६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री

नेपालभ्युज

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए । मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको उनले जिकिर गरे ।

सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो । उनले हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको  तर्क समेत गरे । अर्थमन्त्री महतले तथ्यहरूलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गरे ।

‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । सबैको आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ’, उनले भने ‘अघि मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिब हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ ।’

सो अवसरमा अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरूको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved