नरहरिनाथ गाउँपालिकाको अर्को बदमासी : वडासचिव र कर्मचारीलाई कामै नगरी २९ लाखभन्दा बढी भुक्तानी

महालेखा परीक्षकको कार्यालयले निकालेको प्रतिवेदन अनुसार कामै नगरी नौ वटै वडासचिवका नाममा गाउँपालिकाले विभिन्न ३८ वटा आयोजनाको भुक्तानी दिएको छ ।

नरहरिनाथ गाउँपालिकाको अर्को बदमासी : वडासचिव र कर्मचारीलाई कामै नगरी २९ लाखभन्दा बढी भुक्तानी

सुर्खेत । दुई करोड ५० लाखको खाना र खाजा खाएको नरहरिनाथ गाउँपालिकाको अर्को कैफियत देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले निकालेको प्रतिवेदन अनुसार कामै नगरी नौ वटै वडासचिवका नाममा गाउँपालिकाले विभिन्न ३८ वटा आयोजनाको भुक्तानी दिएको छ ।

विभिन्न आयोजना मर्मतका नाममा गाउँपालिकाका नौ वटै वडासचिव तथा गाउँपालिकाका कर्मचारीका नाममा २९ लाख ३९ हजार ३० रुपैयाँ भुक्तानी दिएका हुन् ।

खानेपानी मर्मत, घोरेटो बाटो मर्मत र केही नयाँ आयोजनाका नाममा वडासचिवको खातामा २९ लाख ३९ हजार ३० भुक्तानी दिएर कामै नगरी यो रकम हजम गरेका हुन् ।

नरहरिनाथ गाउँपालिका वडा नंं. १ को बीरखम्म प्रतीक्षालय निर्माणका नाममा वडासचिव उदयराम विष्टका नाममा दुई लाख ७२ हजार १४८ रुपैयाँ भुक्तानी गरेको भए पनि ५४ हजार रुपैयाँ मात्रै पाएको स्थानीय उपभोक्ता समितिले बताएको छ ।

फोटो: नरहरिनाथ गाउँपालिका–१ को बीरखम्ममा बनेको प्रतीक्षालय

प्रतीक्षालय निर्माणका लागि वडामा ६० हजार रुपैयाँ आएको भए पनि वडाले कन्सल्टेन्सीका लागि रकम काटेर उपभोक्ता समितिलाई ५४ हजार नगद दिएको उपभोक्ता समितिका एक सदस्यले बताए ।

‘हामीले काम गरेको दैनिक ज्याला ३२० रुपैयाँ मात्रै पायौँ । प्रतीक्षालय निर्माण गर्दा जनश्रमदान र चन्दा उठाएका थियौँ’ उनले भने, ‘अहिले महालेखाको प्रतिवेदनमा दुईलाख ७२ हजार १४८ भुक्तानी सचिवका नाममा भएको देखाएको छ ।’

त्यस्तै, टोप्रा भेराभिर घोरेटो बाटो मर्मतका नाममा वडा नं. ५ का सचिव पर्वबहादुर सहकारीका नाममा ९५ हजार भुक्तानी भएको देखिएको छ । तर, त्यो बाटो मर्मत नै नभएको एक पूर्व वडासदस्यले बताए ।

जनप्रतिनिधि र कर्मचारीले खाए एक वर्षमा दुई करोड ५० लाखको भात !

‘मैले साउनमा नै तपाईंलाई काम नगरी रकम भुक्तानी भएको छ । यो विषयमा समाचार लेख्नुहोस् भनेको थिए’ उनले भने, ‘अहिले आएर महालेखाले लेखेपछि थाहा पाउनु भयो ?’ ती पूर्ववडासदस्यले प्रश्न गरे ।

त्योबेला वडाध्यक्ष मानबहादुर सहकारीलाई सम्पर्क गर्दा उनले त्यसरी कुनै रकम भुक्तानी नभएको बताएका थिए । त्यसरी रकम गएको भए आफू कानुनअनुसार सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

अहिले नरहरिनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नौ जना वडाध्यक्षसहित २२ जना काठमाडौंमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved