धामीको भर पर्दा गर्भमै शिशुको मृत्यु

नेपालभ्युज

धामीको भर पर्दा गर्भमै शिशुको मृत्यु

डोटी । दीपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत)लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् ।

तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झ्याउने प्रयास गरे कोही तयार भएनन् । “आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ”, डाक्टर निराजन श्रेष्ठले भने, “तर उहाँहरु देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।”

गर्भवती महिलाको परिवार भोलिपल्ट विहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुई÷चार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिसक्छ । नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भयो ।

गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि अपरेसनका लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्‍यो  । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गरे। डा श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेसनका लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेसनका लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।

बिहान ९ बजे चिकित्सकको टोली अपरेसनको तयारीमा जुट्यो । अपरेसनअघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि ‘भ्याक्युम डेलिभरी’मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै अपरेसन भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ ।

डा श्रेष्ठ अस्पतालमा आउने अधिकांशले भूतप्रेत र देउता लागेकाले उपचार हुन नसकेको बताउने गरेको बताउछन् । “हरेक साता एक/दुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन”, उनले भने । स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि धामीको भर पर्दा ज्यान गुमाउने निकै पीडादायी हुने उनको भनाइ छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved