राम मन्दिरको गर्भगृहमा सीताको प्रतिमा नराखिने, यस्तो छ राम जन्मभूमि विवादको इतिहास

यो विवाद सन् २०१९, नोभेम्बर ९ को सर्वोच्च अदालतको फैसलापछि कानूनीरूपमा निरूपण भएको मानियो । फैसलाले विवादित भूमिमा राम मन्दिर बनाउन दिनुपर्ने र बाबरी मस्जिद बनाउन भिन्नै ५ एकड जमिन राज्यले व्यवस्था गरिदिनुपर्ने उल्लेख थियो ।

नेपालभ्युज

राम मन्दिरको गर्भगृहमा सीताको प्रतिमा नराखिने, यस्तो छ राम जन्मभूमि विवादको इतिहास

काठमाडौं । राम जन्मभूमि अयोध्यामा निर्माणाधीन चर्चित राम मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब ३ वर्ष अघि मन्दिर निर्माण प्रारम्भ गरिएको थियो । अहिले प्रतिदिन ४००० मजदुरले काम गरिरहेका छन् ।

२०२४ जनवरी २२ मा मन्दिरको गर्भगृहमा भगवान्‌‌ श्रीरामको प्रतिमा स्थापना र प्राण-प्रतिष्ठान हुने मिति तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ यस कार्यमा सरिक हुनेछन् । तर, मन्दिरको गर्भगृहमा माता सीताको भने प्रतिमा हुने छैन ।

अयोध्या राम जन्मभूमि र मन्दिर जन्मसँग सम्बन्धित भएकाले यहाँ श्रीरामको अविवाहित तथा बाल्यकालीन मूर्ति राख्ने निर्णय भएको बताइएको छ । मन्दिरमा ५ वर्षको उमेरका रामको मूर्ति स्थापित गरी प्राण-प्रतिष्ठा हुने भनिएको छ ।

भारतीय राजनीतिमा यो मन्दिरको धेरै ठूलो महत्त्व छ । राम जन्मभूमि विवादको लामो कथा छ । सत्तारुढ भारतीय जनता पार्टीको उदयमा यो मन्दिरको ठूलो योगदान रहेको विश्वास गरिन्छ ।

हिन्दू विश्वासअनुसार मुगल साम्राज्यका जर्नेल मिर वाँकीले सन् १५२८ तिर यहाँको परम्परागत राम जन्मभूमि मन्दिर भत्काएर बाबरको नाममा बाबरी मस्जिद बनाएका थिए । बाबरी मस्जिद भएको स्थान नै राम जन्मभूमि भएको दाबीले हिन्दू र मुस्लिम समुदायबीच लामो विवाद हुँदै आएको थियो ।

हिन्दूहरूले बाबरी मस्जिद भत्काएर पुन: राम मन्दिर बनाउनुपर्ने माग गर्न थालेपछि यो विवादले ठूला दङ्गा निम्त्यायो । पहिलो दङ्गा सन् १८५० मा भएको थियो । सन् १९५९ मा अंग्रेज शासकले बीचमा पर्खाल लगाएर एकातिर राम मन्दिर र अर्कोतिर बाबरी मस्जिदको क्षेत्र छुट्याएका थिए ।

सन् १८८५ मा राम मन्दिरका महन्त रघुवीर दासले फैजापुर जिल्ला अदालतमा सोही स्थानमा राम मन्दिर बनाउन पाउनुपर्ने भन्दै मुद्दा दर्ता गरेका थिए । अदालतले उनको निवेदन अस्वीकार गरेको थियो ।

स्वतन्त्रतापछि सन् १९४९ मा गोरखनाथ मठका सन्त दिग्विजय नाथले ९ दिन लामो रामायण सभा अयोध्यामा आयोजना गरे । यो सभामा भेला भएका हिन्दू भक्तजनले जबरजस्ती बाबरी मस्जिदमा प्रवेश गरी तोडफोड गरेका थिए । प्रकारान्तले करिब २.७७ हेक्टर जमिनको यो विवाद स्वतन्त्र भारतको इतिहास कै सबैभन्दा ठूलो राजनीतिक तथा धार्मिक विवाद बन्न पुग्यो ।

सन् १९९० को सेप्टेम्बर-अक्टोबरमा भारतीय जनता पार्टीका नेता लालकृष्ण अड्वानीले ‘अयोध्या रथ यात्रा’ गरेका थिए । आड्वानीले यो यात्रा गुजरातको सोमनाथबाट सुरुवात गरेका थिए । रथयात्रा बिहार आइपुग्दा तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले साम्प्रदायिक भावना फैलाएको भन्दै रोकेका थिए । फलतः घटनाक्रमले दङ्गाको रूप लिएको थियो ।

आरएसएसका स्वयंसेवकले रथ यात्रा भन्दा अगाडि नै अयोध्या पुगी बाबरी मस्जिद तोडफोड गर्ने प्रयास गरेको थिए । तर, प्रशासनले निक्कै ठूलो बल प्रयोग गरी रोकेको थियो ।

सन् १९९२ को डिसेम्बर ६ मा त्यहाँ अर्को ठूलो दङ्गा भयो । भारतीय जनता पार्टीका नेता लालकृष्ण आड्वानी, मुरलीमनोहर जोशी र उमा भारतीले राम मन्दिर बनाउन दबाब दिने उद्देश्यले आयोजित धार्मिक सभामा भाषण गर्ने कार्यक्रम थियो । १ लाख ५० हजार भन्दा बढी सहभागी थिए । उत्तेजित सहभागीले बाबरी मस्जिद ध्वंस गरे । यसपछि भड्किएको दङ्गामा भारतभरि करिब २००० मानिसको मृत्यु भएको थियो ।

हिन्दूहरू भारत उत्तर प्रदेशको फैजापुर जिल्लास्थित अयोध्यानगरलाई रामायण महाकाव्यमा उल्लेखित राजा दशरथको दरबार भएको स्थान मान्दछन् । सरयू नदीको किनारामा दशरथको दरबार थियो भन्ने वाल्मिकी रामायणको भाष्यलाई त्यसको प्रमाण मान्ने गरिन्छ । त्यहाँ सरयू नामको नदी छ ।

१६औं शताब्दीमा मुगल भारतीय उपमहादेशमा आए । मुगल तुर्कमेनिस्तानको ‘तैमुरलेङ’ वंशको एक इस्लाम धर्मावलम्बी हाँगो थियो । मुगल नायक बाबरले पानीपत र दिल्लीको युद्धमा स्थानीय रजौटालाई हराएर सत्ता कब्जा गरेका थिए ।

यो विवाद सन् २०१९, नोभेम्बर ९ को सर्वोच्च अदालतको फैसलापछि कानूनीरूपमा निरूपण भएको मानियो । फैसलाले विवादित भूमिमा राम मन्दिर बनाउन दिनुपर्ने र बाबरी मस्जिद बनाउन भिन्नै ५ एकड जमिन राज्यले व्यवस्था गरिदिनुपर्ने उल्लेख थियो ।

सन् २०२० को अगस्टमा राम मन्दिरको शिलान्यास गरियो र निर्माण कार्य जोडतोडले चलिरहेको छ । यो भारतकै सबैभन्दा ठूलो मन्दिर हुनेछ । सिमेन्ट र फलामे डन्डी प्रयोग नगरी ढुङ्गैढुङ्गाले प्राचीन प्रविधि र शैली प्रयोग गरी राम मन्दिर बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved