पाँच वर्षीया बालिका मृत फेला, दुईजना पक्राउ

नेपालभ्युज

पाँच वर्षीया बालिका मृत फेला, दुईजना पक्राउ

जनकपुरधाम । धनुषामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा ५ वर्षीया बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा लाश फेला परेको हो ।

सोही ठाउँ बस्ने ५ वर्षीया बालिका रेखा यादवलाई जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार राति करिव ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।

बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला नगरपालिका–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको थियो ।

घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी केरकार गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई जबरजस्ती करणीपश्चात् घाँटी थिचेर हत्या गरेको खुल्न आएको हो ।

घटनामा संलग्न दुबैजनाको नाम प्रहरीले गोप्य राखेपनि उनीहरू दुबैजना क्रमशः ३६ र २५ वर्षको स्थानीय युवक रहेको बताइएको छ ।

उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved