डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : स्वतन्त्र छानबिन समिति गठन गर्न उद्योगीको माग

नदिएको बिजुलीको पैसा मागेर उद्योगीलाई तर्साउने काम भइरहेको आरोप

आयोगले २०७३ असार अन्तिममा सूचना निकालेर ट्रंक लाइनबाट बिजुली दिने भने पनि लगत्तै साउनमा प्राधिकरणले अर्को सूचना निकालेर हाललाई नदिने भनेको थियो । उद्योगीहरूका अनुसार प्राधिकरणले ट्रंक लाइनबाट बिजुली चलाएको भनेर शुल्कसहितको बिल पठाएको छ । उक्त बिल २०७३ असारदेखिकै पठाएकाले यो मान्य नै नहुने उद्योगीहरूको भनाइ हो ।

नेपालभ्युज

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : स्वतन्त्र छानबिन समिति गठन गर्न उद्योगीको माग

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउन भन्दै नेपाल विद्युत् प्राधिकरणले ४ वटा उद्योगको लाइन काटेपछि निजी क्षेत्रले स्वतन्त्र छानबिन समिति गठनको माग गरेका छन् ।

मुलुकमा लोडसेडिङका बेला उद्योगहरूले खपत गरेको अतिरिक्त बिजुलीको महसुल उद्योगीहरूले बुझाउँदै आएको भए पनि ३ वर्षपछि फेरि बिल पठाएर उद्योगीलाई तर्साउने काम भएको भन्दै यसबारे छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

पुरानो विवादित बिल अहिले थाती राखेर नयाँ बिल मात्र उद्योगलाई पठाएर पुरानोको हकमा छानबिन समिति गठन गरेर समाधान खोज्नुपर्ने उद्योगीको पक्षबाट वकालत गर्दै आएका अधिवक्ता रमन कर्ण बताउँछन् ।

‘‘यो समाधानको लागि प्राधिकरणले पुरानो विवाद रहेको बिल अहिले थाती राख्ने, नयाँ बिल उद्योगलाई पठाउने र तिर्न लगाउने गर्नुपर्छ ।

पुरानोको विवादित बिलको हकमा स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ,’’ कर्णले नेपाल भ्यूजसँग भने, ‘‘प्राधिकरणले तथ्याङ्क नदेखाउने तर एकोहोर महसुल तिर भनेर कसरी तिर्ने ? उद्योगीले उपभोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ । यसको लागि के कति बिल उठेको हो, त्यो बारेमा छानबिन गर्न समिति गठन गर्नुपर्छ ।’’

लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड र ट्रंकलाइन शीर्षकमा विद्युत् उपयोग गरेको भनी ६७ प्रतिशत महागोमा बिल प्राधिकरणले पठाएको भन्दै उद्योगीले पैसा तिर्न मानेका छैनन् ।

यो विवादित विषय भएको र समस्या समाधान गरिदिन सरकारसमक्ष निरन्तर अनुरोध गरिरहेका छन् ।

समाधानको लागि उनीहरूले ‘स्वतन्त्र छानबिन समिति गठन’को मगा गरेका हुन् ।

 

प्रयोग गरेको मात्र पैसा तिर्छौँ, फर्जी बिल तिर्दैनौँ

बिल तिर्नुपर्ने भए टीओडी (टाइम आफ डे) बिल अनिवार्य चाहिने उद्योगीको माग छ  ।

निवेदन दिएर डेडिकेटेड र ट्रंकलाइन जडान गरे ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा दैनिक २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरे मात्रै उक्त महसुल तिर्नुपर्ने प्राधिकरणकै विद्युत् महसुल विनियमावलीमा छ  ।

तर यस विपरीत रकम असुलीको प्रक्रिया अघि बढाइएको उद्योगीहरूको तर्क छ  ।

लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् जडानका लागि प्राधिकरणमा निवेदन नै नदिएको तर प्राधिकरणले पछि अतिरिक्त महसुलको बिल काटेको भन्दै उद्योगी रकम नतिर्ने अडानमा छन् ।

तर, प्राधिकरणले भने चारवटा उद्योगको शुक्रबार लाइन काटेको छ ।

सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ टीओडी मिटरमा उद्योगले अतिरिक्त बिजुली खपत गरेको प्रमाणबिना बिल पठाउन नपाउने बताउँछन् ।

उनी भन्छन्, ‘‘हाम्रा उद्योगीले बिजुली चलाएकै छैन भने कसरी पैसा तिर्ने ? बिजुली प्रयोग गरेको पैसा तिर्दिन भनेको छैन । प्राधिकरणलाई प्रयोग गरेको प्रमाण देऊ भन्दा दिन सक्दैन । प्रमाण र यथार्थका आधारमा भए पो तिर्ने । प्राधिकरणकै मातहतमा रहेको पुनरावेदन समितिमा निवेदन दिँदा पनि वर्षौँसम्म सुनुवाइ हुँदैन । उद्योगी अन्यायमा पर्न त हुनुभएन नि ।’’

अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष , एफएनसीसीआई

शनिबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा पनि यही विषयमा छलफल भएको थियो ।

एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको संयोजकत्वमा बसेको आकस्मिक बैठकले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा निजी क्षेत्रका तीन वटै छाता संस्था एकजुट भएर अघि बढ्नु पर्ने निष्कर्ष निकालेको थियो ।

मुलुकमा लोडसेडिङका बेला उद्योगहरूले खपत गरेको अतिरिक्त बिजुलीको महसुल उद्योगीहरूले बुझाउँदै आएको एफएनसीसीआईकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ बताउँछिन् ।

तर, ३ वर्षपछि फेरि हुँदै नभएको बिल काटेर उद्योगीलाई तर्साउने काम भइरहेको उनको आरोप छ ।

‘‘प्रयोगकर्ताले बिजुलीको बिल नियमअनुसार तिर्छन् । पहिलेदेखि तिर्दै आएका छन् । कसलै नतिरेका छैनन् । तर, नभएको बिल पठाउन त भएनन् । अनि पैसा तिरेर भनेर लाइन काटेर हुन्छ ?’’ उनी भन्छिन्, ‘‘प्राधिकरणले कुन उद्योग तथा कम्पनीले कति खपत गर्यो‍ भन्ने प्रमाण देखाउन सकेको छैन । हामीले नबालेको पैसा किन तिर्ने ?’’

अर्थतन्त्र चलायमान बनाउन देशमा उद्योग व्यवसाय गर्ने वातावरण हुनुपर्नेमा सरकारले बिथोलेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको आरोप छ ।

राजेन्द्र मल्ल, अध्यक्ष, चेम्बर अफ कमर्स

प्राधिकरणले टीओडी मिटर तथा डेडिकेटेड ट्रंकलाइनको तथ्याङ्क सार्वजनिक नगरी पैसा तिर भनेर उद्योग व्यवसायीका लागि निरुत्साहित बनाएको उनको भनाइ छ ।

मल्ल भन्छन्, ‘‘बिजुली काटेर सरकारले उद्योग व्यवसायीलाई निरुत्साहित गरिरहेको छ । कानुनभन्दा माथि पनि कोही छैन । हामीले उठेको बिल तिर्ने हो । नउठेको बिल कसरी तिर्ने ? के आधारमा तिर्ने ? प्रमाणबिनै फर्जी बिल आएपछि उद्योगीले नतिरेका हुन् । त्यसपछि लाइन काटियो । यो भनेको त अत्याचार भएन र ?’’

उद्योगहरुमा अर्बौँको बिल पठाउँदै प्राधिकरण, नतिर्नेको लाइन काट्दै

के हो डेडिकेटेड र ट्रंक लाइन ?

२०६९–७० सालमा मुलुकमा चरम लोडसेडिङ थियो । धेरै उद्योग जेनेरेटरको भरमा चल्यो ।

जेनेरेटर चलाइरहेका उद्योगीलाई प्राधिकरणले महँगो (प्रिमियम) शुल्क तिरेर बिजुली प्रयोग गर्ने व्यवस्था गर्‍यो ।

जुन लोडसेडिङमा पनि बिजुली काटिँदैनथ्यो, तर पैसा महँगो लाग्थ्यो ।

प्राधिकरणले २०७० कात्तिक ३ गते गोरखापत्रबाट सार्वजनिक सूचना पनि जारी गर्यो‍ ।

अनि २०७२ असार १२ मा प्राधिकरण सञ्चालक समितिले प्रिमियम शुल्क लिएर उद्योगहरूलाई डेडिकेटेड फिडरबाट बिजुली दिने निर्णय गर्यो ।

यो व्यवस्था अनुसार बिजुली निरन्तर उपलब्ध गराउने सर्त थियो ।

त्यो बेला प्राधिकरण आफैँले निश्चित शुल्क तोकेर उद्योगहरूलाई डेडिकेटेड फिडरबाट बिजुली दिएको थियो ।

यस्तो शुल्क दर स्वीकृत भने विद्युत् नियमन आयोगले गरेको थियो ।

प्रिमियम शुल्क लिएर उद्योगहरूलाई डेडिकेटेड फिडरबाट बिजुली दिने निर्णय पछि पत्रिकामा प्रकाशित सूचना

तर, प्राधिकरणले उद्योगहरूलाई बिजुली दिने निर्णय गरेको ६ महिनापछि, २०७२ पुस २० मा मात्रै आयोगमा शुल्क सिफारिस गरेको थियो ।

त्यो बेला उसले लिइआएको भन्दा बढी शुल्क सिफारिस गरेको थियो ।

सोहीअनुरूप आयोगले पुस २९ मा प्राधिकरणले बढाएर पठाएको प्रस्ताव स्वीकृत गर्यो ।

डेडिकेटेड पछि आयोगले २०७३ असार २४ मा गोरखापत्रमा सूचना प्रकाशन गरी आयोगले ट्रंक लाइनमार्फत पनि बिजुली दिने भन्यो ।

यो व्यवस्थामार्फत लोडसेडिङको अवस्थामा प्राधिकरणले उद्योगहरूलाई २० घण्टाभन्दा बढी समय विद्युत् दिन सक्ने भनिएको थियो ।

यसवापत् उद्योगहरूले साबिक शुल्कको ६५ प्रतिशतसम्म धेरै रकम तिर्नुपर्ने व्यवस्था राखियो ।

तर, सोही वर्ष साउनमा प्राधिकरणले फेरि अर्को सूचना निकालेर ‘अर्को व्यवस्था नहुन्जेल ट्रंक लाइनमार्फत बिजुली दिने निर्णय रद्द गरिएको’ भन्यो ।

प्राधिकरण र उद्योगीबीच अहिले भइरहेको विवादको पहिलो विषय डेडिकेटेड र ट्रंक लाइन व्यवस्था गर्दाको यही अवधिको विद्युत् खपतको महसुल हो ।

लोडसेडिङका बेला अतिरिक्त बिजुलीको महसुल बुझाउँदै आए पनि ३ वर्षपछि फेरि बिल काटेर तर्साउन खोजिएको उद्योगीको भनाइ छ ।

आयोगले २०७३ असार अन्तिममा सूचना निकालेर ट्रंक लाइनबाट बिजुली दिने भने पनि लगत्तै साउनमा प्राधिकरणले अर्को सूचना निकालेर हाललाई नदिने भनेको थियो ।

ध्रुव थापा, अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

उद्योगीहरूका अनुसार प्राधिकरणले ट्रंक लाइनबाट बिजुली चलाएको भनेर शुल्कसहितको बिल पठाएको छ ।

उक्त बिल २०७३ असारदेखिकै पठाएकाले यो मान्य नै नहुने उद्योगीहरूको भनाइ हो ।

कानुनले तोकेको समय र व्यवस्थाअनुसार बिल आएमा आफूहरू शुल्क तिर्न तयार रहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको तर्क छ ।

उनी भन्छन्, ‘‘हामीले प्रयोग गरेको प्रमाणित हुन्छ र प्राधिकरणले उल्लेख गरेअनुसार सुविधा दिएको छ भने शुल्क तिर्न हामी तयार छौँ । प्राधिकरणले भने बिजुली उपलब्ध गराएको भनेको छ । तर प्रमाण प्रस्तुत गर्न सकेको छैन ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved