सेवा लम्साल पहिलो महिला परराष्ट्र सचिव, यस्तो छ इतिहास

नेपालभ्युज

सेवा लम्साल पहिलो महिला परराष्ट्र सचिव, यस्तो छ इतिहास

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्साललाई सचिव पदमा नियुक्त गरिएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई सचिव पदमा नियुक्त गरेसँगै उनी नेपालमा परराष्ट्र सचिव बन्ने पहिलो महिला बनेकी छन् ।

लम्साललाई मंसिर २१ गते लोकसेवा आयोगले बढुवाका लागि सिफारिश गरेको थियो । यद्यपि उनले मंसिर २० गतेदेखि निमित्त परराष्ट्र सचिवको कार्यभार बुझेकी थिइन् । त्यही दिन परराष्ट्र सचिव भरतराज पौड्यालले कार्यभार हस्तान्तरण गरेर बिदा भएका थिए ।

नेपालमा परराष्ट्र मन्त्रालयको विधिवत स्थापना २००७ सालमा भएको थियो त्यसअघि नेपालले कूटनीति सञ्चालन विभिन्न अड्डाबाट गरेको इतिहास छ । २००७ साल भन्दा अघि परराष्ट्र मन्त्रालयको काम मुन्सीखानाबाट हुन्थ्यो । सन् १९४८ मा मोहन शमशेरले फ्रान्स, ब्राजिललगायतका देशसँग सम्पर्क बढाएपछि उनले मुन्सी खानालाई आधुनिकीकरण गरेर त्रिचन्द्र कलेजका प्रिन्सिपल सरदार नरेन्द्रमणि आचार्य दीक्षितलाई मुन्सीखानाको हाकिम बनाए ।

त्यसलगत्तै सरकारले आचार्य दीक्षितलाई परराष्ट्र सचिवको कार्यभार सुम्पिएको थियो । उनी २००७ सालपछिका पहिलो परराष्ट्र सचिव मानिन्छन् ।

उनीभन्दा पछि प्रोफेसर रामप्रसाद मानन्धर परराष्ट्र सचिव भए । दोश्रो परराष्ट्र सचिव भए पनि मानन्धर कक्षा १ देखि एमएसम्म सधैँ प्रथम भएको जानकारहरु बनाउँछन् । मानन्धरले एक बर्ष मात्रै सेवा गर्न पाए । उनलाई एक बर्षपछि हटाएर सरकारले सौभाग्यजंग थापालाई परराष्ट्रसचिव बनायो । जबकि थापा त्यसअघि रक्षासचिव थिए । थापापछि नरप्रताप शमशेर थापा परराष्ट्र सचिव भए । नरप्रताप २७ वर्षको उमेरमा परराष्ट्र सचिव भएका थिए । भारतका लागि राजदुत छँदा १९६२ अगस्ट १ मा जहाज दुर्घटनामा उनको निधन भयो ।

नरप्रतापलाई राजदूत बनाएपछि राजा महेन्द्रले प्राध्यापक यदुनाथ खनाललाई परराष्ट्रसचिव बनाए । खनाल पनि त्रिचन्द्र कलेजमा पढाउँथे । नरप्रतापको निधनपछि राजा महेन्द्रले खनाललाई भारतका लागि राजदूतका रुपमा पठाए । चार बर्ष भन्दा बढी भारतमा फर्केपछि खनाल दोश्रोपटक परराष्ट्रसचिव भए । खनाल दिल्ली गएपछि सरकारले पदमबहादुर खत्रीलाई परराष्ट्र सचिव बनायो । खत्रीलाई अमेरिकाका लागि राजदूतकारुपमा पठाएपछि सरकारले झरेन्द्र नारायण सिंहलाई परराष्ट्र सचिव बनायो । यदुनाथ खनाल दिल्लीबाट कार्यकाल सकेर काठमाडौं फर्केपछि झरेन्द्र भारतका लागि राजदूत नियुक्त भए । खनालले आएर परराष्ट्र सचिवको कार्यभार सम्हाले ।

खनालपछि भरतराज राजभण्डारी सचिव भए । राजभण्डारीलाई सचिवबाट बर्मामा राजदूतका रुपमा पठाएर सरकारले फेरि पदमबहादुर खत्रीलाई परराष्ट्र सचिव बनायो । खत्री अमेरिकामा राजदूतको कार्यकाल सकेर फर्केपछि परराष्ट्र सचिव भए । यदुनाथ खनाल र पदमबहादुर खत्री दुईपटक परराष्ट्रसचिव भएका छन् ।

खत्रीपछि उद्धवदेव भट्ट परराष्ट्रसचिव भए । भट्टपछि जगदीश शमशेर, विश्व प्रधान परराष्ट्र सचिव भए । त्यसपछि नरेन्द्रविक्रम शाह करिव सात वर्ष परराष्ट्र सचिव भए । २०४७ को परिवर्तनपछि सकारले निजामति सेवामा ३० वर्षे र २० वर्षे नियम लगाएसँगै परराष्ट्रमा नेतृत्वसंकट भयो । त्यसबेला रुसमा राजदूत रहेका यादवकान्त सिलवाललाई सरकारले करारमा सचिव नियुक्त गर्‍यो । एक वर्षपछि उनी सार्कको महासचिव भएसँगै केदारभक्त श्रेष्ठ परराष्ट्र सचिव भए । त्यसपछि कुमारप्रसाद ज्ञवाली, मुरारीराज शर्मा, नारायण शमशेर थापा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, डा मदनकुमार भट्टराई, दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा,शंकरदास बैरागी र भरतराज पौड्याल परराष्ट्र सचिव भएका छन् ।

अहिलेसम्मको इतिहासमा सबैभन्दा कम समय परराष्ट्र सचिव भएकाहरुमा अर्जुनबहादुर थापा र कुमार ज्ञवाली हुन् । नरेन्द्रविक्रम शाह अहिलेसम्मकै लामो समय सेवा गर्ने परराष्ट्र सचिव हुन् ।

वर्तमान परराष्ट्र सचिव लम्सालको पनि सेवा अवधि २०८२ चैतसम्म हुनेछ । उनले उमेरका कारण अवकास पाउनेछिन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved