चोभारमा चार करोड लागतमा नमूना क्यानओपी जीपलाइन सञ्चालन

नेपालभ्युज

चोभारमा चार करोड लागतमा नमूना क्यानओपी जीपलाइन सञ्चालन

काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन् ।

आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलोपटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् ।

क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ । शुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गरे । उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए ।

‘द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्न सकिन्छ,’ उनले भने, ‘जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षितसमेत रहेको छ ।’ उनले बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताए ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताए । उनले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताए ।

उनले भने, ‘यो ठाउँलाई हामीले भोलिको दिनमा पर्यटकीय हव बनाउनको लागि लगानी गरिरहेका छौँ । यसलाई पर्यटकीय हव बनाउन सबैको सहयोग चाहिन्छ ।’

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे । उनले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताए ।

उनले भने, ‘हामीले खाएका कसमहरु पूरा गर्दै जाने हो भने यो एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउँछ । यहाँ हुने हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्नेछ ।’

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहित रहेको बताइन् । उनले बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताइन् ।

उनले भने, ‘म पहिलादेखि नै एड्भेन्चर प्रेमी हुँ । रमाइलो लाग्छ, एक्साइटेड भएँ । बालबालिकादेखि सबैले गर्न मिल्छ । डर धेरै नै हुँदैन । नेशनल टुरिजम यस्ता कुराहरुले राम्रो हुन्छ । नेपालमा यस्ता कुरा धेरै हुनुपर्छ, नेपालमा हातमा गन्ने मात्रै छन् ।’

उनले नेपालमा पर्यटक बढाउने गतिविधि बढी भन्दा बढी हुनुपर्ने बताइन् । क्यानओपी जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved