आर्थिक परिवर्तनको पहिलो आधार शिक्षा हो : अर्थमन्त्री महत

नेपालभ्युज

आर्थिक परिवर्तनको पहिलो आधार शिक्षा हो : अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा‍. प्रकाशरण महतले आर्थिक परिवर्तनको पहिलो आधार नै शिक्षा रहेको बताएका छन् । सोमबार नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताएका हुन् ।

“विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठुलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो”, अर्थमन्त्री महतले भने, “आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्ज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउँछ ।”

व्यवस्थित सडक, खानेपानी, सिँचाइ कुलो, स्वास्थ्य सेवा सबै विकासको सूचक भएकाले त्यसलाई शिक्षाका माध्यमबाट दक्ष बनाई उपयोगी र रोजगारमुखी बनाउन सरकारले शिक्षाको गुणस्तरमा जोड दिएकाले सोहीअनुसार लाग्न उनले अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गरे ।

“भागबन्डा गर्न नपर्ने र अरूले चोरी गर्न नसक्ने हुँदा सीप र शिक्षा सबैभन्दा ठुलो सम्पत्ति हो”, अर्थमन्त्री महतले भने, “पढाइमा गरेको लगानी खेर जाँदैन । प्रतिफल मिल्छ । समयअनुसार प्रविधिमैत्री र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्छ ।”

उमेरअनुसार शिक्षा लिन नपाएकालाई राज्यले रोजगारको सिर्जनाका लागि तालिम दिएर दक्ष जनशक्ति बनाउन लागिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved