भूर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए। अनिल र भीमले सोही साझेदारी तोडे।

यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २३२ रनको योगफल तयार पारेको थियो ।

नवनित धालिवाल ५०, निखिल दत्त ४५, हर्स थाकर २९, श्रेयस मोभ्भा २५ र श्रीमान्था विजेएरन्थे २२ रनमा आउट भए । क्याप्टेन साद विन जफार ३१ रनमा नटआउट रहे ।

सोमपाल कामीलाई आराम दिँदै उनको स्थानमा सोमबार हेमन्त धामीलाई प्लेइङ सेटमा राखिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा धामीले तीन विकेट लिए । उनले ओपनर आरोन जोनसनलाई ४, श्रेयस मोभ्भालाई २५ र दिलोन हेलिगरलाई ४ रनमा आउट गरे ।

यस्तै कुशल मल्लको नाममा २ विकेट रह्यो । ललित राजवंशी र आकाश चन्दले एक-एक विकेट लिए । एक जना भने रनआउट भए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved